म ३६ वर्षीय विवाहित पुरुष हुँ । मसँग भएको एउटा छालाको बेल्टसँगको सम्पर्क र वासनाले यौन उत्तेजना भएको महसुस हुन्छ । करिब १५ वर्षको उमेरदेखि नै मैले छालाको वासनामा यौन उत्तेजना महसुस गर्न थालेको हुँ । यौनसम्पर्कको समयमा बेल्ट लगाएर यौनआनन्द लिन खोज्दा श्रीमती अनौठो मान्छिन् । उनले विभिन्न प्रश्न गर्ने क्रममा उनीसँग कहिलेकाहीँ झगडा पनि हुन्छ । यस्तो व्यवहार कायम रहने हो भने डिभोर्स दिन्छु भनेर धम्क्याउँछिन् । उनी भन्छिन्— यो मेरो मनोवैज्ञानिक समस्या हो । पहिले–पहिले मलाई यो समस्या हो भन्ने लाग्दैनथ्यो, बरु रोमान्टिक विचारजस्तो लाग्थ्यो तर हिजोआज समस्या नै हो कि जस्तो लाग्न थालेको छ । यो कस्तो समस्या हो ?
एम.
कुनै पनि वस्तुको प्रयोग अनि उक्त वस्तुलाई हेरेर यौन उत्तेजना हुनु स्वभाविक भए पनि यस्तो व्यवहारले आफ्नो पार्टनरलाई दबाब महसुस हुन्छ तथा हिंसा हुन थाल्छ भने त्योचाहिँ स्वभाविक होइन । चर्चित मनोदार्शनिक सिग्मन्ड फ्रायडले यस्तो व्यवहार लामो समयदेखिको डरका कारणले उत्पन्न हुन सक्ने बताएका छन् । १९५१ मा डोनाल्ड विनिकटको भनाइअनुसार बाल्यकालमा जस्तै आंैला चुस्ने, मनपर्ने खेल्ने वस्तु आफ्नै साथमा राख्नुपर्ने जस्ता व्यवहार नै हुन सक्छ, वयस्कमा त्यही वस्तु नै यौन उत्तेजनाका लागि नभै नहुने वस्तु हुन्छ । पुराना मनोविद्हरूले बाल्यावस्थामा यस्तो कुनै आघात्जन्य घटना भएका कारण देखा पर्न सक्ने बताएका छन् ।
यस्तो समस्या अन्य पुरुषमा पनि देखिएकाले यस विषयमा विभिन्न अध्ययन–अनुसन्धान पनि भएका छन । यो दुर्लभ समस्या वा तपाईंमा मात्र देखिएको समस्या होइन । ती अध्ययनले देखाएअनुसार मानिसहरू छालामा मात्र होइन, अन्य कुरामा पनि आकर्षित हुने तथ्य पत्ता लागेको छ । कुनै पनि वस्तुमा हुने आकर्षणलाई आधार मानेर यौन व्यवहार हुनुलाई फेटिज्म भनिन्छ । यसको उद्गम सन् १८०० को अन्त्यतिर भएको हो । अनुसन्धानअनुसार फेटिस व्यवहार महिलाभन्दा पुरुषमा बढी देखिन्छ । ४ सय व्यक्तिसँग यही विषयलाई लिएर अनलाइन अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धान मानिसहरू अन्य कुन वस्तुसँग आकर्षित हुन्छन् भन्ने विषयमा थियो । ४ सय व्यक्तिमध्ये आधाले उनीहरू खुट्टा र पैतालाप्रति आकर्षित भएको बताए । १० जनामध्ये एक जनाले शरीरको तरल पदार्थ जस्तै पिसाब, रजस्वलाको रगत वा स्तनबाट आउने दूधसँग भएको बताए । १० जनामध्ये एक जनाले शरीरको बनावटले आफूलाई प्रभावित तुल्याउने प्रतिक्रिया दिएका थिए । कतिपयले कम आकर्षण केश, पेट, दाँतसँग भएको बताए । एकतिहाइ व्यक्तिले उनीहरू जुत्ता वा बुटसँग आकर्षित हुने प्रतिक्रिया दिएका थिए । अर्को एकतिहाइले स्कर्ट वा मोजाले पनि आफूहरूलाई आकर्षित गर्ने विचार व्यक्त गरे । १ प्रतिशतले घडी, केशमा लगाउने क्लिप आदिले आकर्षित गर्ने प्रतिक्रिया दिए । बाँकीले भित्री वस्त्रले आफूलाई आकर्षित गर्ने कुरा बताए ।
यदि तपाईंको यो व्यवहारले तपार्इंकी श्रीमतीमा अप्ठ्यारो सिर्जना गरिरहेको छ भने यो विषयमा उहाँसँग कुरा गर्नु आवश्यक हुन्छ । तपाईंमा देखिएको यो व्यवहार समस्या हो कि होइन भन्ने कुरा उहाँले पनि प्रस्टसँग बुझ्न जरुरी हुन्छ । हाल देखिएको तपाईंहरूबीचको यौनइच्छा मात्र भिन्नतामा सीमित नरही सामाजिक समस्यासमेत सुरु हुनसक्छ र अन्तरालमा गएर आफैंलाई हानि हुन थाल्छ । विश्व स्वास्थ्य संगठनका अनुसार यसको उपचार सम्भव छ र त्यसका लागि विभिन्न किसिमको उपचार पद्धति अपनाउन सकिन्छ । मनोविद्को सहयोगमा साइकोथेरापी, कगनेटिभ विहेभिएर थेरापीले मद्दत गर्न सक्छ, जसमा विगतमा भएको भावनात्मक समस्यामा भन्दा पनि हाल देखिएको समस्यामा केन्द्रित रहेर उपचार गरिन्छ । यसमा औषधी उपचार पनि गराउन सकिन्छ, जसका लागि मनोचिकित्सककहाँ सम्पर्क गर्न सकिन्छ । यदि तपाईं आफैंले आफ्नो पार्टनरलाई बुझाउन गाह्रो हुन्छ भने सम्बन्धसम्बन्धी विशेषज्ञता हासिल गरेका मनोविद्को सहयोग लिन सक्नुहुन्छ, जसबाट एक–अर्काप्रति प्रस्ट हुन मद्दत मिल्छ ।