साप्ताहिक संवाददाता
दसैं–तिहारजस्ता ठूला पर्व सकिएपछि मित्रमण्डलीमा एउटा कुराको लेखाजोखा हुन्छ, यसपटकको दसैं–तिहार कत्तिको फाप्यो ? खासमा नेपालीहरूको महान् चाड दसैं–तिहारताका अक्सरले तास खेल्ने भएकाले तासमा कति हारजित भयो भन्ने चासो हो यो । पछिल्लो समयमा तासका विविध खेलमध्ये ‘म्यारिज’ लोकप्रिय भएकाले म्यारिजको जितहारका सम्बन्धमा छलफल हुनु अस्वाभाविक पनि होइन । म्यारिजमा जितेकाले सगौरव आफ्नो गाथा सुनाउँछन् भने हार्नेले मुर्मुराउँदै यसपटक दाउ नपरेको गुनासो गर्छन् ।
सामाजिक अपराध मानिने जुवाअन्तर्गत तास पनि एक हो, तर चाडपर्व, उत्सव, घरेलु कार्यक्रम, मेला तथा पिकनिकमा तास खेल्नु आम नै भैसकेको छ । फुर्सदिला नेपालीहरू त बाह्रैमास पनि तास खेल्छन् । कामकाजीको हकमा भने विशेष अवसर नै तास खेल्ने मेलो बन्छ । तासका विविध खेलमध्ये म्यारिज, फलास र कलब्रेक बढी खेलिन्छन्, त्यसमध्ये पनि २१ पत्तिको खेल म्यारिज अहिले पहिलो प्राथमिकतामा छ । त्यसैले दसैं–तिहार नजिकिएसँगै साथीभाइ तथा परिवारजनकहाँ भेला भएर म्यारिज खेल्ने सल्लाह पनि भैसकेको हुन्छ ।
विशेष गरी दसैं र तिहारलाई लक्षित गरेर उक्त समयमा मात्र मनोरञ्जनका लागि तास खेल्नेहरूको समूह ठूलो छ । ‘हो, म दसैं र तिहारमा जम्मा दुई दिन म्यारिज खेल्छु, १ सय रुपैयाँ प्वाइन्ट खेलिन्छ, मनोरन्जनका निम्ति तथा तासको धीत मार्नलाई खेलेको हुँ,’ मुलुककै चर्चित चिकित्सक नाम उल्लेख नगर्ने सर्तमा भन्छन्– ‘चाडपर्वमा रमाइलोका लागि खेलेको हो, दाजुभाइ, ज्वाइँ, भान्जाहरूसँग बसेर खेलिन्छ ।’
त्रिभुवन विश्वविद्यालयमा कार्यरत एवं आफ्नै उमावि सञ्चालन गरिरहेका एक प्राध्यापक दसैंदेखि तिहारसम्मको अवधि म्यारिजका निम्ति छुट्याउने बताउँछन् । म्यारिज खेलेको कुरा उल्लेख गर्न अप्ठ्यारो नलाग्ने बताउने उनी नाम उल्लेख गर्दा भने जुवाडेजस्तो देखिने भएकाले नाम नलेख्न आग्रह गर्छन् । ती प्राध्यापक भन्छन्– ‘प्रहरीका उच्चपदस्थ एवं अवकाशप्राप्त अधिकारी तथा हामी टिचर्स ग्रुपका साथीहरू मिलेर खेल्छौं ।’ बिदाको समय काट्न एवं रमाइलोसँग चाडपर्व मनाउन म्यारिज खेल्ने गरेको उनको दाबी छ । म्यारिज बौद्धिक खेल भएकाले कसैले हत्तपत्त धुत्र्याइँ गर्न नसक्ने ती प्राध्यापकको कथन छ । हालैको एक अनलाइन अन्तर्वार्तामा पूर्व उपराष्ट्रपति परमानन्द झाले प्वाइन्टवाला म्यारिज खेल्ने गरेको बताएका छन् । हाल पेट्रोलको समस्या भएकाले साथीभाई जम्मा नभएकाले खेल्न नपाएको उनको कुरा पनि उक्त अनलाइनमा उल्लेख छ ।
आमनागरिकदेखि राष्ट्रका उच्च ओहदासम्मका व्यक्तित्वले खेल्ने खेल म्यारिजमा के छ त्यस्तो जसका कारण सबै आकर्षित हुन्छन् ? पिता र पुत्र अर्थात् अघिल्लो पुस्ता र पछिल्लो पुस्ता स्वभाविक ढंगले एकै स्थानमा बसेर खेल्ने यो खेल लगभग हरेकजसो नेपाली घरमा खेलिनुको कारण के होला ? तास सामाजिक अपराध मानिने जुवा ऐनभित्रै पर्ने भन्दै प्रहरीले तासका खालहरूमा छापा मार्ने तर बहालवाला प्रहरी अधिकृत र पूर्वप्रहरी अधिकारीहरू खुलेआम म्यारिज खेल्न कसरी मिल्ने जस्ता धेरै प्रश्न म्यारिजसँग जोडिएका छन् । अधिकांश म्यारिज खेल्छन् वा म्यारिजका नियम जान्दछन् भन्ने आधारमा म्यारिज नेपाली जीवनशैलीमा अभ्यस्त भैसकेको ‘कार्ड गेम’ हो भन्न सकिन्छ ।
म्यारिजलाई अदालतले जुवा नभएर ‘बुद्धिको खेल’ भनेको छ । संयोगका आधारमा जितिने खेल नभएको भन्दै अदालतले यसलाई दिमागको खेल बताएको छ । पुनरावेदन अदालत, विराटनगरले २०५८ साउन ११ गते न्यायाधीशहरू चोलेन्द्रशमशेर जबरा तथा श्यामबहादुर प्रधानको संयुक्त इजलासले उक्त फैसला गरेको हो । ‘तासको म्यारिज खेल सरसर्ती हेर्दा संयोगको आधारमा खेलिने खेल देखिन नआएको हुँदा जुवा ऐन–२०२० को परिभाषाभित्र परेको भनी मान्नुपर्ने देखिएन ।’ फैसलामा भनिएको छ । जुवा ऐन–२०२० को दफा २ मा जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोगका आधारमा बाजी थापी खेलिने खेल भनेर उल्लेख गरेको छ । यद्यपि २०६३ सालमा सर्वोच्चले पुनरावेदनको उक्त फैसलामा विरोधाभास देखिएको भन्दै उल्टी निर्णय गरेको थियो ।
‘तासको खालमा तिहार’ भन्ने भनाइले नै तास र तिहारको सम्बन्ध छर्लङ्ग हुन्छ । अरू बेला तास भनेपछि मुख खुम्च्याउनेहरूसमेत तिहार मनाउन तासको खालमा बस्छन् । अझ कतिपय त तास नखेलुन्जेलसम्म तिहार आएको आभास नै नहुने बताउँछन् । परिवारका सदस्यहरू, साथीभाइ, नातेदार आदि जम्मा भएर म्यारिज खेलिन्छ । जुवाडे वा तसडीहरूको भनाइअनुसार त भाग्य जाँच्ने खेलका रूपमा पनि दसंै र तिहारमा जुवा–तास खेल्ने परम्परा विकास भएको हो । दसैं र तिहारलाई म्यारिज खेल्ने मौसमका रूपमा बुझ्ने गरिएको नेपाल सरकारका एक पूर्व प्रशासक बताउँछन् । विभिन्न आयोगमा रहेर काम गरिसकेका ती प्रशासकका अनुसार अवकाशप्राप्त जीवनमा तास त्यसमा पनि म्यारिज खेल समय काट्ने राम्रो मेसो हो ।
‘५२ पत्ती तासमा ५३ खेल हुन्छन्’ भन्ने उखान नै छ, तर तास खेल्ने तरिका र नियम ठाउँअनुसार फरक–फरक हुन्छ । नेपाली जीवनशैली तासका विभिन्न प्रकारका खेलमा अभ्यस्त छ । तास खेल्नेलाई मात्र होइन, हेर्नेलाई पनि उत्तिकै रमाइलो हुन्छ । ‘तास खेल्ने भन्दा हेर्ने मुर्ख’ भन्ने भनाइ पनि छ, किनभने तास खेल्नेहरू कि हार्छन् कि जित्छन्, तर हेर्नेहरू न जित्छन् न हार्छन्, मात्र समयको बर्बादी हुन्छ ।
तिहारमा प्राय:जसो घरैपिच्छे मिनी क्यासिनो जम्ने गरेको छ । कोही परिवारजन मिलेर त कोही छर–छिमेकी, साथीभाइ, अफिसका सहकर्मी जमघट गरेर म्यारिजको खाल जमाउँछन् । सेलरोटी र मीठो परिकारका साथमा म्यारिजमा झुमेर तिहार मनाउने चलन सहरी क्षेत्रमा अझ व्यापक बन्दै गएको छ । पुरुषहरू मात्र होइन, नेपाली महिलाहरू पनि म्यारिज खेल्न माहिर छन् ।
के हो म्यारिज ?
पछिल्लो पुस्तामाझ लोकप्रिय म्यारिज विगतको पप्लु खेलको परिमार्जित संस्करण हो । यो खेल ५२ पत्तीको ३ बुङ तास मिसाएर खेलिन्छ । प्रत्येकलाई २१ पत्तीका दरले बाँडेर खेलिने यो खेलमा प्वाइटअनुसार हारजित हुन्छ । म्यारिजमा एउटै कलर (पाना, इँटा, भोटे र चिडी मध्ये एक) का लगातार मिल्ने ३ वटा तासको एउटा सिक्वेन्स मानिन्छ, यस्तो ३ वटा सिक्वेन्स देखाएपछि मात्र खेलाडीले जोकर बनाउन वा हेर्न सक्छ । २ जनादेखि बढीमा ६ जनासम्मले खेल्न मिल्ने म्यारिजमा ‘माल’ का रूपमा काटिने जोकर र सोही कलरको त्योभन्दा अघिल्लो र पछिल्लो तासले प्वाइन्ट निर्धारण गर्छन् । बुङको तास बाँडिसकेपछि सुरुमा ३ वटा सिक्वेन्स देखाउने व्यक्तिले बाँकी रहेको बुङबाट एउटा तास थुतेर जोकरका रूपमा त्यसलाई तल राख्छन् । ६ जना खेलेको अवस्थामा तास बाँड्ने व्यक्तिदेखि देब्रेतर्फका व्यक्तिले एउटा चक्की जोकरका रूपमा पल्टाउने वा बुङको तल अन्तिममा राख्छ । एक्का पल्टिए बाँकी सबै एक्का जोकर हुन्छन् । पानको एक्का पल्टिए त्यसको बास्सा, एक्का र दुवालाई म्यारिजका रूपमा लिइन्छ । प्वाइन्ट बढाउन अन्य तासलाई पनि जोकर बनाइन्छ । डुब्ली र टनेलालाई बढीको माल बनाउने नियम प्वाइन्ट बढाउनकै लागि गरिएको हुन्छ । यो खेलमा तीन सिक्वेन्स अनिवार्य रूपले मिलेको हुनुपर्छ । सिक्वेन्सका लागि एकै रङका दुवा, तिर्की, चौका जस्ता तास आवश्यक हुन्छ ।
म्यारिजको प्रारम्भिक संस्करणमा खेलमा जित्नेबाहेकका अन्य खेलाडीको जोकरको प्वाइन्ट पनि जोडेर हिसाब गरिन्थ्यो । खेल आफूले शो नगरे पनि प्वाइन्टका हिसाबले धेरै ‘माल’ परेको अवस्थामा जोकर हेर्न नपाउनेले पनि यो शैलीको खेलमा पैसा पाउँथे । समयक्रममा त्यो शैली हटेको छ । अहिले म्यारिजको मर्डर संस्करण बढी प्रचलित छ । मर्डर म्यारिजमा ३ सिक्वेन्स देखाएको खेलाडीको मात्र प्वाइन्ट हिसाब–किताब हुन्छ । अरू मर्डरको सिकार बन्छन् र त्यसको कुनै हिसाब–किताब हुँदैन । मर्डरमै अहिले सुपरपावरका रूपमा एउटा अतिरिक्त कार्डलाई सिक्वेन्सका रूपमा प्रयोग गर्न थालिएको छ । मर्डर म्यारिजको प्वाइन्ट बढाउन र कुशल खेलाडीलाई खेल सहज बनाउन यस्तो प्रयोग गरिएको हो । त्यति धेरै प्रचलनमा नभए पनि तासको खालमा जम्ने खेलाडीहरू म्यारिजको ‘किडन्याप’ संस्करण पनि खेल्छन् । किडन्याप डरलाग्दो शैली हो, जसमा अपहरणको शैलीमा खेल शो गर्ने खेलाडीले अन्य सबै खेलाडीको जोकरको प्वाइन्ट आफूमा केन्द्रित गर्छ । खेल शो गर्ने खेलाडीले जित्नुपर्छ भन्ने मान्यताअनुरूप किडन्यापमा जसले धेरै पटक खेल सो गर्न सक्छ उसैले बढी आम्दानी गर्छ ।
तास खेल्नु गैरकानुनी नै हो
सर्वेन्द्र खनाल
एसएसपी, महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा
म्यारिज आम नेपाली जनजीवनमा अभ्यस्त भैसकेको छ, कानुनत: यसलाई कसरी लिनुहुन्छ ?
तपार्इंले दसैं–तिहारको समयमा सबैले तास अझ भनौं म्यारिज खेल्छन् भन्ने विषयमा कुरा गर्नुभएको होला, कानुनी हिसाबले व्याख्या गर्ने हो भने तास पनि जुवा ऐनभित्रै पर्छ । त्यसैले तास खेल्नु गैरकानुनी नै हो । तास खेल्नु सामाजिक अपराध पनि मानिन्छ । यद्यपि चाडपर्वको समयमा मनोरञ्जनका हिसाबले जुवाको नियत नराखी खेल्दा त्यसमा सरोकारमा राख्न आवश्यक नदेखिएको हो । यदि जुवाको हिसाबले खेलिन्छ वा खेलाइन्छ भने त्यहाँ अवश्य प्रहरी हस्तक्षेप हुन्छ ।
चाड मनाउने नाममा सबैले त खेलिरहेकै हुन्छन् नि ?
हो खेल्छन्, खेल्नु हुँदैन भन्ने बुझेकाहरू नै अझ बढी खेल्छन् । चाडपर्वमा परिवार र नजिकका साथीभाइले जुवाको नियत नराखी खेलेको भनेरै प्रहरीले नजरअन्दाज गरेको पनि हो, अन्यथा तास खेल्ने सबैलाई कारबाही गरिन्थ्यो । वर्षभरि व्यस्त हुनेहरूले मनोरञ्जनका रूपमा चाडपर्वको एक दिन खेल्दा त्यसमा चासो दिनु आवश्यक पनि छैन ।
अनि जुवाघरमा तास खेल्नेहरूलाई चाहिँ प्रहरीले कारबाही गर्नु विरोधाभास भएन र ?
खालमा नियमित तास खेल्नु वा जुवाको नियत राखी ठूलो रकमको तास–जुवा खेल्नु भनेको सामाजिक अपराध हो । जुवा–तासकै कारण परिवारमा विचलन आउँछ । जुवा–तास विकृतिको कारक हो । जुवा–तास खेलेर कमाएको धन आफैंमा वैध हुँदैन । जुवा–तासले समकालीन पुस्ताभन्दा किशोरवयलाई अझ बढी प्रभावित तुल्याउँछ । उनीहरूलाई जुवा–तासको लतबाट जोगाउन पनि सचेतनास्वरूप प्रहरीले धन्दाका रूपमा चलेका ती जुवाघरविरुद्ध कारबाही गर्नुपर्छ ।
म्यारिजलाई बौद्धिक खेलका रूपमा परिभाषित गरिएको छ नि ?
मलाई त्यस्तो लाग्दैन । बरु यो ‘ट्रिकी’ खेल हो । यसमा पनि गडबडीका धेरै सम्भावना छन् । संयोगका आधारमा जितिने खेललाई कसरी बौद्धिक खेल भन्न सकिन्छ ? तास भनिसकेपछि यो जुवाभित्रै पर्छ । फेरि धनराशिको हारजित भैसकेपछि त्यो खेल बौद्धिक हुनै सक्दैन ।
समाजका लब्धप्रतिष्ठत व्यक्तिहरूले खेल्ने खेल भनिसकेपछि बौद्धिक नै होला नि, होइन र ?
मेरो सन्दर्भमा भन्नुहुन्छ भने म यसलाई व्यर्थमा समय खर्चिने काम मान्छु । तास खेल्नु उत्पादनमुखी कार्य हुनै सक्दैन ।
तपाईंचाहिँ म्यारिज कत्तिको खेल्नुहुन्छ ?
मलाई खासै आउँदैन, त्यसैले खेल्दिनँ भन्दा हुन्छ । दुई–तीन वर्षअघि यसो खेलेजस्तो गरेको थिएँ । ३ वटा सिक्वेन्स बनाउनेसम्म थाहा छ तर त्यसपछिको क्याल्कुलेसन मलाई आउँदैन ।
अनलाइनमा पनि म्यारिज
अहिलेको ई–जेनेरेसनमा साथीभाइ जमघट नभै पनि अनलाइनमार्फत तास खेल्न सकिन्छ । यदि म्यारिज खेलका लागि आतुर हुनुहुन्छ भने अनलाइनमार्फत त्यस्तो तलतल मेट्न सकिन्छ । त्यसका लागि www.bhoos.com/ लगइन गर्नुपर्ने हुन्छ । दसैंतिहारको समयमा यो डटकम धेरै प्रयोगमा हुने भएकाले कहिलेकाहीं त म्यारिज खेल्नकै लागि पालो कुर्नुपर्ने अवस्था हुन्छ । यसबाट तास खेल्न पहिलो पटक रजिस्टर गर्नुपर्ने हुन्छ । रजिस्टर गर्नेबित्तिकै १० हजार चिप्स पाइन्छ । जुन म्यारिज खेल्न गेडागुडी प्रयोग गरेजस्तै हो । उक्त चिप्स क्लासिक गेम खेल्न प्रयोग गर्न सकिन्छ । यदि भीआईपी म्यारिज गेम खेल्न चाहने हो भने ‘क्वाइन्स’ किन्नुपर्ने हुन्छ । त्यसका लागि क्वाइन्सको संख्याअनुसार मूल्य तिर्नुपर्छ । क्रेडिट कार्ड वा ई–बैंकिङ प्रयोग गरी क्वाइन किन्न सकिन्छ । अफलाइन वा अनलाइन म्यारिज खेल खेल्न थुप्रै एप्स डेभलप गरिएका छन् । प्रयोगकर्ताले म्यारिज टाइप गर्नेबित्तिकै प्ले स्टोर वा आइट्युन्समा म्यारिज एप्स भेटिन्छन् ।