साप्ताहिक संवाददाता
धारिलो बन्चरो किन्ने, चुल्हो बनाउने, बिर्सिसकेको अग्निपाक कला अभ्यास गर्ने र सरकारी दाउराको समिधामा सरकारको दीघार्युको कामना गर्दै हवन गर्ने ।
विष्णु निष्ठुरी, पत्रकार
चाडपर्वको रौनकलाई ऊर्जामा परिणत गर्दै अब थाँती रहेका काम तथा नयाँ कामहरू जे–जति आउँछन्, ती सबैलाई मन, वचन र कर्मले उत्कृष्ट बनाउने प्रयासमा लाग्ने ।
अर्जुन पोखरेल, संगीतकार
दु:खम–सुखम चाडपर्व सकाइयो । अबको योजना इन्धनको आपूर्ति राम्रो भएपछि मात्र बनाउँछु ।
रोशन भट्टराई, गीतकार
परासी घरमा छठ मनाएर काठमाडौं फर्कंदैछु । काठमाडौं फर्किएपछि इन्धन अभावका कारण छायांकन नभैरहेका चलचित्रको छायांकन कहिलेदेखि हुन्छ बुझेर काम थाल्छु ।
प्रमोद अग्रहरि, अभिनेता
अहिले म मुम्बईमा छु । यहाँ त अभिनयमा मात्र ध्यान केन्द्रित छ । नेपालमा परिरहेको आपतको समाधान छिट्टै होस् भन्ने कामना दसैं–तिहारभरि गरिरहेँ, अहिले पनि
गरिरहेकै छु ।
सुनिल थापा, अभिनेता
संकटका बीच पनि मैले अभिनय गरेको परदेशीले सफलता पाएपछि चाडपर्व राम्रो भयो । यसपटक नेपालीहरूले जे–जसरी चाड मनाए, अब अर्को पटकको चाडपर्व चाहिँ हाँसीखुसीपूर्वक मनाउन पाइयोस् भनेर त्यसतर्फ अहिलेदेखि नै लाग्नुपर्छ ।
प्रशान्त तामाङ, गायक/नायक
समस्या र अभाव भए पनि आफ्नो दैनिक काममा लाग्नै पर्यो ।
शालु गौतम, गायिका
दसैंका बेला दुर्घटनाका कारण बेडमै चाडपर्व मनाइयो । अहिल बिस्तारै सञ्चो हुँदैछु । नयाँ चलचित्रमा काम गर्ने सोच छ । यसबीच आफूलाई चाहिने प्रशिक्षण पनि लिन्छु ।
आमेश भण्डारी, नायक
तिहारमा मेरो निर्देशनमा बनेको चलचित्र ‘लुटेरा’ले सफलता पायो । यसबाट उत्साह बढेको छ । अब देशको जल्दोबल्दो समस्यामा आधारित अर्को चलचित्र निर्देशन गर्ने तयारी गर्दैछु ।
दयाराम दाहाल, निर्देशक
अहिलेको विषम परिस्थितिलाई निकासतर्फ लान एवं सामाजिक सद्भाव खलबलिन नदिन के गर्न सकिन्छ भन्ने प्रयास गर्नु नै मेरो योजना र कार्यक्रममा पर्छन् ।
रञ्जित आचार्य, विज्ञापन व्यवसायी
अब नयाँ प्रोजेक्टमा व्यस्त हुन्छु । देशको परिस्थितिले टाउको दुखिसक्यो, केही समय फ्रेस हुन विदेश जाँदैछु ।
भिन्तुना जोशी, अभिनेत्री
चाडपर्वमा पहिलेको जस्तो उत्साह भएन । चाडपर्व सकिएपछि उही पुरानै दिनचर्या र दिक्कलाग्दो देशको अवस्था ।
निश्मा घिमिरे, नायिका
अभावका बेला नेपाल आइयो । यहाँको दु:ख प्रत्यक्ष भोगियो । लन्डनका मेरा साथीहरूले परिवार भेटेर खुसी भैरहेको छु भन्ने मानेका होलान्, म भने यता तेल, ग्याँस र दाउराको लाइनमा बसिरहेको छु । अब मेरो दोस्रो एल्बम आहान रिलिज गरेर मात्र फर्कने योजना छ ।
नृपेश उप्रेती, गीतकार
अभावै अभावले गर्दा यो बर्षको चाडपर्वमा धेरै पैसा खर्च भयो । चाडपर्व सकिएपछि अब बाँकी रहेका काम सकेर खर्चिएको रकमको भर्पाई गर्नु छ ।
किरण लाकौल, मोडल
सरकारको नालायकीपनका कारण यो वर्ष चाडपर्व निकै बोर भयो । यो अभाव र नाकाबन्दीबाट मुक्त नहुन्जेल कुनै योजना बनाउनु नै बेकार छ ।
विजय श्रेष्ठ, इभेन्ट व्यवस्थापक
म त सबैलाई समेटेर विशाल र्याली निकाल्ने सोचमा छु । आखिर यो दु:ख कतिन्जेल ?
अजय अधिकारी सुशील, गायक
चलचित्र रामप्यारीको पोष्ट प्रोडक्सनको काम भैरहेको छ अनि आफ्नै निर्माणमा चलचित्र ‘श्रृंगार’को काम थालेको छु । नाकाबन्दी हटेपछि छायांकन थाल्छु ।
सवीर श्रेष्ठ, निर्देशक
चाडपर्वमा दुईजनासँग तेल सापटी लिएर बाइक कुदाइयो । अब कतैबाट खोजेर सापटी तिर्नुछ अनि तिहारमा खाट काटेको दाउराले सेल रोटी पकाइयो । भुइँमा सुतिएको छ । यस्तोमा अब अरू के योजना बनाउनु र ?
विल्सनविक्रम राई, हास्यकलाकार