चाडबाडको मौसम घुमघामका लागि उपयुक्त हुन्छ । न जाडो, न गर्मी यो मौसममा घुमघाम साँच्चिकै आनन्ददायक हुन्छ । दसैं–तिहारको समय घुम्नका लागि बढी रमाइलो मानिन्छ । परिवारका सदस्य वा साथीहरूसँग घुम्नुको बेग्लै आनन्द हुन्छ । कतिपय नेपालीले विदेशका पर्यटकीय स्थलहरूलाई घुमफिरको गन्तव्य बनाउँछन् । यद्यपि नेपालभित्रै नयाँ–नयाँ गन्तव्य पुगेर आनन्द लिने नेपालीहरूको संख्या बाक्लो छ ।
यदि दसैं वा तिहार मनाउने योजनामा हुनुहुन्न वा चाडबाड नमान्ने मुडमा हुनुहुन्छ भने यो लामो छुट्टी लिएर आनन्दले घुम्ने उपयुक्त मौसम हो । विनाशकारी महाभूकम्पले कतिपय पर्यटकीय स्थलमा असर पुर्याए पनि वैकल्पिक स्थानहरू रोज्न सकिन्छ । त्यसका लागि नेपालभित्रै घुम्न लायक स्थान छनौट गर्न सकिन्छ । बाह्रैकाल पर्यटकहरूको भीड लागिरहने गन्तव्यहरू मात्र नभै अन्य स्थलहरू नौला मात्र होइन, उत्तिकै रमाइला पनि हुन्छन् ।
पोखरा
फुर्सदमा घुम्न निस्कनेहरूको सूचीमा पोखरा अग्रपंक्तिमा आउँछ । चाडबाडको फुर्सदमा परिवार तथा साथीहरूसँग घुम्न धेरैको रोजाइ पोखरा नै हुन्छ । हुन पनि प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरा पुगेपछि दिन बितेको पत्तै पाइँदैन । एकपछि अर्को आकर्षक स्थल घुम्दाघुम्दै दिन बित्छ । प्राकृतिक तथा सांस्कृतिक सम्पदा, मौसमको अनुकूलता, आथित्य सत्कार यहाँको पहिचान हो । पोखराको नाइट लाइफ पनि उत्तिकै आकर्षक हुन्छ । लाइभ म्युजिक, डिस्को, डान्स, गजल–दोहोरी आदिले पनि पर्यटकहरूलाई भुलाउँछन् । तालमा रमाउन मात्र नभै साहसिक खेलकुद प्याराग्लाइडिङ, जिप फ्लायर, अल्ट्रालाइट आदिले पोखराको बसाइ लम्ब्याउँछन् । काठमाडौंबाट करिब ४ देखि ५ हजार जहाज भाडा तिरेर वा माइक्रो वा टुरिस्ट बसमा ५ सयदेखि १५ सय रुपैयाँ तिरेर पोखरा पुग्न सकिन्छ । बासका लागि लेकसाइड, बसपार्क आसपास सस्ता एवं सुविधासम्पन्न होटलहरू छन् । थकाली खाना यहाँको आकर्षण हो भने बिहानीपख विन्ध्यवासिनी तथा तालबाराहीको दर्शन उपयुक्त हुन्छ ।
सौराहा
घुमफिरका लागि रमणीय स्थानहरूमध्ये सौराहाको नाम अग्रपंक्तिमा आउँछ । चितवनका अन्य पर्यटकीय स्थलहरूमध्ये सबै झुम्मिने भनेको सौराहामै हो । फुर्सदको समय र उपयुक्त मौसम मिलाएर पारिवारिक भ्रमण वा हनिमुन ट्रिपका लागि धेरैको पहिलो रोजाइ सौराहा नै हुन्छ । सौराहा ‘वाइल्डलाइफ टुरिज्म’का लागि प्रसिद्ध छ । हुन पनि सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँका जनावर तथा पन्छीहरूमा अडिएको छ । हात्ती चढेर जंगल सफारी गर्नु, वन्यजन्तुहरू हेर्नु, राप्ती नदीमा डुङ्गा सयर गर्नु, सूर्यास्त हेर्नु, थारु संस्कृति अवलोकन गर्नु सौराहाका आकर्षण हुन् ।
यहाँको हात्ती सफारी धेरैको रोजाइमा पर्छ । हात्ती चढ्न ८ सय देखि १५ सय रुपैयाँ तिर्नुपर्छ । डुङ्गा सफारी सौराहाको अर्को आकर्षक पक्ष हो । यहाँ गोही, गैंडा, चराचुरुङ्गी आदिको अवलोकन गर्न पाइन्छ । सौराहाबाट सूर्यास्त पनि देख्न सकिन्छ । थारु संस्कृति, परम्परा एवं रहनसहनका सम्बन्धमा पनि जान्न–बुझ्न पाइन्छ । काठमाडौंबाट हवाई वा बसको यात्रा गरेर सौराहा पुग्न सकिन्छ । दुई रातका लागि प्रतिव्यक्ति १२ हजार रुपैयाँ बोके मज्जाले सौराहा घुम्न सकिन्छ ।
लुम्बिनी
गर्मी र वर्षामा कमी आउन थालेपछि भगवान् बुद्धको जन्मस्थल लुम्बिनी घुम्न बेग्लै आनन्द आउँछ । ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको लुम्बिनी र त्यहाँका विहारहरूको अवलोकन अनेकन दृष्टिले महत्वपूर्ण छ । शान्तिदीप, बुद्ध जन्मिएको स्थान, अशोक स्तम्भ, उद्यान क्षेत्र, माया देवीको मन्दिर तथा बुद्ध विहारहरू यहाँका घुम्न लायक स्थान हुन् । गौतमी भिक्षुणी बिहार, बर्मा, कम्बोडिया, थाइल्यान्ड आदिका बौद्ध बिहारका साथै नेपाल, कोरिया, चीन, अस्ट्रिया, भियतनाम, क्यानाडा, फ्रान्स, जापान, जर्मनी आदि देशका बौद्ध बिहारहरू घुम्न घण्टौं लाग्छ । लुम्बिनी क्षेत्रभित्र सवारी प्रवेश निषेध छ । बसपार्कमै ओर्लेर पैदल हिँड्दा आनन्द आउँछ । यहाँ नहर क्षेत्रमा डुंगा सयर गर्दा बेग्लै अनुभूति हुन्छ । काठमाडौंबाट हवाई यातायात वा बसमार्फत लुम्बिनी पुग्न सकिन्छ । होटलहरू महँगा छैनन् । करिब ९ हजारको प्याकेजमा लुम्बिनीको भ्रमण सम्पन्न गर्न सकिन्छ ।
रारा
आलौकिक सुन्दरताले भरिपूर्ण पर्यटकीयस्थल हो– रारा । समुद्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको रारा तालमा विश्वमै कहीं नभेटिने ‘स्नो टाउट’ प्रजातिको माछा पाइन्छ । घामको किरणअनुसार राराले आफ्नो रंग फेर्छ । नेपालको सबैभन्दा ठुलो रारा तालको फन्को लगाउन यतिबेलाको मौसम उपयुक्त हुन्छ । नेपालगन्जबाट ५० मिनेटको हवाई यात्रापश्चात् पुग्न सकिन्छ मुगुको ताल्चा विमानस्थल । त्यहाँबाट तीन घण्टाको पैदल यात्रा गरेर रारा पुग्न सकिन्छ । सुर्खेतबाट दुई दिनको बस यात्रापछि मुगुको गमगढी र त्यहाँबाट तीन घण्टाको पैदल यात्रा गरेर पनि रारा पुग्न सकिन्छ । बस्नका लागि त्यहाँ होटलहरूको सुविधा छ । समूहमा गए टेन्टमै पनि बस्न सकिन्छ ।
लोमान्थाङ
मुस्ताङको लोमान्थाङ विशेष गरी विदेशीहरू पुग्छन् । नेपालीहरूबीच पनि मुक्तिनाथको दर्शन पनि गर्न पाइने र साहसिक पदयात्रा पनि हुने भएकाले यो क्षेत्र रोजाइको गन्तव्य मानिन्छ । यो जिल्ला तल्लो मुस्ताङ र माथिल्लो मुस्ताङ गरी दुई तहमा विभाजित छ । माथिल्लो मुस्ताङमा सडकको पहँुच पुगेपछि अहिले आन्तरीक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । त्यहाँ पुग्न पोखरादेखि जोमसोमसम्म हवाई यात्रा गर्न सकिन्छ । त्यसपछि पैदल हिँडे तीन दिनमा लोमाङथाङ पुग्न सकिन्छ । जोमसोमबाट जिपमा जाने हो भने एकै दिनमा लोमान्थाङ पुगिन्छ । केही महँगो भए पनि त्यहाँ सुविधासम्पन्न होटलहरू छन् ।
अन्तुडाँडा
सूर्योदयको दृश्यावलोकनका लागि चर्चित पर्यटकीय स्थल हो– इलामको अन्तुडाँडा । करिब २ हजार ३ सय २८ मिटरको उचाइमा अवस्थित यो स्थानमा पुगेपछि चियाबगानहरू पनि घुम्न पाइन्छ । इलामको फिक्कल बजारबाट छिपिटार–सिद्धिखोला–छिरुवा हुँदै करिब चार घण्टा ट्याक्सीमा हिँडेर श्रीअन्तु पुग्न सकिन्छ । त्यहाँ खान र बस्नका लागि सामान्य होटलहरू छन् भने पेइङ गेस्टका रूपमा स्थानीय घरहरूमा बस्न पाइन्छ । कात्तिक–मंसिर सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि प्रसिद्ध छ । त्यसका अतिरिक्त कंचनजंघालगायतका हिमालको दृश्यावलोकन, अन्तु पोखरीको सुन्दरता साथै भारतका सुन्दर फाँटहरूसमेत अवलोकन गर्न सकिन्छ । लोपोन्मुख लाप्चा जातीको संस्कृति हेर्न खुबै रमाइलो हुन्छ । अन्तुडाँडा पछि इलाम र कन्यामको चियाबगानका साथै दार्जीलिङ, सिक्किम तथा खर्साङ आदि पनि घुमफिर गर्न सकिन्छ ।
जिरी
दोलखा जिल्लाको प्रमुख एवं आकर्षक गन्तव्य हो– जिरी । जिरीलाई स्विट्जरल्यान्डको ज्युरिच सहरसँग तुलना गरिन्छ । तामाकोसी नदी, मनमोहक हरियाली र झरना तथा परम्परागत बस्तीले जिरीलाई रमणीय बनाएको छ । जिरी सगरमाथा प्रवेशद्वारका रूपमा पनि परिचित छ । यहाँबाट सगरमाथाका लागि पदयात्रा सुरु हुन्छ । काठमाडौंबाट करिब आठ घण्टाको बस यात्रापछि जिरी पुग्न सकिन्छ । स्विट्जरल्यान्ड सरकारको सहयोगमा विकास भएको जिरी निकै आकर्षक बस्ती हो । जिरीमा बस्न सुविधासम्पन्न होटलहरू छन् । सामान्यत: तीन दिनको अवधि जिरी घुम्नका लागि पर्याप्त हुन्छ । काठमाडौंको पुरानो बसपार्कमा जिरी जाने बस लाग्छ ।
नगरकोट
काठमाडौंको व्यस्त दैनिकीबाट बिश्राम लिन नगरकोट पुगे हुन्छ । सेताम्मे हिमाल हेर्न तथा एक रात बस्न सबैभन्दा उपयुक्त स्थल हो नगरकोट काठमाडौंबाट १ घण्टा ३० मिनेटको सवारी यात्रामा पुग्न सकिने भएकाले पनि यो स्थान उपयुक्त मानिन्छ । लाङटाङ हिमालको मनोरम दृश्यका साथै सूर्य उदाएको हेर्न सकिने विश्वका उत्कृष्ट १० स्थानमध्येको एक नगरकोट धेरैको रोजाइमा पर्छ । काठमाडौंको माछापोखरीमा बस चढेर नगरकोट पुग्न सकिन्छ ।
सिरुबारी
स्याङ्जाको पञ्चमुल गाविस– ४ मा पर्ने सिरुबारी ‘होमस्टे’ का रूपमा प्रख्यात छ । गुरुङ जातिको गाउँले परिवेशको सिरुबारीमा पर्यटकहरूको भीड लागिरहन्छ । त्यहाँ पुग्ने पर्यटकहरूलाई बूढापाकाले छोरा–नाती जस्तै माया एवं सत्कार गर्छन् । सिरुबारीमा पाहुना सत्कारको उत्कृष्ट शैली अनुभव गर्न सकिन्छ । हिँडेर आउनेहरूलाई गाउँको मुखैमा र बसमा आउनेलाई बसपार्कमा स्वागत गरिन्छ ।
गुरुङ पहिरनमा सजिएका महिला तथा पुरुषले फूलमाला लगाइदिन्छन् भने दलित समुदायले पञ्चै बाजा बजाउँछन् । पाहुनालाई सुरुमा गाउँको गुम्बा पुर्याइन्छ । त्यसपछि खानपिन र नाचगानमा रमाउन पाइन्छ । एक रात बसेको हजार देखि १५ सय खर्च लाग्छ । यहाँ घुम्ने भनेको गाउँमात्र हो । सिरुबारी पुग्न पोखराबाट सोझै गाडी पाइन्छ । ६४ किलोमिटर बाटो पार गर्न गाडीमा पाँच घन्टाजति लाग्छ । यतिबेलाको मौसम सिरुबारी घुम्न लायक छ ।