साप्ताहिक संवाददाता
स्वास्थ्य क्षेत्रका प्राविधिकहरूले स्मार्ट फोनबाटै आँखाको रेटिनाको प्रस्ट तस्बिर खिच्न सक्ने प्रविधि निर्माण गरेपछि आँखाको परीक्षण प्रक्रिया सहज हुने भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले स्मार्टफोनमा विशेष ‘एडप्टर’ जडान गरी आँखाको रेटिनाको प्रस्ट तस्बिर खिच्न सकिने प्रविधि आविष्कार गरेका हुन् ।
वैज्ञानिकहरूका अनुसार आँखाको नानीको प्रस्ट तस्बिर खिच्ने व्यक्तिले सम्बन्धित विषयको आधारभूत प्रशिक्षण भने लिएको हुनुपर्छ । यो प्रविधिलाई जहाँ पनि लान सकिने तथा इन्टरनेटको माध्यमबाट आँखा अस्पताल तथा डाक्टरसँग जोड्न सकिने भएकाले सस्तो र सहज रूपमा आँखा परीक्षण एवं उपचार गर्न सकिनेछ । खास गरेर गरिब एवं विकासोन्मुख अफ्रिकी तथा एसियाली मुलुकका मानिसहरूमा यो प्रविधि सहज र सस्तो रूपमा लागू गर्न सकिनेछ । वैज्ञानिकहरूका अनुसार यो प्रविधिलाई औषधि पसलसँगै राखिने स्थानीय क्लिनिकहरूमा समेत सहज रूपमा उपलब्ध गराउन सकिनेछ ।
स्मार्टफोनबाट आँखाको तस्बिर खिचिने नयाँ प्रविधिलाई ‘थ्रीडी प्रिन्टेड आइगो डिभाइस’ भनिन्छ । यो प्रविधिको प्रयोग गरी मधुमेहका कारण आँखामा देखा पर्ने ‘रेटिनोप्याथी’ रोगको परीक्षणसमेत गर्न सकिन्छ । आइगो डिभाइसको मद्दतबाट नानीको अगाडि र पछाडिको उच्च गुणस्तरीय तस्बिर खिच्न सकिन्छ । वैज्ञानिकहरूका अनुसार यस अघि आँखाका बिरामीहरूले आँखाको महँगो परीक्षणका कारण आँखा जचाँउन जाँदैनथे तर अब अवस्था त्यस्तो रहनेछैन । आइगो डिभाइसको प्रयोग गरी जहाँ पनि सस्तो र सजिलो रूपमा तथा केही मिनेटमै आँखा र आँखाको ‘रेटिना’को प्रस्ट तस्बिरहरू खिच्न सकिने भएपछि आँखाको प्रचलित परीक्षण पद्धतिमा नाटकीय परिवर्तन आउने भएको हो ।
यो प्रविधिको विकास गर्ने वैज्ञानिकहरूका अनुसार आइगो डिभाइस चलाउन इच्छा हुने कुनै पनि व्यक्तिले सामान्य किसिमको प्रशिक्षण लिनै पर्छ । आँखाको सम्पूर्ण भाग र आँखाको नानीको अगाडि पछाडिको तस्बिर कसरी खिच्ने ? ती तस्बिरहरू आँखा विशेषज्ञकहाँ कसरी पठाउने ? एवं ती तस्बिरलाई कसरी विद्युतीय लाइब्रेरीमा राख्ने ? आदि विषयमा प्रशिक्षण हासिल गर्नुपर्ने हुन्छ । यो प्रविधिको विकास स्टानफोर्ड विश्वविद्यालयको स्कुल अफ मेडिसिन विभागका डाक्टरद्वय डेभिड म्युङ तथा प्राध्यापक रोबर्ट चाङले गरेका हुन् । डा. डेभिड म्युङका अनुसार यो प्रविधि चलाउन राम्रो रिजोलुसनयुक्त क्यामेरा भएको स्मार्टफोन हुनपर्छ । त्यसका साथै प्लास्टिक क्याप, स्पेयरर्स पार्ट, एलइडी, स्वीच, युनिभर्सल माउन्ट्स, मार्को लेन्स, लेगो ब्रिक्स तथा क्यामेरामा प्रकाश संयोजन गर्ने टुल आदि पनि आवश्यक हुन्छन् । डा. म्युङका अनुसार यो प्रविधिको पटक–पटक सफल परीक्षण भैसकेको छ । यो प्रविधि चाँडै नै बजारमा उपलब्ध हुनेसमेत बताइएको छ ।