एक दशकअघि युरोपबाट सुरु भएको वेस्टर्न गाउनको फेसन नेपाल भित्रिएको चार वर्षजति भएको छ । केही समयअघिसम्म वेस्टर्न गाउन आर्थिक स्थिति दरिलो भएका परिवारका युवतीहरूले मात्र खरिद गर्न सक्थे, तर अहिले यो पहिरनमा सामान्य युवतीहरू पनि सजिन थालेका छन् । प्राय: फेसन शोहरूमा र्याम्पमा मात्र देखिने वेस्टर्न गाउन हिजोआज अविवाहित तथा किशोरीहरूको रोजाइ बन्न पुगेको छ । यो गाउन विशेषगरी पार्टी तथा समारोहहरूमा लगाइन्छ । वेस्टर्न गाउन लामो तथा छोटो दुवै शैलीमा उपलब्ध छ ।
लामो वेस्टर्न गाउन भुइँमा लत्रिने खालको हुन्छ भने छोटो वेस्टर्न गाउन नलत्रिने शैलीको हुन्छ । चम्किलो लाइक्रा, सिफन, नेट, साटनजस्ता कपडाबाट तयार गरिने यस्ता गाउन आकर्षक एवं ट्ेरन्डी देखिन्छ । झट्ट हेर्दा वानपिसजस्तो देखिए पनि यो वानपिसभन्दा फरक शैलीको हुन्छ । यस्तो गाउन तयार गर्दा पहिले शरीरको नापअनुसार स्केच बनाइन्छ र सोहीअनुसार कटिङ गरेर स्टिचिङ गरिन्छ । नेपालका बुटिकहरूले पनि अर्डर अनुसारकै वेस्टर्न गाउन उपलब्ध गराउने गरेका छन् भने यस्ता गाउन तयारी अवस्थामा कमै उपलब्ध हुन्छन् ।
गाउन हलिउड स्टारहरूबीच बढी लोकप्रिय छ । नेपालमा पनि नायिका केकी अधिकारी, निशा अधिकारी, प्रियंका कार्की तथा पूर्व मिस नेपाल माल्भिका सुब्बा, सृष्टि श्रेष्ठजस्ता सेलिब्रिटीले बढी प्रयोग गरेका छन् ।
बागबजारस्थित सिटी स्क्वायरमा सञ्चालित वान्ट टु वेयरका डिजाइनर पुरु तन्डुकारका अनुसार वेस्टर्न गाउन तयार गर्न सजिलो हुँदैन । तन्डुकार भन्छन्– ‘फेसन जगत्मा लामो समयसम्म टिक्ने पहिरनमध्ये वेस्टर्न गाउन पनि एक हो । यो पहिरन प्रचलनमा आएदेखि अहिलेसम्म उत्तिकै लोकप्रिय छ ।’