अनु शाह, नायिका
सकारात्मक विचार र शिक्षालाई नै मानिसको व्यक्तित्व मान्छिन्— नायिका अनु शाह । ब्रान्डेड पहिरन तथा एसेसरिजप्रति खासै रुचि नराख्ने शाह फेसन ट्रेन्डमा आधारित भएर पहिरनमा ध्यान दिनुपर्ने बताउँछिन् । कार्यक्रमअनुसार तथा अवस्था हेरेर पहिरन छनौट गर्ने शाहले पहिरन किन्ने कुनै खास गन्तव्य छैन । अनु आफूलाई मन परेको र सुहाउँदो पहिरन फुटपाथदेखि सपिङ मल जहाँ पनि किन्छिन् ।
सामान्य मेकअप गर्न रुचाउने शाह चर्चामा आउन थालेपछि मात्र मेकअप कन्सियस भएकी हुन् । आई मेकअप उनको प्राथमिकतामा पर्छ । अनुसँग गाजल, लिपिस्टिक, मस्कारा, क्रिमलगायत सबै फ्लोरेल ब्रान्डकै मेकअप सामग्री छन् । उनी केसको श्रृंगारमा पनि उत्तिकै ध्यान दिन्छिन् । लामो केश रुचाउने शाहले अहिले छोटो केशमा गोल्डेन ब्लन्ट हाइलाइट गरेकी छिन् ।
गहनाको हकमा सुनको गहना लगाउन नरुचाउने शाह घाँटीमा भने विभिन्न स्टाइलका माला तथा नेक्लेस प्रयोग गर्छिन् । कानमा इयररिङ नछुटाउने शाह भन्छिन्– म औंठी र घडी खासै लगाउदिनँ ।
रेबनको चस्मा उनलाई मन पर्ने एसेसरिज हो । शाहसँग डेलको ल्यापटप, सामसंगको ग्यालेक्सी ई–सेभेन मोबाइल फोन छ । नायिका शाह पहिरनसँग सुहाउँदो ह्याभी ब्याग बोक्छिन् । समय तथा कार्यक्रमको ढाँचा हेरेर जुत्ता छनौट गर्छिन् । अग्लो कद भएकै कारण शाहले अग्ला हिल लगाइरहनुपर्ने बाध्यता छैन ।
शाहका अनुसार आकर्षक व्यक्तित्वका लागि महँगा पहिरन, एसेसरिज वा ग्याजेट होइन, वैचारिक रूपमा बलियो हुनुपर्छ ।