स्मार्टफोन र ट्याब्लेटको बढ्दो मागका साथ डिजिटल वल्र्डमा भिडियो तथा मोबाइल गेमको मागसमेत बढी छ । संसारका प्रसिद्ध कम्पनीहरूले यस्ता गेमहरू निर्माण गर्दै आएका छन् र यसको कारोबार अर्बौं रुपैयाँसम्म पुगेको छ ।
अहिले उत्तर अमेरिका, युरोप, मध्यपूर्व, अफ्रिका, एसिया प्यासिफिक तथा ल्याटिन अमेरिकामा भिडियो गेमको व्यापार ९० अर्ब डलर पुगेको छ । एक अनुमानअनुसार सन् २०१७ सम्ममा यसको व्यापार दोब्बर हुनेछ ।
भिडियो गेमको प्रारम्भ सन् १९५० को दशकमा भएको थियो । यद्यपि समय–समयमा यसमा परिमार्जन आइरहेको छ । सन् ९० को दशकमा मारियो र कोन्ट्राजस्ता गेमले बजार तताएका थिए भने अहिले स्मार्टफोनको बढ्दो प्रयोगसँगै टेम्पल रन, क्यान्डी क्रसजस्ता गेम लोकप्रिय छन् । यी गेम बालबालिकादेखि प्रौढसम्मका बीच उत्तिकै प्रिय छन् ।
कतिपय मानिस भिडियो गेमका अम्मलीसमेत छन् । उनीहरूले गेमकै लागि सारा कामसमेत छोडेको पाइन्छ । एक अनुसन्धानअनुसार अमेरिकाका ९० प्रतिशत मानिस यस्ता गेम खेल्छन् । तीमध्ये १५ प्रतिशत तिनका अम्मली नै छन् । यस्ता अम्मलीहरू दिनमा १० देखि २० घण्टासम्म खेलमै झुन्डिन्छन् ।
अक्सफोर्ड युनिभर्सिटीको एक रिपोर्टअनुसार कुनै विद्यार्थी दिनमा एक घण्टा भिडियो गेम खेल्छ भने त्यसले उसको अध्ययनमा समेत मद्दत गर्छ । यसका कारण सानातिना समस्याको समाधान खोज्न पनि सहयोग पुग्छ । गेमको टार्गेट हासिल गर्ने भावनाका कारण विद्यार्थीहरूमा प्रतिस्पर्धी भावनाको विकास हुन्छ, तर लामो समय गेम खेल्दा विद्यार्थीहरूमा नकारात्मक असर पर्छ ।