अहँ, पटक्कै होइनौं । भारतप्रति हाम्रो मित्रवत् व्यवहार हुनुपर्छ । भारतीय जनताप्रति मैत्रीपूर्ण सम्बन्ध रहनुपर्छ । यद्यपि भारतीय शासकहरूको हेपाहा प्रवृत्तिको विरोध गर्नु सार्वभौम सत्ता सम्पन्न मुलुकका जनताको अधिकार, कर्तव्य एवं दायित्व हो ।
भारतीय शासकहरू किन त्यसरी हेपाहा भएका होलान् ?
‘भा’ भन्नाले आन्तरिक प्रकाश, ‘रत’ भन्नाले त्यो प्रकाशमा ‘लीन’ भएको भन्ने बुझिन्छ । जब शासकहरूको मन मैलो हुन्छ, तब, कैले ‘भा’ हराएर ‘रत’ रहन्छ, अनि दबाबरत बन्छन्, कैले ‘त’ हटाएर छिमेकीका लागि ‘भार’ बन्न पुग्छन् ।
के भारतीय शासक नेपालका लागि ‘भार’ हुनुमा उनीहरू मात्र दोषी छन् ?
हिजोका हाम्रा शासक पनि कम दोषी छैनन् । विदेशी दूतलाई देउताजस्तो मान्ने तथा दूतले दिएको आदेशलाई देववाणी ठान्ने प्रवृत्तिका कारण हाम्रो देश साफ गेमको मैदानजस्तो भएको हो, हामी नेपाली विश्वकपको फुटबलजस्तो बन्न पुगेका हौं । स्यालले कुखुरा चोर्यो भनेर कराउनुभन्दा पहिले कुखुराको खोर बलियो बनाएको भए यस्तो हुँदैनथ्यो ।
पल्किसकेको स्याल कसरी धपाउने त ?
सबैभन्दा पहिले छिमेकीले दिएको कोटाको सिटमा नेताका छोराछोरी पढाउन बन्द गर्नुपर्छ । दान वा अनुदान लिनुअघि त्यसको दीर्घकालीन स्वार्थ के हो भन्ने थाहा पाउनुपर्छ । सहयोग देशको हितमा छ भने दिल खोलेर स्वागत गर्नुपर्छ, व्यक्तिगत फाइदाका लागि रहेछ भने प्रस्टसँग ‘नो थ्यांक्स’ भन्न सक्नुपर्छ ।
ग्याँस छैन, औषधी छैन, खाद्यसामग्रीको अभाव भैसक्यो, यस्तो बेला आदर्शले काम चल्छ ?
स्वाधीनता आदर्श होइन, यथार्थता हो । स्वाधीनताका लागि केही त्याग त गर्नैपर्छ । दाउरा बाँकी छन् । गुइँठा बनाउनुपर्छ । मितव्ययी हुनुपर्छ । केही समय सार्हो–गार्हो होला, कुनै पनि समस्या दीर्घकालीन हुँदैन । विवेकपूर्ण समाधानको प्रयास गर्दै जानुपर्छ, राष्ट्रियता अप्ठेरोमा परेका बेला अलिअलि सार्हो–गार्हो सहनु पनि पर्छ ।
भोको पेटले कहिलेसम्म राष्ट्रियता थाम्ला ?
हाम्रो जस्तो मुलुकका लागि स्वाधीनता र पेट कहिलेकाहीं फरक हुन्छन् । स्वाधीनताका लागि लड्दा पेट भोकै हुन सक्छ । पेटभरि खान खोज्दा स्वाधीनता अप्ठेरोमा पर्न सक्छ । त्यसैले हाम्रो प्राथमिकता केमा हो, निक्र्योल हुनुपर्छ । एकपटक स्वाधीनताको जग बलियो बनाएपछि पेट र स्वाधीनता सधैंका लागि बलियो हुनेछन् ।
स्वाधीनता भनेको भारतको विरोधमात्र हो र ?
स्वाधीनताका लागि कसैको विरोध गर्नु जरुरी छैन, आफ्नो देशको समर्थन गरे पुग्छ । देशभित्रका समस्या आफैं समाधान गर्नु, विदेशीहरूको दबाबलाई अस्वीकार गर्नु, आफ्नो देशको जल, जमिन र जनताप्रति आफ्नैमात्र पहुँच रहनु, देशको भाग्य र भविष्यको निर्णय आफैंले गर्नु स्वाधीनता हो ।
हाम्रा नेताहरू नै खराब छन्, के गर्नु ?
अब त्यसलाई हाम्रो भाग्य वा दुर्भाग्य जे भनिए पनि हाम्रा नेता यिनै हुन् । उत्तरबाट ल्याउने कुरा भएन, दक्षिणबाट बोलाउन मिलेन । जे छन्, ठोकठाक पारेर चलाउनुपर्छ । पहिलेभन्दा अलि चल्ने भएझैं लाग्छ, अझै कसकास पारौं । धेरै असन्तुष्टिले भएको चिज पनि गुम्ने खतरालाई बुझ्नुपर्ने हुन्छ ।
पेट्रोल युगबाट दाउरे युगमा पुर्याए, यस्ता नेताहरूले के गर्लान् र खै ?
दाउरा नदिएको भए पनि हामी कहाँ खुसी हुन्थ्यौं र ? दाउरा पनि बाँड्न नसक्ने सरकार भनेर गाली गर्न थाल्थ्यौं । भारतसँग झुकेर सम्झौता गरेको भए ‘देश बेचुवा सरकार’ भन्थ्यौं । समझौता नगर्दा जनतामारा सरकार भन्छौं । गर्दा किन गरिस्, नगर्दा किन गर्दैनस् भन्छौं । यसो गर्दा पनि हुन्न, त्यसो गर्दा पनि हुन्न भने कसो गर्दाचाहिं हुन्छ त ? विकल्पसहित विरोध गर्नुपर्छ भन्ने गजुरियल ठम्याइ छ ।