साप्ताहिक संवाददाता
अक्सर दसैं–तिहार मान्न हेटाडौंस्थित जन्मघर पुग्थिन्– नीता ढुंगाना । दुई वर्षयता यो क्रम टुटेको छ । यसपालि उनी बालकुमारीस्थित आफ्नै अपार्टमेन्टमा तिहार मनाउने मुडमा छिन् । पहिले–पहिले साथीभाइसँग भेला हुन्थिन्, रमाइलो गर्थिन्, भैली खेल्थिन् । अहिले व्यस्त दिनचर्याले उनलाई विगतमा फर्कन दिँदैन । यद्यपि नीता मनमा त्यही रोमाञ्चक क्षणहरू सम्हाल्दै विधिपूर्वक तिहार मनाउँछिन् । तिहारका बेला उनका चार दिदीबहिनी र दुई जना दाजुभाइ एकै ठाउँमा भेला हुन्छन् । चार जना दिदीबहिनीमा नीता कान्छी हुन् ।
नीतालाई लक्ष्मीपूजा विशेष मन पर्छ । गोबरले लिपेर लक्ष्मी पूज्ने ठाउँ बनाउने, रंगोली बनाउने, लक्ष्मीको पाइलाको डोब बनाउने काममा उनलाई खुबै जाँगर चल्छ । नीता सयपत्रीको फूलले घर सजाउन र दियोबत्ती बाल्न रुचिपूर्वक खट्छिन् । घरमा मिठाई बनाउने काममा भने त्यति जाँगर देखाउँदिनन् । त्यसैले दाजुभाइको मुख मिठ्याउने मिठाई बजारबाटै किन्छिन् । मिठाई पनि दाजुभाइकै रोजाइअनुरूप हुन्छ, रसवरी, लालमोहन र बर्फी ।
भाइटीकाको दिन उनी बिहानै नुहाइ–धुवाइ गरेर चोखो हुन्छिन् । दाजुभाइलाई भाइटीका नलगाइदिँदा सम्म नीता निराहार नै बस्छिन् । अन्य दिनको सेड्युल अलि फरक हुन्छ । उठ्नासाथ मनतातो पानी पिउँछिन्, जिम जान्छिन् र घरमै पाकेको खाना खान्छिन् । सामान्यत: बिहानको खाना खाइसक्दा ११ बजिसकेको हुन्छ ।
उनलाई भान्छाको काम गर्न अल्छी लाग्दैन । मुड चलेका बेला उनको हातबाट निकै मीठो परिकार वन्छ, खासगरी खसीको मासुका परिकार । गुन्द्रुकको रस र सागले नीताको मन कहिल्यै अघाउँदैन । थकाली खाना, छोयला तथा समयबजीले उनको जिब्रो रसाउँछ । थकाली खानाको स्वाद मेट्न नीता प्राय: सिनामंगल पुग्छिन् । जाँगर नचलेका बेला तरकारीमा झोल हालेर पनि काम चलाउँछिन् । उनको भान्छामा हप्ताको तीन–चार पटक मासु पाक्छ ।
भाइटीकाको दिन भने नीताको भान्सामा माछामासु चल्दैन । त्यसैले मटर–पनिर आदि भेज आइटम बनाउँछिन् । दाजुभाइलाई ख्वाउने परिकार नीता आफैं तयार गर्छिन् । नीताको घरमा विधिपूर्वक भाइटीका लगाइन्छ । घरमै पुरोहित बोलाएर पूजाआजा सकेपछि दाजुभाइको आरती गर्ने, टीका लगाइदिने आदि काम हुन्छ । भाइटीकाका बेला चारै जना दिदीबहिनी परम्परागत रातो पहिरनमा सजिएका हुन्छन् । विवाहित दिदीहरू साडी लगाउँछन् भने नीता कुर्ता–सुरुवाल । नीता त्यो दिन सकेसम्म नयाँ पहिरन लगाउँछिन् ।
सामान्य दिनमा भने उनी जिन्स, टिसर्ट वा वानपिसमा ठाँटिन रुचाउँछिन् । ‘कम्फर्टेबल पहिरन लगाइन्छ,’ नीता भन्छिन्– ‘त्यति धेरै सजिएर हिँड्न मन लाग्दैन ।’ घरबाहिर निस्कनुअघि उनी हल्का मेकअप गर्छिन् । अनुहारमा हेभी लिपपोत गर्न, इयररिङ लगाउन उस्तो रुचि लाग्दैन । बडी स्प्रे भने नियमित गर्छिन् । विशेष दिनमा उनी भिक्टोरिया सेक्रेटको परफ्युम लगाउँछिन् । यतिवेला नीताको नाडीमा राडो ब्रान्डको घडी छ ।
नीता आफ्ना लागि आवश्यक परिहन आफैं खरिद गर्छिन् । यसका निम्ति कहिले उनी सपिङ मल चहारिरहेकी हुन्छिन् भने कहिले अनलाइनबाट खरिद गर्छिन् । ‘गाडीमा हिँड्दा कतै राम्रो लुगा देखें भने फुटपाथमै झरेर पनि किनिहाल्छु,’ नीता भन्छिन् ।
उनी सपिङका सौखिन भने होइनन् । नीता जे मन लाग्यो, त्यही खरिद गर्दिनन् । उनको हातमा नोकियाको पुरानो सेट छुट्दैन । कुराकानीका लागि यो सेट निकै उपयोगी लाग्छ । अन्य प्रयोजनका लागि भने माइक्रोम्याक्सको क्यानभास बोक्छिन् ।
यात्राका लागि नीता ट्याक्सी चढ्छिन् । ज्योतिषले ‘गाडीको साँचो फाप्दैन’ भनेकाले पनि गाडीप्रति उनको आशक्ति टुटेको हो । ‘पहिले स्कुटर चलाउँदा दुर्घटना भयो,’ नीताले भनिन्– ‘मलाई ज्योतिषप्रति बढी नै विश्वास छ ।’ धर्मकर्ममा आस्था राख्ने नीता मन्दिर पनि धाइरहन्छिन् । ‘तीजमा मात्र व्रत बस्छु,’ नीता भन्छिन्– ‘त्यसबाहेक भाइटीका लगाउनुअघि केही खाइँदैन ।’ माइतीले दिने दक्षिणा र उपहारमा प्रसस्त कौतूहलता हुन्छ । दिदीहरूले कति दक्षिणा पाए, आफ्नो दक्षिणा कति भयो भनेर दिदीबहिनीबीच रमाइलो प्रतिस्पर्धा चल्छ, आपसमा जिस्कन्छन्, झगडा गर्छन् । नीतालाई लाग्छ– ‘चाहे ५/१० रुपैयाँ नै किन नहोस्, दाजुभाइले दक्षिणास्वरूप दिएको पैसा विशेष हुन्छ ।’
उनी संगीत सुनेर, चलचित्र हेरेर मनोरञ्जन गर्छिन् । हेर्न छुटेका चलचित्रका सिडी घरमै ल्याएर हेर्छिन् । बेलुकी फेसबुक र टेलिभिजन हेरेर आनन्द उठाउँछिन् । प्राय: राति ६ बजेपछि केही नखाने नीता त्यसपछिको सबै समय आफ्नो मर्जीअनुसार बिताउँछिन् । दिउँसो हेभी खाजा खाने नीताले रातिको खानामा भने कटौती गरेकी छिन् । उनी ओछ्यानमा पुग्दा ९ वा १० बजिसकेको हुन्छ ।