साप्ताहिक संवाददाता
थरीथरीको स्वाद चाख्दै, चलचित्र हेर्दै, गेम खेल्दै किनमेल गर्नुको आनन्द बेग्लै हुन्छ । सहरी क्षेत्रका सपिङ मल चाहर्नेहरूसँग यसको खास अनुभव छ । वाताअनुकूलित, सुविधासम्पन्न घरमा सहज रूपमा किनमेल गर्न पाइने, त्यो पनि एउटै छानोमुनि । न पार्किङको चिन्ता, न सुरक्षाकै । मनोरञ्जनसँगै उन्मुक्त किनमेल गर्न चाहनेहरूका लागि राम्रो विकल्प वनेको छ–सपिङ मल ।
शहरी क्षेत्रमा सपिङ मल यस्तो गन्तव्य भएको छ, जहाँ मनोरञ्जनसँगै आरामदायक ढंगले किनमेल गर्न सकिन्छ । एउटै छानामुनि छानीछानी किनमेल गर्न पाइने भएकाले मात्र होइन, सुरक्षित, सहज एवं मनोरञ्जक हुने भएकाले उपभोक्ताहरूको पाइला सपिङ मलतर्फ मोडिन थालेको हो । अहिले राजधानीमा मात्र आधा दर्जनभन्दा बढी भव्य एवं सुविधायुक्त मल सञ्चालनमा छन् ।
केएल टावरका प्रवन्ध निर्देशक सुन्दरकुमार श्रेष्ठ भन्छन्– ‘सुरक्षित र आरामदायक ढंगले किनमेल गर्न पाइयोस् भनेर मलको अवधारणा ल्याइएको हो ।’ उनले सहरी क्षेत्रमा सपिङ मलको अपरिहार्यता बढ्दै गएको वताए । सपिङमा पनि भरपुर मनोरञ्जन लिन चाहने हुन् वा समयको अभावमा छिटो छरितो किनमेल गर्नेहरू नै, दुवैथरीको आवश्यकता र वाध्यता पुरा गर्न हाजिर छ– मल ।
फुर्सदमा परिवार सहित रमाइलो ढंगले किनमेल गर्नेहरूका निम्ति मलमा अनेकौ विकल्प छन् । उनीहरू सपिङसँगै गेम खेल्न, परिकारको स्वाद चाख्न तथा चलचित्र हेर्न सक्छन् । गल्ली–गल्ली चाहरेर किनमेल गर्न नभ्याउनेहरू पनि मल पुग्छन् । उनीहरूले एउटै छानामुनि छानीछानी किनमेल गर्न सक्छन् ।
२०३९ सालमा विशालबजारको स्थापनासँगै राजधानीमा मलको अवधारणा सुरु भएको मानिन्छ । त्यसपछि सपिङ मल विस्तार मात्र भएन, सुविधायुक्त पनि हुँदै गयो । अहिले राजधानीमा खुलेका सपिङ मलहरू यस्ता छन्, जसको संरचना, इन्टेरियरदेखि सेवा सुविधाले उपभोत्ताको मन लोभ्याउँछ । सिटी सेन्टर, सिभिल मल, राइजिङ मल, केएल टावर जस्ता आधा दर्जन मलले किनमेलदेखि मनोरञ्जन एवं खानपानसम्मका सवै सुविधा उपलव्ध गराउँछन् ।
मलहरूको तीव्र विस्तारले सहरियाहरूको किनमेल गर्ने संस्कृतिमा समेत परिवर्तन आएको छ । विगतमा जस्तो एकपछि अर्को पसल चहार्दै किनमेल गर्नुपर्ने बाध्यता टरेको छ । चोरीने, लुटिने र ठगिने भयबाट पनि केही राहत मिलेको छ । पार्किङको समस्या धेरै हदसम्म किनारा लागेको छ ।
वातानुकूलित ठाउँमा स्वच्छन्द किनमेल गर्न पाउनु सपिङ मलको खास विशेषता हो । फुडकोर्ट, मल्टिप्लेक्स हल, गेमिङ जोन, किड गेम जोन, लिफ्ट, एटिएम जस्ता अतिरिक्त सुविधाले यी मललाई थप सुविधासम्पन्न तथा मनोरञ्जक बनाएको छ ।
फुड
सुन्धारास्थित सिभिल मलको माथिल्लो फ्लोरमा फुड कोर्ट छ, जसले देशविदेशका खान्की पस्किरहेको हुन्छ । त्यहाँ १२ वटा अलग–अलग किचेन छन् । ति किचेनवाट नेवारी, थकाली जस्ता परम्परागत नेपाली परिकारदेखि चाइनिज, जापानिजसम्मका भेराइटी पाइन्छ । वेइजिङ डग खाने कि, वर्गर ? नेवारी समयवजी खाने कि, तोमयाम सुप ? उपभोक्ताको मर्जीअनुसार जस्तोसुकै खान्की टेवलमा आइपुग्छ । स्ट्रिट फुडका पारखीहरूसमेत त्यहाँ रमाउन सक्छन् । मलको प्रांगणमा थरीथरीका परिकार पाक्ने किचेन उपलव्ध हुन्छन् ।
कमलपोखरीस्थित सिटी सेन्टरमा पनि स्ट्रिट फुडको स्वाद लिन पाइन्छ । त्यही मलको सवैभन्दा माथिल्लो तलामा फुडकोर्ट छ । आसपासको मनोरम दृश्य हेर्दै थरीथरीका स्वाद चाख्न यो फुडकोर्ट उपयुक्त गन्तव्य हुन सक्छ । त्यहाँ थाइ, इटालियन, मेक्सिकन, चाइनिज, जापनिज तथा कन्टिनेन्टल परिकारहरू पाइन्छन् ।
यता चावहिलको केएल टावरको पाँचौं तलामा पनि स्तरिय फुडकोर्ट छ । त्यसो त यस्ता मल छैनन्, जहाँ खानपिनको व्यवस्था नभएको होस् ।
फुडकोर्ट नभएकै सपिङ सेन्टरमा पनि छुटाछुटै रेस्टुराँ सञ्चालनमा छन् ।
फन
सिभिल मल पुग्नुहोस् वा सिटी सेन्टर, काठमाडौं मल छिर्नुहोस् वा केएल टावर । सवैमा गेमिङ जोन फेला पर्छन् । किनमेलको ह्याङओभरवाट एकैछिन रिफ्रेस हुन यो राम्रो गन्तव्य हुनसक्छ ।
अधिकांश सपिङ मलमा गेमिङ जोन सञ्चालनमा ल्याइएको छ । यस्ता गेमिङ जोनमा तन्नेरीहरूको बाक्लो भीड लाग्छ । त्यहाँ बलिङ, स्नुकरदेखि प्ले स्टेशन थ्रिसम्मका थुप्रै इनडोर खेल खेल्न सकिन्छ । त्यसबाहेक त्यहाँ प्ले स्टेशन थ्रिवाट खेलिने फिफा, काउन्टर स्ट्राइक, डोटादेखि स्ट्रिट फाइटर, एरो फाइटर, पीनवल, कार तथा वाइक रेस, रेस्लिङ जस्ता अनेकौं खेल उपलव्ध हुन्छन् । हर्स राइडिङ, कार तथा वाइक रेसको वास्तविक आनन्द पनि यही अनुभव गर्न सकिन्छ । यी खेल आफुले खरिद गरेको क्वाइनका आधारमा निश्चित समयसम्म खेल्न सकिन्छ ।
सम्पूर्ण खेल एउटै थलोमा खेल्न पाइन्छ, गेमिङ जोन छिरेपछि । त्यहाँ खेलका अतिरिक्त स्न्याक्स र ड्रिंक्स समेत उपलव्ध हुन्छ । गेमिङ जोनमै तयारी स्न्याक्स पाइन्छ भने, फुटकोर्टमा संसारभरका परिकार पाइन्छ । फुटकोर्टले परिकार सर्भ गरिदिएबापत थप शुल्क लिने गरेका छैनन् । त्यसैगरी ग्राहककै सुविधाका लागि गेमिङ जोनमा लाइट र म्युजिक सिस्टमको व्यवस्था गरिएको हुन्छ । त्यहाँ ग्राहकले आफ्नो रुचिअनुसार गीत पनि फर्माइस गर्न सक्छन् । आरामदायक ढंगले खेल खेल्न पाइने यस्ता सुविधासम्पन्न गेमिङ जोन खुल्ने क्रम बढ्दो छ ।
त्यसो त बालबच्चासहित किनमेल गर्न जानेहरूले पनि त्यहाँ थप झन्झट मोल्नुपर्ने छैन । आफ्ना बालबालिकालाई किड गेमिङ जोनमा छाडेर ढुक्कसाथ किनमेल गरे हुन्छ । यस्ता गेमिङ जोनमा बालबालिकाहरूले रुचाउने अनेकौं खेलौना एवं खेलहरू उपलब्ध छन् ।
फिल्म
मलमा जानुको अर्को मज्जाको हो, मल्टिप्लेक्समा फिल्म हेर्न पाउनु । अधिकांश सपिङ मलमा अत्याधुनिक सिनेमा हल निर्माण गरिएका छन् । तुलनात्मक रूपमा महँगो भए पनि सुविधा र स्तरियताका लागि यस्ता मल निर्विकल्प रोजाइ बन्ने गरेका छन् ।
एउटै छानामुनि दुईभन्दा वढी हल उपलव्ध भएकाले मात्र होइन, आरामदायक ढंगले वातानुकुलित हलमा फिल्म हेर्नुको आनन्दले पनि धेरैलाई मल्टिप्लेक्सतिर डोहोर्याउने गरेको छ । एकातिर किनमेल गरेर अर्कोतिर फिल्म हल दौडनुपर्ने झन्झटको एकमुस्ट समाधान दिएको छ, मल्टिप्लेक्सले ।
सिटी सेन्टरस्थित बिग सिनेमा सञ्चालनमा ल्याइएपछि सपिङ मलमा मल्टिप्लेक्स अनिवार्यजस्तै भयो । विग सिनेमा आएको एक वर्षपछि सिभल मलमा तीनवटा थिएटर सञ्चालनमा ल्याइयो । त्यसपछि १४ करोडको लगानीमा केएल टावरमा एफक्युव निर्माण गरिए । यसमा पनि तीनवटा हल छन् । अहिले सिटी सेन्टरमा बिग सिनेमा, सिभल मलमा क्युएफएक्स, केएलटावरमा एफक्युव, राइजिङ मलमा क्युएक्सजस्ता मल्टिप्लेक्स हल छन् ।
केही समयअघि सुन्धाराकै सिटिसी मलमा यस्तो हल सञ्चालनमा ल्याइयो जहाँ दर्शकका निम्ति हलमै विभन्न परिकार र पेय सर्भ हुन्थ्यो । ‘सिने डि सेफ’ हलमा दर्शकले आफू बसेकै सिटवाट मसाज गराउन सक्थे भने, पेय पदार्थ चिसो राख्ने सुविधा समेत थियो । यद्यपि वैशाखमा गएको भूकम्पपछि यो हल सञ्चालनमा छैन । त्यसो त, अधिकांश मल्टिप्लेक्समा थ्रिडी सिनेमाको पनि आनन्द लिन सकिन्छ । त्यसबाहेक ८ डी, १२ डी सिनेमा हल पनि यिनै मलमा सञ्चालनमा छन् ।