घोराहीका २४ वर्षीय मार्शल रोकाले सल्लाको खोटोबाट पेट्रोल बनाएर मोटरसाइकल चलाइरहेका छन् ।
यसअघि ३६ किसिमका उपकरण आविष्कार गरेर ‘युवा वैज्ञानिक’ का रूपमा परिचित रोकाले देशमा इन्धन संकट भैरहेको बेला खोटोबाट पेट्रोल उत्पादन गरेका हुन् । डेढ महिनादेखि खोटोबाट इन्धन बनाउने काममा लागेका रोकाले मोटरसाइकलमा प्रयोग गरेर यसको परीक्षण गरेका छन् । उनले आफ्नो मोटरसाइकलमा नियमित लामो समय प्रयोग गरेपछि अन्तमा २५ वटा मोटरसाइकलमा पेट्रोल राखेर घोराही बजार परिक्रमा गराई सार्वजनिक रूपमा त्यसको परीक्षण सम्पन्न
गरेका छन् ।
सल्लाको खोटोलाई तताएर वाफबाट तरल पदार्थ निकाली त्यसमा केही रसायन मिसाएर इन्धन तयार पारिएको रोकाले बताए । वाष्पीकरणबाट आएको तरल पदार्थमा १२ प्रकारका रसायन मिसाइएको उनले जानकारी दिए । वाष्पीकरणका क्रममा विभिन्न तहमा फरक–फरक रंगको तरल पदार्थ आउँछ । सुरुमा गाढा रातो र पछि पानीजस्तै झोल आउने उनले बताए । ‘८० प्रतिशत खोटो र २० प्रतिशत रसायनको मिश्रणबाट पेट्रोल तयार हुन्छ,’ उनले भने, ‘यसले अहिले प्रयोग भैरहेको पेट्रोलभन्दा १५ प्रतिशत बढी माइलेज दिन्छ ।’
गणपति रेजिन एन्ड टर्पेन्टाइन इन्डस्ट्रिजबाट खोटो सहयोग मागेर रोकाले यो इन्धन उत्पादन थालेका हुन् । दुई लिटर खोटोबाट एक लिटर पेट्रोल निस्कने रोकाले बताए । ‘४८ रुपैयाँमा एक लिटर पेट्रोल तयार हुन्छ । यसलाई बजारमा ७० रुपैयाँसम्ममा बिक्री गर्न सकिन्छ,’ उनले भने, ‘व्यवसायिक रूपमा ठूलो मात्रामा उत्पादन गर्ने हो भने त्योभन्दा सस्तो हुन सक्छ ।’
खोटो जलाउँदा बचेको सामान पनि आगो बाल्न तथा साबुन, पेन्ट आदि बनाउन उपयोग हुने भएकाले खोटो खेर नजाने रोकाको दाबी छ । परीक्षणको अनुरोध गर्दै उनले दुई लिटर तेल प्रधानमन्त्री कार्यालयमा समेत बुझाएका छन् । प्रधानमन्त्रीलाई भेटेरै आफ्नो उत्पादनका सम्बन्धमा विस्तृत जानकारी दिने उद्देश्यले बुवा बलरामसँग काठमाडांै गएका रोका प्रधानमन्त्रीसँग भेट गर्न नपाएपछि पेट्रोल छोडेर त्यसै फर्किएका थिए । खोटोबाट उत्पादित इन्धन किन्न मानिसहरू आए पनि वैज्ञानिक परीक्षण नगरी बेच्न नसकिएको रोकाले बताए ।