- प्रकाश पौडेल, गायक
‘भोलि छुट्टी मकै भुट्टी...’ कत्तिको मन पराइयो ?
युट्युबका दर्शकलाई आधार मान्ने हो भने यो गीत लोकप्रिय भैसकेको छ । त्यहाँ दर्शक बढ्ने क्रम निरन्तर जारी छ । भूषण दाहालको निर्देशनमा तयार भएको भिडियोका कारण पनि यो गीतले कम समयमै लोकप्रियता पाएको हो ।
विदेशमा बसेर संगीतलाई निरन्तरता दिन कत्तिको गाह्रो छ ?
थुप्रै वर्षदेखि म विदेशमा बसेर नेपाली संगीतका निम्ति समय निकालिरहेको छु । दुबईको गर्मीमा निर्धारित समयमा ड्युटी गरेर फुर्सदको समय संगीतलाई समर्पण गरेको छु । वर्षभरिमा कम्तीमा ३ वटासम्म गीत बनाउने मेरो प्रयास जारी छ ।
आफ्नो पेसा र संगीतलाई सामन्जस्य गर्न के गर्नुहुन्छ ?
पेसाले मलाई बाँच्न सहज बनाएको छ भने संगीतले अरूलाई, किनभने संगीतको आम्दानी म आफ्ना लागि प्रयोग गर्दिनँ । खासगरी कन्सर्टबाट आएको सबै रकम च्यारिटीमा खर्च गर्छु । अहिलेसम्म कन्सर्टबाट आएको सबै पैसा कार्यक्रमस्थलमै डोनेसन दिएको छु ।
आफूले दु:ख गरेर कमाएको पैसा संगीतमा खर्चिनुको कारण के होला ?
मैले लगानी गरेको पैसाको अधिकांश हिस्सा फिर्ता भएको छ । अहिले म एल्बम सार्वजनिक गर्दिनँ । एल्बम सार्वजनिक गर्ने अवस्था नै छैन अहिले, त्यसैले सिंगल ट्रयाक भिडियो सार्वजनिक गर्छु । भिडियोमा लगानी गरेको पैसा युट्युबबाट आउने आम्दानीले कभर गर्छ ।
तपाईंले गाउने गीतले संगीतको बेइज्जत गर्छ भन्ने आरोप लाग्छ नि ?
कसैको दृष्टिकोणमा बेइज्जत गर्छ होला, तर संगीतको बहुआयामिक पक्ष नबुझ्नेहरूले त्यसो भन्ने हो । गीत–संगीतको दायरा कति फराकिलो छ भन्ने कुरा ती महानुभावहरूले बुझ्नु आवश्यक छ । गायक–गायिका र नेताका त आधा समर्थक छन् भने आधा विरोधी । त्यसबारेमा मलाई भन्नु केही छैन, मलाई मन पराउनेहरूले सुनिदिनुहुन्छ, त्यही भएर म मनोरन्जक संगीत सिर्जनामा सक्रिय छु ।
तपाईं आफूलाई प्रयोगवादी रमाइला गीत गाउने गायकका रूपमा चिनाउनुहुन्छ, यस्ता गीत–संगीत दर्शकले चाहिँ कत्तिको रुचाउँछन् ?
युट्युबमा भ्युअर्स हेरेर थाहा पाउनुहुन्छ नि । नेपालका रेडियो, टेलिभिजन पूर्वाग्रही छन्, त्यसकारण त्यहाँ लोकप्रिय गीत भनेर हरेक च्यानलमा फरक फरक गीत बज्छन् । मेरो गीतका जति प्रशंसक छन्, मैले तिनका लागि गीत गाउने हो ।
प्रकाश पौडेलको भोली छुट्टीको म्यूजिक भिडियो