साप्ताहिक संवाददाता
निरूपा गड्तौला टिन क्रिएटिभ, महाराजगन्ज
कामको चाप र भान्सामा खटिँदा हात–खुट्टा फोहोर हुने तथा चमक हराउने भएकाले पेडिक्योर र मेडिक्योर गर्नु आवश्यक हुन्छ । खुट्टाको सौन्दर्यका लागि पेडिक्योर र हातको सौन्दर्यका लागि मेडिक्योर आवश्यक मानिन्छन् । यही विषयमा ब्युटिसियन निरूपा गड्तौलासँग गरिएको कुराकानी :
पेडिक्योर के हो ?
खुट्टा तथा खुट्टाका कुर्कुचा र नङ सफा गर्ने विधिलाई पेडिक्योर भनिन्छ । यसबाट मृत कोष सफा भै खुट्टा सुन्दर देखिन्छ ।
पेडिक्योर कसरी गरिन्छ ?
१० मिनेटजति नुन, डिटोल र स्याम्पु राखिएको तातोपानीमा डुबाएर खुट्टा सफा गरी नङलाई सही आकार दिएर काट्नुपर्छ । त्यसपछि क्युटिकल लोसन लगाएर छालाका मृत कोषिकाहरूलाई हटाउनुपर्छ । फुटेका औंलाहरू स्क्रबले सफा गर्नुपर्छ ।
पेडिक्योर गरेपछि खुट्टामा कस्तो फरक आउँछ ?
खुट्टा सफा देखिन्छ, नङ पनि चिटिक्क परेका देखिन्छन् । यति मात्र नभै पेडिक्योरले खुट्टाका स्वास्थ्य समस्याको समेत उपचार गर्छ ।
पेडिक्योर कति समयमा गराउनु उपयुक्त हुन्छ ?
भ्याएसम्म महिनाको दुई पटक गनुपर्छ, नभ्याए एकपटकचाहिँ अनिवार्य गर्नुपर्छ । यसले नङमा हुने इन्फेक्सन र छालामा देखा पर्ने समस्याहरूको निराकरण गर्छ ।
पेडिक्योर कुन उमेर समूहका लागि उपयुक्त हुन्छ ?
सबै उमेर समूहकाले पेडिक्योर गराउन सक्छन् ।
पेडिक्योरले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ?
पेडिक्योर त्यस्तो विधि हो, जसले थकान र स्वास्थ्यमा देखा परेका समस्यालाई समेत निराकरण गर्न सहयोग गर्छ । रक्तसञ्चारका लागि पनि यो वैज्ञानिक विधि हो ।
पेडिक्योरले खुट्टा सुन्दर र सफा देखिनुका अतिरिक्त निद्रा नलाग्ने, थकान, मानसिक तनावजस्ता समस्या समाधानमा सहयोग गर्छ ।