साप्ताहिक संवाददाता
शिव श्रेष्ठ उतिबेलाका ज्यान बनाएका नायकमा पर्छन् । उनले कालो गन्जीे लगाएर धेरै चलचित्रमा एक्सन देखाए । ‘एंग्री योङ्म्यान’को उपाधिसमेत पाएका नायक शिव श्रेष्ठको ‘धर्मेन्द्र शैली’
धेरैले रुचाउँथे । त्यतिबेला बन्ने नेपाल–पाकिस्तान ज्वाइन्ट भेञ्चर चलचित्रहरूमा शिव श्रेष्ठ धेरै पटक अर्धनग्न भए । नायक भुवन केसीले आफ्नो लगानीमा बनाएको पहिलो चलचित्र ‘सपना’मा शिव श्रेष्ठ मात्र अन्डरवेयरमा देखिएका थिए । चलचित्रको एउटा हास्य दृश्यमा उनी पाइन्ट खोलेर सेतो रंगको अन्डरवेयर मात्र देखिएका छन् । २५ वर्षअघि बनेको उक्त चलचित्रमा श्रेष्ठले दिएको उक्त ‘ग्ल्यामरस’ दृश्यभन्दा केही बढी अहिलेका चल्तीका नायक जीवन लुइँटेलले चलचित्र ‘सानो संसार’मा दिएका छन् ।
‘निर्देशकले भनेपछि निकै जोसमा आएँ । त्यो दृश्यलाई जीवन्त बनाउन मैले पाइन्ट र सर्ट उतार्नै पथ्र्यो । सर्टसम्म त ठिकै हुन्थ्यो होला । पाइन्ट नै उतारेपछि लाज–सरम पनि गायब हुँदो रहेछ । अनि क्यामेराम्यानले फरक–फरक एंगलबाट दृश्य खिच्न थाले, निर्देशक सिकाउँदै गए, म निर्धक्क भएर संवाद बोल्दै गएँ ।’ –अहिलेका चर्चित एवं व्यस्तमध्येका एक नायक जीवन लुइँटेलले संघर्षका बेला एक दशकअघि आलोक नेम्वाङको निर्देशनमा चलचित्र ‘सानो संसार’को एउटा दृश्यको छायांकन झल्झली सम्झिए । जीवन ‘सानो संसार’मा उक्त चलचित्रका नायक कर्मको साथीको भूमिकामा थिए । भिसेपको जेब्रा प्याटर्नको ब्रिफ अन्डरवेयर मात्र लगाएका लुइँटेल त्यसपछि कुनै पनि चलचित्रमा त्यति उदांगो भएका छैनन् । ‘ज्यान देखाउन मसल्स पनि त हुनुपर्यो ।’ उनी आफ्नो ज्यान देखाउने किसिमको नभएको बताउँछन् ।
आफ्नो वलिष्ठ शरीर देखाएर दर्शकलाई आकर्षित तुल्याउन नांगिनु सामान्य हो, त्यो पनि कसिलो मसल भएका ह्ष्ठपृष्ठ नायकहरूका लागि । हिन्दी चलचित्रमा दारा सिंह, सुनिल दत्त, धर्मेन्द्रका कसिला शरिर हुँदै अहिलेका सलमान खान, शाहरूख खान, अमिर खानका सिक्स प्याक र एट प्याकको प्रभाव नेपाली चलचित्रका नायकहरूमा पनि नपरेको होइन्, तर व्यस्तसँगै मस्त रहने अधिकांश नायक ज्यान बनाउने मामिलामा भने चुकेका छन् । द्वन्द्व निर्देशक समाजका अध्यक्ष तथा द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ भन्छन्– ‘नायकहरू सलमान खानले जस्तै ज्यान देखाउने चाहना राख्छन् । उनीहरूलाई थाहा पनि छ कि ज्यान बनाएर देखाए दर्शक सहजै आकर्षित हुन्छन्, तर उनीहरूसँग ज्यान बनाउन मेहनत गर्ने समय छैन । कसैको पेट फुत्त बाहिर निस्किएको छ त कसैको ज्यान र पाखुरा मसिनो छ । ज्यान बनाउने मामिलामा धेरैजसो नेपाली नायक अल्छी छन् ।’
ज्यान बनाएका हिरोहरू
नायक शिव श्रेष्ठ, राजेश हमाल, धिरेन शाक्य, दिनेश शर्मा, विराज भट्ट, रेश मरहट्ठा, गजित विष्ट जस्ता सीमित नायकले मात्र ज्यान बनाउने कार्यमा मेहनत गरेको पाइन्छ । उनीहरूलाई लिएर बनाइने चलचित्रको कथामा पनि त्यस्तै किसिमका फर्मुला हुन्थे । जस्तो :
फर्मुला नम्बर–१
नायिकालाई भिलेनले कब्जामा लिएको छ । नायक आउँछ, चर्को आवाजमा दुई–चारवटा संवाद बोल्छ । नायक आएपछि आफ्नो अभीष्ट पूरा नहुने भएपछि भिलेनले इसारा गर्छ, गुन्डाहरूले नायकलाई पिट्छन् । उसको सर्ट च्यातिन्छ र कुटाइ खाँदा–खाँदा रगताम्य भएर ढल्छ । भिलेन अट्टाहास छोड्दै हाँस्छ । नायिका नायकको नाम लिएर चिच्याउँछे । नायक उठ्छ, ऊ नांगो छ । ज्यान देखाएरै भिलेन र उसका गुण्डाहरूलाई सखाप पार्छ ।
फर्मुला नम्बर–२
नायिका नायकप्रति आशक्त हुन्छिन् र उनी नायकको नजिक जान्छिन्, उसको सर्टको बटम एकपछि अर्को गर्दै खोल्न थाल्छिन् । नायक पनि जोसमा आउँछ, अनि आफ्नो सर्ट निकाल्छ । कसिलो ज्यान देखाएर नायिकासँगै दर्शकहरूलाई पनि प्रभावित गर्न थाल्छ ।
यस्ता फिल्मी फर्मुला नेपाली चलचित्रका लागि आयातीत हो । यो फर्मुला हिन्दी चलचित्रका लागि धेरै पुरानो भैसकेको छ । धर्मेन्द्र, सुनिल दत्तजस्ता ६० को दशकका नायकले भित्र्याएको यो शैली अहिले पनि सलमान खान र त्यसभन्दा पछिका नायकहरूले सिको गरिरहेका छन् ।
नेपाली चलचित्रमा चाहिँ शिव श्रेष्ठ, विराज भट्ट, रमित ढुंगाना, सुशील क्षेत्रीहरूले एकाध चलचित्रमा यस्ता फर्मुलाहरू पछ्याए । अहिलेचाहिँ सविन श्रेष्ठ त्यही बाटोमा दौडिरहेका छन् । बीचमा निर्मल सेञ्चुरी, आकाश शाह, किशोर खतिवडा, आयुष रिजाल, रोहित रुम्बा, यशराज गराच, निरज बराल, सोहित मानन्धर, गजित विष्टजस्ता नायक पनि त्यही बाटोमा दौडिएका थिए, तर कसरती शरीर भएर मात्र नहुने रहेछ । उनीहरूमध्ये केहीमा प्रतिभाको कमी देखियो भने केहीले मसलदार शरीर भएर पनि पाउनुपर्ने जति चर्चा कमाउन सकेनन् ।
हालै प्रदर्शनमा आएको सफल चलचित्र ‘होस्टल रिटन्र्स’का नायक सुशील श्रेष्ठले चलचित्रको पोस्टरमै अर्धनग्न ज्यान देखाएका छन् । मसल्स देखाइएको उनको ज्यान र कलिलो मुहार युवतीहरूले रुचाउने आशा गरिएको थियो, तर चलचित्रमा सहकलाकारहरूभन्दा उनकै अभिनयमा कमी देखियो । यसैगरी लुटका हाकु काले सौगात मल्ल पनि छड्केमा पूर्ण नग्नझैं भए, तर उनको त्यो नग्नता कसैले रुचाएनन् । ज्यान कसिलो भए पनि सही ठाउँमा सदुपयोग हुनुपर्छ भन्ने पाठ सौगातले पनि सिके र अरूलाई
पनि सिकाए ।
सविनको कसिलो ज्यान
कुनै बेला टेलिफिल्म ‘कलेज’मा देखिएका मोडल सविन श्रेष्ठलाई छवि ओझाले चलचित्र ‘रावण’मा अवसर दिएपछि अहिले उनी आफ्नो कसिलो ज्यान देखाएरै व्यस्त एवं मस्त छन् । चलचित्र रावणको अन्तिम दृश्यमा नायिका रेखा थापालाई खलनायक कमलकृष्णको समूहले अपहरण गर्छ । नायक सविनलाई पनि उनका गुन्डाहरूले मरणासन्न हुने गरी चुट्छन् । उठेपछि उनको ज्यानमा सर्ट हुँदैन । मस्कुलर ज्यान देखाएर उनी रेलको इन्जिनअघि दौडँदै नायिकालाई कैद गरिएको जंगलमा पुग्छन् र ज्यान देखाउँदै नायिकालाई मुक्त गर्छ । ‘त्यसपछि मलाई हरेक चलचित्रमा कहीं न कहीं सर्ट खोल्न लगाइएकै छ । मेरो ज्यान छ र त देखाउँछु ।’ छायांकन भए पनि नभए पनि हरेक दिन बिहान ५ बजेदेखि सात बजेसम्म उनी व्यायामशाला पुगेर ज्यान बनाउँछन् । आफूलाई सलमान खान र आर्नोल्ड स्वेज्वागरको प्रसंशक बताउने सविनको जत्तिको मसल्स अहिलेका चल्तीका अरू नायकमा विरलै पाइन्छ ।
आर्यनको रोमान्टिक ज्यान
ज्यान नबनाए पनि रोमान्टिक छविका कारण चर्चामा आइरहेका व्यस्त नायक आर्यन सिग्देल भन्छन्– ‘ज्यान हुनेले देखाउने कुरा मैले किन देखाउने ? मसँग जे छ, त्यही देखाउँछु ।’ नायक आर्यन सिग्देल ज्यान देखाउने मामलामा आफू धेरै पछि रहेको बताउँछन् । ‘म सलमान खानको प्रशंसक हुँ, तर मलाई ऊजस्तो बन्नु छैन । मलाई मस्कुलर बडीभन्दा सामान्य फिटेड बडी नै ठीक लाग्छ र म सधैं यस्तै देखिन्छु ।’–आर्यन भन्छन् । यति भए पनि आर्यनले चलचित्र ‘फ्ल्यास ब्याक’को एउटा दृश्यमा आफूलाई अर्धनग्न देखाएका छन्, कम्मरमुनि टावल बेरिएको उक्त दृश्यमा उनी नायिका युना उप्रेतिलाई जिस्क्याइरहेका देखिन्छन् । ‘मलाई अर्धनग्न भएको एकाधबाहेक अरू चलचित्रमा पाउनुहुन्न’ भन्ने आर्यन आफ्नो फेसबुकमा भने पौडी खेल्दा नग्न भएको तस्बिर भने पोस्ट गरिरहन्छन् ।
राजेश हमाल नांगिएपछि
२४–२५ बर्षअघि राजेश हमाल चलचित्र क्षेत्रमा पदार्पण भएपछि उनको चर्चा चुलिएको थियो । त्यही बेला चलचित्र मासिक कामनामा पत्रकार विदुर गिरीले राजेश हमालको पूर्ण नग्न तस्बिर प्रकाशित गरेका थिए । राजेश हमालको उक्लँदो करियरमा उक्त तस्बिर एउटा काण्ड भएर आयो । राजेश हमालको नग्न तस्बिर काण्डले यति प्रचार पायो कि राजेश हमालले त्यसका बारेमा स्पष्टीकरण नै दिनुपर्यो । शरीरका विभिन्न भागमा फोकाजस्ता डल्ला आएपछि त्यसका बारेमा बुझ्न उनले अमेरिकामा रहेकी आफ्नी चिकित्सक दिदीलाई देखाउन नग्न तस्बिर खिचाएको बताए । उक्त तस्बिर कसरी पत्रकार गिरीको हात लाग्यो भन्ने कुरा चाहिँ अहिलेसम्म पनि रहस्यमै छ ।
राजेश हमाल त्यसपछि चलचित्र तथा फोटोसेसनहरूमा नग्न नभए पनि धेरै पटक अर्धनग्न भएका छन् । हमालले नायक हुनुभन्दा पहिलेदेखि नै सुरु गरेको व्यायामलाई निरन्तरता दिइरहेका छन् । अहिले पनि उनी घरमै व्यायाम गर्छन् ।
अन्डरवेयरमा सरोज खनाल
रंगमञ्चबाट आएका अभिनेता सरोज खनालले नेपाली चलचित्रको नायक भएर केही वर्ष चलचित्र क्षेत्रमा राज गरे । अमेरिका जानुअघि ०५३ सालमा उनी चलचित्र ‘चुनौती’मा देखा परेका थिए ।
‘चुनौती’मा उनी एउटा गीत भरी अन्डरवेयर मात्र लगाएर नाचेका छन् । ‘केटीहरू लजाउँछन्, लौन केटा
पो लजायो...’ बोलको उक्त गीतपछि पर्दामा आउने दृश्यको छायांकन पहिल्यै भैसकेको थियो । डोकोले आफ्नो लाज छोप्दै दौडिएको उक्त दृश्यमा उनले लगाएको निलो भिसेप ब्रिफ अन्डरवेयर लगाएका थिए । तादी नदीको किनारमा खिचिएको गीतको छायांकनअघि सरोज खनालले नृत्य निर्देशक कमल राईलाई पूरै गीतमा अन्डरवेयर लगाएर देखिँदा दर्शकले पचाउलान् त भन्ने प्रश्न पनि गरेका थिए । नृत्य निर्देशक राईले ‘नपचाए पनि यो अन्डरवेयर कन्टिन्युटीमा फसिसक्यो । अब त्यही लगाउन पर्छ’ भनेपछि सरोज खनाल गीत भरी नग्न देखिएका थिए ।
नंगापुंगा दोस्त
अमिर खान चलचित्र ‘पिके’को दृश्यमा मात्र होइन, पोस्टरमा समेत पुरानो रेडियोले आफ्नो लाज छोप्दै देखा परे । त्यसलाई ‘ग्ल्यामरस’ दृश्य भनियो । त्यही दृश्यका कारण दर्शकमा उक्त चलचित्रप्रति खुल्दुली बढ्यो र चलचित्र सुपरहिट भयो । पिकेमा उनी नांगो भएकाको गीत पनि बनाइएको थियो ‘नंगापुंगा दोस्त’ । रोमान्टिक, चकलेटी छवि बनाएका अमिर खानले त्यसअघि चलचित्र ‘गजनी’मा सिक्सप्याक देखिने गरी ज्यान बनाए र उक्त चलचित्र पनि सुपरहिट भएको थियो । कथामा चरित्रको मागअनुसार आफ्नो ज्यान बनाउने र घटाउने कलामा बलिउडका नायकहरू पोख्त छन् । रोमान्टिक तथा पारिवारिक चलचित्रका नायक शाहरूख खानले चलचित्र ‘ओम शान्ति ओम’मा आफ्नो सिक्स प्याक देखाएर सबैलाई चकित पारिदिए । उनले त्यसका लागि निकै कसरत गरेको बताए, तर चलचित्रमा स्पेसल इफेक्ट्स भित्रिएपछि जस्तोसुकै ‘भुँडे’ नायकहरूको शरीरमा सिक्स, एट प्याक बनाउन सकिने कुरा आएपछि शाहरूखको उक्त चलचित्रमा देखाइएको सिक्स प्याक भिजुअल इफेक्ट्स मात्र हो भन्ने कुरा पनि बाहिर आयो । मोटाघाटा नायक गोविन्दाले हालै चलचित्र ‘ह्याप्पी इन्डिङ’मा शरीरमा मेकअप आर्टिस्टबाट धर्का कोरेर भिएफएक्स अर्थात् भिजुअल स्पेशल इफेक्ट्सबाट सिक्स तथा एड प्याक बनाउन सकिने विधि नै देखाइदिए ।
सुकेको ज्यान, लुकेको प्रतिभा
नायक निखिल उप्रेती फेरि नेपाली चलचित्रमा छाएका छन् । दुब्ला नायकको सूचीमा पर्ने नायक उप्रेती एक्सन र स्टन्टको सवालमा अरू नायकभन्दा निकै अगाडि छन्, तर उनको ज्यान भने ‘मसलदार’ छैन । निखिल भन्छन्– ‘ज्यान धेरै कसिलो भयो भने स्टन्ट गर्न गाह्रो हुन्छ ।’ ज्यानै नदेखाएर पनि चलचित्रमा एक्सन नायक कहलिएका निखिलले धेरै अघि चलचित्र ‘कसलाई दिउँm यो
जोवन’को पोस्टरमा सहकलाकारहरूका साथ शीर्षकले आफ्नो नाम ढाकेको अवस्थामा देखिएका थिए । चलचित्र चलेन र निखिल नांगिएको चर्चा पनि खासै भएन । भर्खरै प्रदर्शित सफल चलचित्र ‘भैरव’मा प्रहरी वर्दीको टाँक खोलेर छाती र पेट देखाएका निखिलको कात्तिक २१ आउने चलचित्र ‘लुटेरा’को फस्टलुक पोस्टरमा पनि छाती र पेट देखाइएको छ । निखिल भन्छन्– ‘म ब्रुस ली र ज्याकी च्यानको प्रशंसक हुँ । उनीहरू पनि एक्सन र स्टन्ट गर्छन्, तर उनीहरू त्यस्तो मस्कुलर छैनन् ।’ चलचित्र हिरो हुँदैमा मस्कुलर हुनैपर्छ भन्ने छैन सुकेको ज्यानमा लुकेको प्रतिभा हुन्छ भनेझैं नायक निखिल आउनुभन्दा धेरै अघिका नायक भुवन केसीदेखि उनका अहिलेका ‘हटकेक हिरो’ सुपुत्र अनमोल केसीसम्म कसैले ज्यानलाई मस्कुलर बनाउने चासो नदेखाए पनि सफल भैरहेका छन् । रेशम फिलिलीका विनय श्रेष्ठ, मञ्जरीका गौरव पहारी, होस्टलका सलोन बस्नेत, सायदका संयम पुरी, लुटका दयाहाङ राईजस्ता नायक ज्यान नबनाए पनि चर्चामा छन् । ज्यान नबनाए पनि नाचेको भरमा रमेश उप्रेती र दिलिप रायमाझीहरूले एकताका एकछत्र राज गरेका थिए । अरू नायकहरूमा कर्म, सुरज चिलवाल, दिक्पाल कार्की, सुशान्त कार्की, नरेन खड्का, राजबल्लभ कोइराला, संजोग कोइराला, विमलेश अधिकारी आदिले पनि ज्यान बनाएका छैनन् ।