चलचित्र ‘कोहिनूर’ बाट चम्किएका निर्देशक हुन्— आकाश अधिकारी । यतिबेला उनी चलचित्र ‘के म तिम्रो होइन र’ निर्माण गरिरहेका छन् । कोहिनूरकै लोकप्रिय गीतको शब्दबाट शीर्षक जुराइएको यो चलचित्रमा आर्यन अधिकारी अभिनेताका रूपमा पदार्पण गर्दैछन् ।
आर्यन निर्देशक अधिकारीका भतिजा हुन् । ५ फिट १० इन्च अग्ला आर्यनले चलचित्रमा पदार्पण गर्नकै लागि आफ्नो तौल करिब १० केजी घटाएका छन् । चलचित्रमा स्तरीय अभिनय गर्नैका लागि अमेरिकामा चलचित्र निर्माण तथा अभिनयको ३ वर्षे अध्ययन पूरा गरेका आर्यन चलचित्रमा अनुबन्ध हुनुअघि ८३ केजीका थिए, ६ महिनाको कठोर परिश्रमपछि अहिले उनी ७० केजीमा झरेका छन् ।
दुई साताअघि छायांकन प्रारम्भ भएको यो चलचित्रमा आर्यनलाई नयाँ अनुहार मेरिष्का पोखरेलले जोडीका रूपमा साथ दिइरहेकी छिन् । मेरिष्का स्थापित मोडल हुन् र उनी पनि यही चलचित्रबाट नायिकाका रूपमा पदार्पण गर्दैछन् ।