साप्ताहिक संवाददाता
मेकअप यस्तो हुनुपर्छ जसले आफ्नो सुन्दरता थप बढाउन सकोस्, साथै अनुहारको छालामा कुनै असर नपरोस् । मेकअप भद्दा किसिमको हुनु हुँदैन अर्थात नेचुरल मेकअप गर्नुपर्छ । मेकअप गर्दा आफ्नो उमेर छालाको प्रकार एवं पहिरनलाई ध्यान दिनुपर्छ ।
स्किन केयर : मेकअप गर्नुभन्दा पहिले आफ्नो अनुहार सफा गर्नुपर्छ । अनुहारसफा गर्दा आफ्नो छालाको प्रकारअनुसार फेसवास प्रयोग गर्नु उपयुक्त हुन्छ । त्यसपछि टोनर लगाउने । टोनरले मेकअपलाई धेरै बेर टिकाउनुका साथै छालालाई कसिलो बनाउँछ । आफ्नो छालाको प्रकार र उमेरअनुसार सन ब्लकयुक्त मोस्चराइजर लगाउनुपर्छ । बेलुका पनि अनुहार सफा गरेर टोनर र नाइट क्रिम लगाउने, जसले गर्दा छाला स्वस्थ, सफा एवं चम्किलो देखिन्छ । यो उपाय दैनिक अबलम्बन गर्दै प्रशस्त पानी पनि पिउनुपर्छ ।
कलर कस्मेटिक : अनुहारको छालालाई सुरक्षित राख्न स्किन केयरको प्रयोगपछि मेकअप प्राइमर लगाउनुपर्छ । अनुहारमा भएका दाग लुकाउन कन्सिलर प्रयोग गर्नुपर्छ । जहाँ दाग छ त्यहाँ कन्सिलर र सम्पूर्ण अनुहारमा फाउन्डेसन लगाउनुपर्छ । कन्सिलर र फाउन्डेसन रगडेर लगाउनु हुँदैन । औंलाले थपथपाउँदै अनुहारमा फैलाउनुपर्छ र सबैतिर एकनासको बनाउनुपर्छ ।
आँखावरिपरि कालो दाग छ भने आई कन्सिलर लगाएर फाउन्डेसनले छोपिदिनुपर्छ । मेकअपलाई लामो समय टिकाउनु छ भने वाटरप्रुफ फाउन्डेसन लगाएर ट्रान्सल्यूसेन्ट पाउडरले त्यसलाई सेट गर्नुपर्छ । छाला चिल्लो किसिमको छ भने लिक्विड फाउन्डेसनको साटो पाउडर तथा फाउन्डेसन लगाउनु उपयुक्त हुन्छ ।
मेकअप गर्दा वेस राम्रोसँग बनाउनुपर्छ । वेस बनाइसकेपछि आँखाको मेकअप गर्नुपर्छ । आँखाको मेकअपमा विशेष गरेर आइस्याडो आफ्नो पहिरनसँग मिल्ने रंगको हुनुपर्छ । आइस्याण्डोको प्रयोग हल्का गर्नुपर्छ । आँखाको सेपअनुसार लाइनर लगाउनुपर्छ । सानो र चिम्रो आँखामा मोटो लाइनर लगाउने । यदि आई मेकअप धेरै समय टिकाउनु छ भने वाटरप्रुफ लाइनर र मस्करा प्रयोग गर्ने ।
लिपिस्टिक लगाउनुभन्दा पहिले लिप लाइनरले ओठलाई सेप दिनुपर्छ । लिपिस्टिकको कलर भन्दा एक सेड लाइट कलरको लिप लाइनर प्रयोग गर्नुपर्छ । ओठ मोटो छ भने भित्रबाट र पातलो छ भने बाहिरबाट लिप लाइनर लगाउँदा ओठको सेप राम्रो देखिन्छ । लिपिस्टिक धेरै बेर टिकाउन ओठमा हल्का फाउन्डेसन लगाएर लिपिस्टिक दल्नुका साथै लिप लाइनर पनि धेरै बेर टिक्ने किसिमले लगाउनुपर्छ ।
जसरी हामी विभिन्न सौन्दर्य प्रसोधन प्रयोग गरेर बाहिरी रूपलाई सुन्दर बनाउँछौं, त्यसरी नै हामीभित्र भएका लोभ, मोह, रिस, अहंकार एवं नकारात्मक विचार त्याग्दै प्रेम, शान्ति, खुसी, आनन्द एवं सकारात्मक विचारको विकास गरी भित्री सुन्दरतालाई अझ सुन्दर बनाउन सक्छौं ।