तिनीहरू देशको मुहार फेर्छौं भन्थे । सकेनन् । देशै फेरे ।
नेपाल कहिल्यै सुध्रन्न । नेपालमा बसेर कामै छैन । यहाँ कसैको भविष्य सुरक्षित छैन । यहाँको जीवनशैली नै ठीक छैन । बिजुली छैन । पानी छैन । सडकहरू फोहोर छन् । चारैतिर धूलो, धूवाँ, मैलो । नेपाल बन्द भएको भयै । घूसखोर कर्मचारीतन्त्र । भ्रष्टाचार, अनियमितताको कुहिरीमण्डल । चोर नेताहरूले भरिएको देश । त्यसले नपुगेर अब यो नाकाबन्दी । अफाप लोकतन्त्र ! सतीले सरापेको देश ! सब खत्तम । चारैतिर अन्धकार !
अक्सर यही सुनिन्छ । निराशा यसरी फिँजिएको छ, मानौँ कुनै महामारी होस् । देशका युवा त भड्किए लौ, विदेशमा बस्नेहरूसमेत देश सम्झेर आक्रोशित हुन्छन् । बूढा पुरानाहरू बरु पञ्चायती शासन ठीक भन्छन् । नौजवानहरूसमेत राजतन्त्रको वकालत गर्न थालिसके ।
एक महिनासम्म युरोप भ्रमणमा कुनै पनि दिन केशको रौँसमेत नदुखेको मान्छे म, काठमाडौँ छिरेको भोलिपल्टै बिरामी परेँ । अझै केही दिनपछि त नाकाबन्दी नै सुरु भैहाल्यो । निराशाको महामारीले मलाई पनि नमज्जाले छोयो ।
युरोप घुमेर आइसकेपश्चात् मैले तुलना गरेँ ।
युरोप, अमेरिका, अस्ट्रेलिया वा अरू समृद्ध देश जहाँ होस् नियम र कानुनको कडा पालना भएको छ । हामीकहाँ नियम, कानुन केवल निमुखा र गरिब जनताका लागि मात्र छ ।
सडकहरू ठूला । ट्रेनको आफ्नै रुट । हरेक खालका यातायातका लागि अलग लेन । यहाँसम्म कि साइकलका लागि समेत छुट्टै लेन । बाटो काट्ने बेलामा पैदलयात्रुका लागि समेत हरियो र रातो बत्ती बल्ने ।
मोटरसाइकल त देख्नै पाइएन भन्दा पनि हुन्छ । जब पब्लिक यातायात सर्वसुलभ हुन्छ, ठीक समयमा आउँछ भने निजी सवारीको आवश्यकता नै किन पर्यो र ? सत्तरी, असी वर्षका वृद्धवृद्धा पनि ठाँटिएर साइकल चलाइरहेको फेला पर्ने ।
करिब एक महिना बसुन्जेल मैल कुनै पनि गाडीले हर्न बजाएको सुनिनँ । कुनै पनि गाडीले धूवाँ फालेको देखिनँ । कतै पनि जाम देखिनँ । कतै पनि धूलो उडेको देखिनँ । अनि किन नकुदाऊन् त्यहाँका नागरिकले ८० वर्षको उमेरमा समेत साइकल ? कतै पनि कुनै विदेशीले मसँग रूखो बोलेन । कसैले ठगेन । कसैले ढाँटेन । कुनै ठेगानामा पुग्न नसक्दा पैदलयात्रीलाई सोधे ठेगानासम्मै पुर्याइदिने मान्छे पनि भेटिए ।
यता नेपालको एयरपोर्ट झर्नेबित्तिकै ट्वाइलेट गएँ, विरक्त लाग्यो । नेपालका पुलिस एवं एयरपोर्टका कर्मचारीहरूको व्यवहार रूखो लाग्यो । देश बदल्नुपर्छ । केही गर्नुपर्छ भन्ने जोस पलायो । यहि एयरपोर्टबाट हप्ता–हप्तामा नेपालका मन्त्रीहरू विदेश भ्रमण गरेर आउँछन्, उनीहरूमा यस्तो जोस किन आउँदैन ? मन्त्रीहरू फेरिइरहन्छन् । कुन मन्त्रीले के काम गर्यो भनेर कसैले सम्झँदैन । कुन मन्त्रीले कति खायो भनेर मन्त्रीलाई सम्झने देश हो यो ।
केही नभएर, नेपाल गरिब भएको होइन । हामी केही गर्न नसकेर गरिब भएका हौँ । भएका कुराको सदुपयोग गर्न नसकेर गरिब भएका हौँ । बाहिर सबै कृत्रिमै कृत्रिम कुरा बनाएर संसारभर बेचिरहेका छन् । हामीसँग जे छ, प्राकृतिक छ । अझ अथाह छ । पर्यटक तानेरै अथाह कमाउन सक्छौँ हामी । कतिपय युरोपियन मुलक नेपालभन्दा साना छन् । भूगोलले केही बिगार गर्न सक्दैन ।
बस् ! सही नेतृत्वको खाँचो छ । सही व्यक्तिहरू राजनीतिमा आउँदैनन् । आउन चाहन्नन् । फोहोर भनेर पन्छिरहन्छन् । सफा गर्ने हिम्मत निकाल्दैनन् । हो, राजनीति फोहोरी खेल होला । तर खेलाडी सफा नियतको भए खेलमा शुद्धता आफसेआफ आउने थियो । देशको मुहार फेर्छु भन्ने युवा पुन: स्वदेश फर्कन्थे । बचेखुचेका पनि विदेश फरार हुन बाध्य हुँदैनथे ।