साप्ताहिक संवाददाता
अचेल सामाजिक सञ्जाल फेसबुक एवं माइक्रोब्लगिङ साइट ट्विटर भारतको नाकाबन्दी तथा मधेस आन्दोलनका विषयवस्तुले भरिएका छन् । कतै विरोध र आक्रोस, कतै विचार र वादविवाद, कतै कार्टुन र व्यंग्य त कतै सुझाव र दबाब । त्यसो त कतिपय अभियन्ताले भने सामाजिक सञ्जालमा मात्र नभएर यसको माध्यमबाट जनसहभागिता बढाएर धर्ना, प्रदर्शनजस्ता दबाबमूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएका छन् ।
‘सरकार र दल सुते, अब हामी जागौं’ भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गत सोमवार राजधानीमा एक बृहत् दबाबमूलक कार्यक्रम सम्पन्न गरे । मधेस आन्दोलन सय दिन पुगेको अवसर पारेर सरकार र मधेसी मोर्चालाई घचघच्याउने उद्देश्यका साथ स्वस्फूर्त रूपमा युवायुवतीहरू कार्यक्रममा सरिक भए । सयांैको संख्यामा उपस्थित उनीहरूले मुलुक चरम संकटतर्फ गएको भन्दै तत्काल समाधान खोज्न सरकारसमक्ष आग्रह गरे । कार्यक्रममा सहभागी हुन फेसबुक र ट्विटरका माध्यमबाटै अपिल गरिएको थियो । ‘देशका लागि समय घर्किएपछि जाग्नुभन्दा एक–दुई घण्टा छिटो जागौं, आफू मात्र होइन अरूलाई पनि जगाऊँ ।’ कार्यक्रमका एक अभियन्ता लेनिन बन्जाडेले फेसबुकमा लेखेका छन् । यो कार्यक्रमलाई #100daysofsuffering का रूपमा प्रचार गरिएको थियो ।
भारतको अघोषित नाकाबन्दीको दुई महिना बितिसकेको छ । यसबीच सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न किसिमबाट दबाब दिइरहेका छन् । #BackOffIndia ट्रेन्डबाट यो दबाब सुरु भएको थियो । जुन विश्वव्यापी ट्रेन्डिङको तेस्रो स्थानमा पुगेको थियो । नेपालीहरूको यो अभियानमा पाकिस्तानीहरूले समेत समर्थन जनाएपछि पाकिस्तानमा पहिलो नम्बरमा पुगेको थियो । यो अभियानले भारतीय मिडियाहरूमा समेत निकै चर्चा पायो ।
लगत्तै भारतीय दूतावासले सरकारसँग तेल मागेपछि व्यंग्यस्वरुरूप #DonateOilToIndianEmbassy ट्रेन्ड चल्यो । यो ट्रेण्ड दुई घण्टाको अवधिमा यतिधेरै हिट भयो कि यसको अभियन्ताहरूले सोचेभन्दा निकै बढी चर्चा भयो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरू बोतलमा तेल लिएर भारतीय दूतावासलाई बुझाउन गए । यो ट्रेन्ड पनि विश्वव्यापी ट्रेन्डिङमा टपटेनमा पुगेको थियो । त्यसो त दैनिक फेसबुक र ट्विटरमा नाकाबन्दीविरुद्ध विभिन्न खालका ह्यासट्यागहरू प्रयोग हुँदै आएका छन् ।
नेपालीहरूले मात्र होइन, पाकिस्तानका ट्विटर प्रयोगकर्ताहरूले समेत नेपालका लागि विभिन्न ह्यास्ट्याग ट्रेन्ड चलाएका छन् । पाकिस्तानीहरूले चलाएको #NepalChokedByIndia ट्रेन्डमा नेपाली ट्विटर प्रयोगकर्ताहरूले साथ दिएपछि यो पनि विश्वव्यापी ट्रेन्डिङमा पर्न सफल भयो, जुन पाकिस्तानमा पहिलो स्थानमा पुगेको थियो ।
त्यस्तै नाकाबन्दीका कारण अत्यावश्यक औषधिको अभावमा जटिल शल्यक्रियाहरूसमेत रोकिएपछि #supplymedicinefornepal ट्रेण्ड चल्यो । यसले पनि थुप्रै विदेशी सञ्चारमाध्यमसामु नेपालको नाजुक अवस्थाका बारेमा चित्रण भयो । यसबीच भारतीय नागरिकहरूले पनि आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध ट्रेन्ड चलाए । उनीहरू #modihimalayanblunder भन्दै अभियान चलाएका थिए, जसले भारतीय मिडियामा राम्रै चर्चा पायो ।
यसका साथै फेसबुक तथा ट्विटर प्रयोगकर्ताहरूको सक्रियतामा विभिन्न खालका दबाबमूलक अभियानहरू सञ्चालन भैरहेका छन् । हामी नेपाली, एमआरआर, विवेकशीलजस्ता फेसबुक ग्रुपका सदस्यहरूले निरन्तर खबरदारी गरिरहेका छन् । उनीहरूले ‘जाग कुम्भकर्ण’, ‘समाधान देउ, नत्र राजीनामा देऊ’ आदि धर्ना तथा प्रदर्शनका कार्यक्रमहरू आयोजना गर्दै आएका छन् ।