साप्ताहिक संवाददाता
भोली शुक्रबार देखि एउटा प्रयोगात्मक चलचित्र प्रदर्शनमा आउँदैछ । बलिउडको इतिहासमै पहिलो पटक १० जना निर्देशकले एकसाथ निर्देशन गरेको चलचित्र ‘एक्स : पास्ट इज प्रिजेन्ट’ फरकधारको चलचित्र हो ।
यसका मुख्य अभिनेता रजत कपुर हुन् । रजत बढीजसो फरकधारका चलचित्रमा देखिने अभिनेता हुन् । मुम्बईमा छायांकन गरिएको यो चलचित्रमा उनले एक चलचित्र प्रस्तुतकर्ताको भूमिका निर्वाह गरेका छन् । यो चलचित्र ती चलचित्र प्रस्तुतकर्ताका ११ जना पूर्वप्रेमिकासँगको सम्बन्धमा आधारित छ । विवाह गरिसकेर पनि पूर्वप्रेमिकाहरूका कारण उनले भोगेको समस्या र उक्त समस्याबाट निस्कन उनले गरेको संघर्ष यो चलचित्रको मुख्य विषय हो । चलचित्रमा यथार्थपरक प्रस्तुतिका साथै केही कामुक दृश्य पनि छन् ।
गत साता प्रदर्शित सलमान खानको चलचित्र ‘प्रेम रतन धन पायो’ले अझै पनि राम्रो व्यवसाय गरिरहेको सन्दर्भमा स्टारकास्टबिनाको यो चलचित्रले कस्तो बजार पाउला ? केही भन्न सकिने स्थिति छैन । नेपालमा भने यो चलचित्र हलमा प्रदर्शन हुनेछैन ।
निर्देशक : अभिनव शिव तिवारी, अनु मेनन, हेमन्त गाबा, नलन कुमारास्वामी, प्रितम डी गुप्ता, राजा सेन, राजश्री ओझा, सन्दीप मोहन, सुधिश कामथ तथा सुपर्ण वर्मा ।
संगीत : मैत्रीय कलाकार : रजत कपुर, हुमा कुरेशी, राधिका आप्टे, अदिति छेनगप्पा, ऋचा शुक्ला, आयुष्मान झा आदि ।