मिस नेपाल २०१५ प्रतियोगिताको सेकेन्ड रनर अप अर्थात् मिस नेपाल इन्टरनेसनल २०१५ मेधा कोइराला जापानको टोकियोमा आगामी नोभेम्बर ५ तारिखमा सम्पन्न हुने ५५ औं मिस इन्टरनेसनल प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउन जापानतर्फ प्रस्थान गरेकी छिन् ।
पाँच फिट पाँच इन्च अग्ली २० वर्षीया मेधाले मिस इन्टरनेसनल २०१५ मा विश्वका ७० भन्दा बढी मुलुकका सुन्दरीहरुसित मुख्य उपाधिका लागि प्रतिस्पर्धा गर्नेछिन् । स्नातक तहमा अध्ययनरत मेधा अभिनय, नृत्य र गायनमा रुचि राख्छिन् भने उनलाई आर्टिकल लेख्न र ब्लगिङ पनि उत्तिकै मनपर्छ ।
मिस इन्टरनेसनल २०१५ का लागि मेधाले प्रोजेक्ट मुस्कान तयार पारेकी छिन्, जसमा उनले बानेश्वरस्थित मुस्कान सेवा नेपालमा आश्रित १३ जना अनाथ बालबालिकाहरुलाई दिएको म्युजिक थेरापी र म्युजिक सिकेपछि ती बालबालिकाहरुले दिएको प्रस्तुतिसम्मको गतिविधिको श्रव्यदृश्य समेटिएको छ । गत वैशाखको भूकम्प पछि मेधाले ती बालबालिकालाई म्युजिक थेरापी दिएकी थिइन् । मिस इन्टरनेसनलमा मेधाले कैलालीका राना थारुको ड्रेस लगाउनेछिन् भने नेपाली परम्परागत झ्याउरे नृत्य प्रस्तुत गर्नेछिन् ।