लोक गायिका कोमल ओलीले कुन गित गाउन आउछ भन्दा ललितपुर लुभुमा रहेको ‘चाइल्ड ब्राइट फ्युचर नेपाल’ का बालबालिकाले ‘ताराबाजी लै लै... मामा आए घोडा...’ देखि ‘ट्वीङ्कल–ट्वीङ्कल लिटिल स्टार...’ सम्मको गित गाएर उनलाई हौसाए ।
तोते बोलिमा आएको गितमा रमाएपछि ओलीले बालबालिकामा सर्त राखिन् अब म गित गाउछु तिमिहरु सबै नाँच्नुपर्छ । ओलीले गित गाउने भनेपछि बालबालिका नाच्नलाई तयार भए, अनि ओलिले गाइन्– ‘तिमी हामी यसरी भेट भाको दिन...।’ उनको स्वर सुनेपछि चाइल्ड ब्राइट फ्युचर नेपालमा आश्रय लिइरहेका अनाथ तथा असहाय बालबालिकाहरू मात्र नाचेनन् उनीहरुका शिक्षक/शिक्षिका र स्थानिय वासिन्दा समेत नाच्न थाले । बालबालिकामा खुशि बढ्दै गएपछि ओलीले ‘हरि ओम हरि...।’ लगायत ४–५ वटा गित गाएर बालबालिकालाई भरपुर मनोरञ्जन समेत दिईन् ।
नेपालमा गएको महाभूकम्पपछि अभियानको रुपमा आएको ‘हामी उठ्ने छौं (वि विल राईज) ले फाउण्डेसनको रुपमा मान्यता पाएपछि एक दशक अघिदेखि लुभूमा संचालित उक्त केन्द्रमा रहेका ४ देखि १६ वर्षसम्मका ३५ बालबालिकाहरुलाई आवश्यक खेलकुद तथा स्टेशनरीका सरसामान उपलब्ध गराएको छ । यसअघि फाउण्डेसनले अभियानको रुपमा रहदाँ सिन्धुपोल्चोकको कर्थलीमा ४० परिवारलाई अस्थाई टहरा निर्माण गर्नुका साथै एक रोपनी क्षेत्रफलमा चिल्ड्रेन पार्कको निर्माण गरिदिएको थियो । सोही गाविसमा रहेको विद्यालय भवन भत्किएपछि २१ लाख रुपैंया भन्दा बढीको लागतमा दुई तल्ले पक्की विद्यालय भवन निर्माण गरिरहेको छ । उक्त भवन आगामी महिना भित्र विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गर्ने वि विल राईज फाउण्डेसनले जनाएको छ ।