साप्ताहिक संवाददाता
कति पेट्रोलपम्प बन्द भैसके । भीडमभीड र ठेलमठेलका बीचमा पनि मोटरसाइकल र गाडी धनीले भनेजति पेट्रोल–डिजेल पाइरहेका छैनन् ।
यी सबै कुराबाट बेखबर छन्, खजुराखुर्दका सहाजद अली । नेपालगन्जबाट झन्डै ५ किलोमिटर पश्चिम घर भएका सहाजद रातभर रिक्साको ब्याट्री चार्ज गर्छन् । सबेरै घरबाट निस्कछन् र धम्बोझी चोकमा यात्रु कुर्छन् । उनको कुराइ लामो र झिँजोलाग्दो हुँदैन । ‘रिक्सा देख्नेबित्तिक्कै यात्रु कुदेर आउँछन्,’ अली भन्छन्, ‘भनेका ठाउँमा तुरुन्तै पुर्याइदिन्छु । चाँडै पुग्ने भएकाले यात्रुले ब्याट्रीवाला रिक्सा चढ्न थालेका छन् ।’
केही महिनाअघिसम्म रिक्साको पाइडल पेल्दापेल्दै उनी नेपालगन्जको गर्मीमा असिनपसिन हुन्थे । उबडखाबड सडकमा जोडले बल लगाएर ठेल्नुपर्ने त्यो रिक्सा छाडेर उनले ब्याट्रीवाला रिक्सा चलाउन थालेका हुन् । अहिले इन्जिन अन गर्नेबित्तिक्कै रिक्सा गुड्छ । उनको ज्यानले आराम पाएको छ । ब्याट्रीबाट चल्ने रिक्सा आएपछि उनको दैनिकी समेत फेरिएको छ । समय त बचत भयो नै, आम्दानीसमेत तेब्बर बढेपछि सहाजतमा बेग्लै खुसी छ ।
खुट्टाले पाइडल घुमाउनुपर्ने परम्परागत रिक्सा विस्थापित हुँदैछन् । तिनको ठाउँ ई–रिक्साले लिएको छ । पेट्रोल/डिजेल नचाहिने र बिजुली चार्ज गरे पुग्ने ई—रिक्सा हिजोआज संकटका साथी बन्दै गएका छन् । संयुक्त थरुहट मधेस संर्घष समितिको एकमहिने लामो बन्दमा यिनले राम्रो बजार लिए । आन्दोलनकारीले रिक्सा र साइकल चल्न दिएपछि स्वत: यात्रुको रोजाइमा परेका ई–रिक्सा अहिले सहरमा ब्रगेल्ती देखिन्छन् । ‘नेपालगन्जबाट रुपैडिहासम्म दैनिक ५ ट्रिप चलाउँछु,’ भवानीयापुरका एक छिमेकीको रिक्सा भाडामा चलाउँदै आएका बब्लु हासमी भन्छन्, ‘दैनिक ७ सय रुपैयाँ रिक्साधनीलाई तिर्दा पनि ४/५ सय रुपैयाँ बचत हुन्छ ।’ नेपालगन्ज–रुपैडिहा प्रतियात्रु ५० रुपैयाँ भाडा छ । भारतले ‘अघोषित नाकाबन्दी’ गरेर नेपाल छिर्ने पेट्रोलियम पदार्थमा नियन्त्रण कायम गर्न थालेपछि पेट्रोल/डिजेलको हाहाकार छ । यस्तोमा छोटो दूरीमा आउजाउ गर्न ई–रिक्सा राम्रो विकल्प हुन थालेको स्थानीय बासिन्दाहरू बताउँछन् ।
७ जनासम्म बस्न मिल्ने यस्ता रिक्सा नेपालगन्जमा भित्रिन थालेको पाँच महिनाजति मात्र भएको छ । नेपालगन्जस्थित नेपाल ट्रेड इन्टरनेसनल र सादाब एन्ड कम्पनीले चीनबाट भारत हुँदै रिक्सा मगाउन थालेको हो । नेपाल ट्रेडका प्रबन्धक सकिल अहमद खाँनले यी दुवै कम्पनीमार्फत झन्डै १ हजार रिक्सा बिक्री गरेको बताए । ‘प्रदूषणरहित छन् । समयको बचत त हुन्छ नै, आम्दानीसमेत राम्रो हुने भएकाले खरिद गर्नेहरू बढेका छन्,’ खाँनले भने ।