साप्ताहिक संवाददाता
स्मार्टफोनमा तिहार ? सुन्दा अचम्म लाग्न सक्छ । तर हो, अब आफ्नो स्मार्टफोनमै तिहार मनाउन र तिहारको झलक प्राप्त गर्न सकिन्छ । तिहारको अवसरमा गरिने लक्ष्मीपूजादेखि लिएर रंगोलीको डिजाइन समेत आफ्नो एन्ड्रोइड स्मार्टफोनमा गर्न सकिन्छ । गुगल प्ले स्टोरमा यी एप्स उपलब्ध छन् ।
नेपालमा भन्दा पनि भारतमा यस्ता प्रशस्तै एप्स निर्माण भएका छन् । भारत र नेपालको कतिपय संस्कृति मिल्दोजुल्दो भएकाले हामीले त्यस्ता एप्स प्रयोग गरी तिहारलाई थप उल्लासमय बनाउन सक्छौं । भारतमा तिहारलाई दिवाली भनेर मनाइने भएकाले धेरै एप्समा दिवाली शब्द जोडिएका छन् ।
रंगोली फर दिवाली
तिहारको समयमा रंगोलीको पनि चर्चा हुन्छ । घरको अगाडि सुन्दर रंगोली डिजाइन गर्न रंगोली फर दिवाली एप्सको सहयोग लिन सकिन्छ । यो एप्समा रंगोलीका १ सयभन्दा बढी डिजाइन उपलब्ध छन् । यो एप्सको प्रयोग अफ लाइनमा पनि गर्न सकिन्छ ।
लक्ष्मी पूजा–जनाना प्रबोधिनी
लक्ष्मी पूजाको समयमा लक्ष्मीका साथ गणेशको पनि पूजा गरिन्छ । पूजा गर्ने समयमा सधै पुरोहित उपलब्ध हुन्छन् भन्न सकिँदैन । त्यसका लागि यो एप्स आफ्नो स्मार्टफोनमा इन्स्टल गर्न सकिन्छ । यसमा लक्ष्मी पूजाको सबै विधि उपलब्ध छ । पूजा विधिको रेकर्ड पनि पुरोहितकै आवाजमा सुन्न सकिन्छ । पूजाको तयारीदेखि लिएर संकल्पको समयसम्मका सबै प्रक्रिया यसमा उपलब्ध छ । त्यसैगरी लक्ष्मी पुजन नामक अर्को एप्स पनि छ । यसमा लक्ष्मीपूजा एवं आरतीको विधि आदिका वारेमा जानकारी दिइएको छ ।
दिवाली पूजा अडियो एचडी
यो तिहारको वान–इन–अल एप्स हो । यसमा अडियो एचडी वालपेपर, रंगोली, लक्ष्मी गणेश आरती, मन्त्र आदि हिन्दी र अंग्रेजी भाषामा उपलब्ध छ । यो एप्स गुगल प्ले स्टोरमार्फत प्रयोग गर्न सकिन्छ ।
५० टप दिवाली सङ्स
लक्ष्मी पूजा र तिहारका अन्य अवसरलाई थप रोमाञ्चक बनाउन यो एप्सको प्रयोग गर्न सकिन्छ । यो एउटै एप्लिकेसनमा लक्ष्मीसँग सम्बन्धित ५० वटा गीत उपलब्ध छन् । यसमा लक्ष्मी आरती, भजन, व्रत कथा, मन्त्र, देवीका १ सय ८ नाम आदि समेत फेला पार्न सकिन्छ ।
लक्ष्मी टेम्पल फर दिवाली
व्यस्तताका कारण तिहारमा मन्दिर जान नपाए आफ्नो स्मार्टफोनमै यो एप्स प्रयोग गरी भर्चुअल मन्दिर बनाउन सकिन्छ । यति मात्र नभई मन्दिरलाई आफ्नै तरिकाले डिजाइन समेत गर्न सकिन्छ । यसमा वालपेपर, मन्दिरका पिलर, आरती, फूल, बत्ती आदि समेत बनाउन सकिन्छ ।
दिवाली–२०१५
साथीभाइ तथा आफन्तहरूलाई तिहारको शुभकामना पठाउन यो एप्स प्रयोग गर्न सकिन्छ । त्यसबाहेक यो एप्समार्फत वालपेपर, रिङटोन तथा रंगोलीका डिजाइनसमेत सेयर गर्न सकिन्छ ।
यी एप्सका अतिरिक्त दिवाली धमाल, ह्याप्पी दिवाली, दिवाली ग्रिटिङ कार्ड, दिवाली दिया आदि प्रशस्तै एन्ड्रोइड एप्ससमेत उपलब्ध छन् । ती सबै एप्स गुगल प्ले स्टोरमार्फत डाउनलोड गर्न सकिन्छ ।