साप्ताहिक संवाददाता
म ४५ वर्षीय विवाहित पुरुष हुँ । म आफ्नी श्रीमतीसँग शारीरिक एवं मानसिक दुवै पक्षबाट राम्रो सम्बन्ध राख्न चाहन्छु । यद्यपि मेरो सम्बन्ध मैले सोचेजस्तो छैन । सुरुमा हाम्रो सम्बन्ध धेरै नै रमाइलो थियो । अहिले ११ वर्षपछि भने हाम्रो सम्बन्धमा कुनै उत्साह नै नभएको महसुस हुन्छ । उनको मप्रतिको आकर्षण र चाहना घट्दै गएको हो कि जस्तो पनि लाग्छ । कतै मैले श्रीमतीको मनोविज्ञान बुझ्न नसकेकाले यसो भएको पो हो कि ?
एम
तपाईंको समस्या सुन्दा तपाईं श्रीमतीसँग कसरी परिपक्व सम्बन्ध बनाउँ भन्नेमा चिन्तित हुनुहुन्छ भन्ने कुरा बुझ्न सकिन्छ । श्रीमतीसँगको सम्बन्धमा तपाईं आफू निपूर्ण हुन चाहनुहुन्छ भन्ने स्पष्ट छ । श्रमितीसँगको सम्बन्धमा फरक ढंगले व्यवहार गर्नुपर्ने हुन्छ । श्रीमतीसँगको यौनसम्बन्धको कुरा गर्न खोज्नुभएको हो भने त्यसका लागि आपसमा खुलेर कुराकानी गर्नुपर्ने हुन्छ । श्रीमती यौनसम्बन्धमा सकारात्मक छिन् भने यसका बारेमा खुलेर कुरा गर्न सक्नुहुन्छ । अर्को कुरा, पारदर्शी रूपमा कुरा गर्नेलाई जसले पनि मन पराउँछन् ।
जो आफूले सम्मान चाहन्छ उसले अरूलाई पनि सम्मान दिन्छ, अर्थात् सम्मान चाहने मानिसले अरूलाई पनि सम्मान गर्छ । यो प्राकृतिक स्वभाव हो । यसमा महिलालाई अझ बढी उपयुक्त उदाहरण भन्दा हुन्छ । महिलाहरू भावनामा मात्र होइन, शब्दमा पनि आफ्नो श्रीमान्लाई सम्मान गरिरहेका हुन्छन । यस्तै व्यवहार उनीहरू आफ्नो श्रीमान्बाट पनि चाहिरहेका हुन्छन्, तर धेरैजसो श्रीमान् आफूले मनैदेखि माया गरिरहेको छु भने बढी पुल्पुल्याउने काम किन गरूँ भन्ने स्वाभावका हुन्छन् र यस्तो स्वभावको आपसमा सञ्चारीकरण नहुँदा कहिलेकाहीँ श्रीमान्–श्रीमतीबीच सामान्य खटपट हुन्छ । सम्बन्धका आयामहरूको अध्ययन गरिरहेका विज्ञहरूको पनि यसमा फरक नै राय छ । यससम्बन्धी अध्ययन गरिरहेका विज्ञ रवि आर्यका अनुसार महिलाहरूसँगको सम्बन्धमा तीनवटा पाटा छन् ।
उनीहरू माया, महत्त्व र प्रशंसा तीन चीजका प्यासा हुन्छन् । उनीहरू यी तीनै चीजका खानी पनि हुन् । तीनै चीज दिन चाहने र लिन पनि चाहने भएकाले प्रेमीहरू, श्रीमान्हरूले यसलाई बुझेर त्यसैअनुसारको व्यवहार गर्नु श्रेयष्कर हुन्छ । यहाँसम्म कि पुरानै प्रशंसा दोहोर्याए पनि उनीहरूलाई पर्याप्त हुन्छ । सधैं नयाँ र मौलिक प्रशंसा नै हुनुपर्छ भन्ने छैन ।
त्यस्तै मार्क न्याप र अनिता भ्याङलिस्टीजस्ता सम्बन्धका विज्ञहरूले पनि यसलाई स्वीकारेका छन् र भनेका छन्— जोडीहरू प्रारम्भतिर आपसी प्रशंसामा डुबुल्की मार्छन् । यो केही वर्षसम्म जारी रहन्छ र सम्बन्ध पनि प्रगाढ रहन्छ तर बिस्तारै महत्त्व घट्ने, प्रशंसा र माया पनि घटेजस्तो महसुस हुन थालेपछि सम्बन्ध बिग्रन थाल्छ । यस्ता थुप्रै घटनाका उदाहरण दिन सकिन्छ ।
मनोविद् सेली सचुमाचर भन्छिन्— दम्पतीबीचमा आउने भिन्नता भनेको उनीहरूमा भएको ज्ञान र बुझाइको भिन्नता हो । जब दुवै जना ४० भन्दा माथि लाग्छन् उनीहरूको शरीर, जीवनशैली, हार्मोन र यौन प्रतिक्रियामा परिवर्तन आउँछ जुन स्वभाविक पनि हो । महिला वा पुरुष जसले यी परिवर्तन महसुस गर्न सक्छन् उनीहरूले समायोजनको नयाँ विधि अपनाउन सक्छन् र अझ यौन जीवनलाई पनि उत्कृष्ट बनाउन सक्छन् । महिला यदि मेनोपाजको समयमा पुगेकी हुन् भने यो समयमा महिलाको योनिका तन्तु पातलो हुने, सुख्खा हुने र चिल्लो पदार्थ ननिस्कने हुन्छ, त्यसैले पहिले यौनसम्बन्धमा निकै रमाउने, आनन्द मान्ने महिलालाई पनि यिनै कारणले गर्दा त्यही क्रिया अप्ठ्यारो र पीडादायक सावित हुन थाल्छ । यी प्राकृतिक विषयलाई पुरुषले नबुझ्दा श्रीमतीलाई आफ्नो श्रीमान् कडा, असजिलो र नबुझ्ने हुन थालेको महसुस हुन्छ । श्रीमान्लाई चाहिँ श्रीमतीले मन पराउन छाडेकी र आफूसँग सम्बन्ध राख्न नखोजेको महसुस हुन्छ । यसरी एक–अर्काप्रतिको फरक बुझाइ हँुदा दैनिक जीवनमा पनि असहजताको वातावरण सिर्जना हुन थाल्छ । तपाईंले श्रीमतीको उमेर अनि उहाँमा आएको परिवर्तनलाई महसुस गर्नुभएको छ भने यी परिवर्तन प्राकृतिक हुन्, त्यसैले बुझाइलाई अझ फराकिलो बनाउनसके फेरि पहिलेकै जस्तो सम्बन्ध स्थापित हुन सक्छ । एक–अर्काबीच खुलेर छलफल गर्नुहोस्, समाधान तपाईंहरूभित्रैबाट निस्कन्छ ।