साप्ताहिक संवाददाता
आज मंसिर ३ देखि ६ (नोभेम्बर १९–२२) सम्म आयोजना भैरहेको दक्षिण एसियाली वृत्तचित्र महोत्सव ‘फिल्म साउथ एसिया’मा प्रसिद्ध भारतीय चलचित्र निर्देशक अदूर गोपालकृष्णनको प्रमुख आतिथ्य रहेको छ ।
मलयाली भाषामा उनका कृति विश्वभरि चलचित्र महोत्सवका दर्शकले रुचिपूर्वक हेर्दै आएका छन् । भारतीय चलचित्रकर्मीले पाउने सर्वोच्च सम्मान ‘दादासाहेब फालके’बाट सम्मानित भैसकेका अदुर भारतकै उत्कृष्ट निर्देशकमा पर्छन् । उनले १६ पटक भारतको ‘नेसनल फिल्म एवार्ड’ जितिसकेका छन् ।
महोत्सवका निम्ति काठमाडौं आएका बेला फिल्म साउथ एसियाले अदूरलाई नेपालका चलचित्रकर्मीहरूसँग अन्तक्र्रियासमेत गराउने भएको छ । महोत्सवमा प्रदर्शित वृत्तचित्र एवं त्यसले उठान गरेका विषयहरू माथि ‘नेपाल इण्डिपेन्डेन्ट फिल्म मेकर्स सोसाइटी’ले ललितपुरस्थित आयोजनास्थल यलमाया केन्द्रमै समानान्तर रुपले छलफल तथा अन्तक्र्रिया चलिरहेको छ ।
सोसाइटीका अध्यक्ष अनुप सुवेदीका अनुसार ‘मलयालम चलचित्र उद्योगमा इण्डिपेन्डेन्ट फिल्मको अवस्था’ बारे एउटा प्रवचन र उनका केही चलचित्रलाई आधारित बनाएर नेपाली चलचित्रकर्मीका निम्ति ‘मास्टर क्लास’ समेत सञ्चालन भैरहेको छ । फिल्म साउथ एसियाले प्रदर्शनका निम्ति छनौट गरेको ३५ वटा वृत्तचित्रमध्ये एउटा स्वयं अदूरको चलचित्र निर्माण कलामाथि बनेको ‘फिटअप अन दि ग्राउन्ड’ पनि छ ।