साप्ताहिक संवाददाता
नेपाली तेक्वान्दोले पाएको अब्बल दर्जाकी महिला खेलाडी हुन्— संगीना वैद्य । खेलाडीका रूपमा उनले जत्तिको ख्याति र सफलता अरू नेपाली खेलाडीले विरलै पाएका छन् । सक्रिय खेल जीवनबाट संन्यास लिएपछि संगीना अहिले प्रशिक्षकका रूपमा व्यस्त छिन् । संगीनाका लागि पनि तिहार विशेष रहने गरेको छ । उनलाई यो पर्व कति मन पर्छ भने उनी यसको प्रतीक्षामा रहन्छिन् । किन त ? संगीनासँग साप्ताहिकको पाँच प्रश्न ?
तिहारमा कत्तिको रमाइलो गरिन्छ ?
दसैं र तिहारको आ–आफ्नै महत्त्व एवं विशेषता छन् । त्यसमध्ये पनि तिहार विशेष रूपमा रमाइलो गर्दै मनाइन्छ । तिहारले हाम्रा लागि सधैं अलगै रौनक ल्याउँछ । म सधैं तिहारको प्रतीक्षामा रहन्छु । यसको कारण हो— भाइटीका ।
भाइटीका किन यति साह्रो महत्त्वपूर्ण ?
हामी सात दिदी–बहिनी छौं । त्यसमा म पाँचौं हुँ । हामी सबैको एउटै भाइ छ— कान्छो, सबैले धेरै माया गर्ने । भाइ अजेन्द्र अहिले कम्प्युटरमा इन्जिनियरिङ पढ्दै छन् । हामी सधैं एकै ठाउँमा भेला भएर भाइटीका लगाउँछौं । हाम्रा लागि यो जत्तिको रमाइलो, उल्लासहपूर्ण क्षण अरू हुँदैन । वास्तवमै हामी सात दिदी–बहिनीका लागि यो विशेष अवसर हो ।
कस्तो वातावरण हुन्छ त्यतिबेला ?
हाम्रा लागि यो सातै दिदी–बहिनी एका ठाउँमा भेला हुने अवसर पनि हो । भाइटीकाका बेला बुबा सधैं अगाडि बस्नुहुन्छ र यो परम्परा जस्तै भएको छ । उहाँकी पनि दिदी हुनुहुन्छ, तर हाम्रो भाइटीका नभएसम्म उहाँ टीका लगाउनुहुन्न । हामी दिदी–बहिनीहरू पनि भाइलाई आ–आफ्नो घरमा बोलाउनुको सट्टा सबै माइतीमै भेला हुन्छौं । त्रिशूलीको घरमा भाइटीका मनाउँदा हामीलाई केही गाह्रो हुन्थ्यो । अचेल काठमाडौंमै मनाउँछौं र केही सजिलो पनि भएको छ ।
भाइ पनि उत्तिकै खुसी होलान् नि ?
निश्चित नै । सात जना दिदीसँग व्यवहार गर्न पनि उनलाई केही गाह्रो होला । सानो छँदाको समय बेग्लै हुन्छ । मलाई लाग्छ, भाइटीकामा हामीले के दियौं वा के लियौं भन्ने कुरा कहिल्यै ठूलो हुँदैन, सबैभन्दा ठूलो कुरा माया र सम्मान हो ।
तिहार छुटेको अवसर पनि होला नि ?
खेलाडी छँदा प्रशिक्षणमा रहेका बेला अथवा विदेशमा खेल्न गएको अवसरमा तिहार छुटेको पनि छ । त्यति बेला ६ दिदी–बहिनीले भाइटीका लगाइदिन्थें, म भने छुट्थें । नरमाइलो लाग्थ्यो, तर अब त्यस्तो हुँदैन होला ।