साप्ताहिक संवाददाता
यसअघि चलचित्र ‘गोर्खा पल्टन’बाट सफलताको स्वाद चाखेका इन्डियन आइडल प्रशान्त तामाङ, निर्माता राजेश बंशल तथा निर्देशक नारायण रायमाझीको समूहले फेरि एकपटक मर्मस्पर्शी कथामा चलचित्र निर्माण गरेका छन् । ‘गोर्खा पल्टन’ विदेशमा नेपालीको नाम राखेका गोर्खाली सैनिकहरूको कथामा आधारित थियो भने ‘परदेशी’मा विदेशी भूमिमा कमाउन जाने वा गएका महिला कामदारहरूको कथा–व्यथा उठान गरिएको छ । चलचित्र ‘परदेशी’को एउटा गीत ‘भन्थ्यौ आमा नेपालमा दु:ख छ, विदेशमा त पैसाको रूख छ । कालो बादल नीलो आकाशमा, गयौ आमा चढेर जहाजमा, फर्कियौ बाकसमा’ले चलचित्रको सम्पूर्ण कथा भन्छ । देशमा अवसर नपाएका बेरोजगार युवापुस्ताको विदेशप्रतिको मोह र त्यसबाट निम्तिने खराब परिणामलाई उजागर गरिएको छ यो चलचित्रमा । चलचित्र परदेशी कात्तिक ३ गते फूलपातीदेखि प्रदर्शन हुँदैछ ।
निर्देशक : नारायण रायमाझी
संगीत : बीबी अनुरागी
कलाकार : प्रशान्त तामाङ, रजनी केसी, नरेन खड्का आदि ।