साप्ताहिक संवाददाता
निर्देशक सोभित बस्नेतले निर्देशन गरेको २५ औं चलचित्र हो— ‘जाऊँ हिंड पोखरा’ । केही वर्षअघि संगीतकार शम्भुजित बास्कोटाले ‘जाऊँ हिंड पोखरा’ शीर्षक जुराएर चलचित्र निर्माण गर्ने घोषणा गरेका थिए । विभिन्न कारणले त्यतिबेला ‘जाऊँ हिंड पोखरा’ बन्न सकेन । पछि सोभित बस्नेतले बास्कोटासँग उक्त शीर्षक सापटी मागेर चलचित्र ‘जाऊँ हिंड पोखरा’ निर्माण गरे । दिनेश डिसीले निर्देशन गर्ने भनिएको उतिबेलाको ‘जाऊँ हिंड पोखरा’को स्क्रिप्ट अहिले पूरै परिवर्तन गरिएको निर्देशक बस्नेत बताउँछन् ।
धेरै पछि नायिका रेखा थापा र नायक जीवन लुइँटेलबीचको केमेस्ट्री हेर्न पाइने चलचित्र ‘जाऊँ हिंड पोखरा’मा पोखराको यात्रामा हिंडेका नायक–नायिका खलपात्रहरूको फन्दामा पर्छन् । नायक र नायिका उनीहरूसँग लड्दै र भाग्दै आपसमा प्रेम साटासाट गर्छन् । यो चलचित्रमा राजेन्द्र खड्गीको द्वन्द्व, ध्रुव लम्सालको पटकथा तथा गणेशकुमार श्रेष्ठको छायांकन छ भने यसका गीतमा शंकर बिसी, रामजी लामिछाने तथा सोभित बस्नेतको नृत्य निर्देशन हेर्न पाइन्छ ।
निर्देशक : सोभित बस्नेत
संगीतकार : अमृत श्रेष्ठ
कलाकार : जीवन लुइँटेल, रेखा थापा, सम्राट सापकोटा आदि ।
जाँऊ हिड पोखराको ट्रेलर