साप्ताहिक संवाददाता
म १५ वर्षीया छात्रा हुँ । मेरो महिनावारी १३ वर्षमा सुरु भयो । सुरुमा नियमित भए पनि अहिले महिनावारी नियमित छैन । कहिले १ महिना १५–२० दिनमा हुन्छ अनि कहिले २ महिना पनि नाघ्छ । मलाई धेरै चिन्ता लाग्छ । के गर्ने होला ?
टी.
सामान्यत: महिनावारी २१ दिनदेखि ३५ दिनको अन्तरमा ३ देखि ५ दिनसम्म हुन्छ । किशोरावस्था तथा महिनावारी सुक्ने बेलामा महिनावारीमा अनियमितता देखा पर्ने तथा ढिलो हुने जस्ता समस्या देखा पर्न सक्छ । यस्तो महिनावारी गराउने हार्मोनहरूको असन्तुलनका कारण हुन्छ ।
कसै–कसैमा अण्डबाहिनी नली तथा अण्डाशयको संक्रमण, थाइराइड तथा अन्य हार्मोनहरूको असन्तुलन, पोलिसिटिक ओभरियन डिजिज आदिले पनि महिनावारी अनियमित हुने, ढिला हुने वा रोकिने हुन सक्छ ।
किशोरावस्थामा महिनावारी ढिला भयो भनेर खासै आत्तिनु पर्दैन, तर समयमै परीक्षण गराई अन्य रोग होइन भन्ने कुरा पक्का गरेको राम्रो हुन्छ ।