रजनी केसी, नायिका
कतिवटा चलचित्रमा काम गर्नुभयो ?
लोफर, परदेशी र ब्रासलेट गरेर तीनवटा पुग्यो ।
पहिलो चलचित्रमै छवि ओझाको कहलिएको ब्यानरमा काम गरे पनि तपाईचाहिँ किन धेरै व्यस्त नभएको ?
लोफर आएको केही समयमै मैले परदेशीमा काम गरें, तर केही कारणले गर्दा उक्त चलचित्र प्रदर्शनमा आउन ढिला भयो ।
लोफरमा तपाईंको काम देखिसकेका छन् त ?
लोफर मेरो पहिलो चलचित्र थियो । लोफरले मलाई परिचय दियो, काम देखाउने मौका परदेशीले ।
पर्दामा कस्तो भूमिकामा देखिन चाहनुहुन्छ ?
लोफरमा सहरी युवतीको भूमिकामा थिएँ । परदेशीमा गाउँले युवतीको भूमिकामा छु भने ब्रासलेटमा गृहिणी भएकी छु । यसैगरी हरेक चलचित्रमा समाजका विभिन्न क्षेत्रका नारीको प्रतिनिधित्व हुने किसिमको भूमिका निर्वाह गर्न पाइयोस् भन्ने चाहन्छु ।
तपाईंले काम गरेका तीन नायक आर्यन सिग्देल, प्रशान्त तामाङ र रमेश उप्रेतीलाई क्रमबद्ध रूपमा राख्दा कसरी राख्नुहुन्छ ?
पहिलो रमेश उप्रेती, अनि प्रशान्त तामाङ र आर्यन सिग्देल ।
अब कुन नायकसँग अनस्क्रिन केमेस्ट्री बनाउन मन छ ?
राजेश हमालसँग ।
राजेश हमाल पहिलो चलचित्रको नायक हुँदा तपाईं जन्मिनुभएको थियो त ?
थिइनँ होला ।
त्यसो भने हमालकी नायिका हुँदा सुहाउँछ ?
उहाँले आफूलाई मेन्टेन गरेकाले बूढो देखिनु हुन्न, त्यसैले मसँग नायक हुन सुहाउँछ जस्तो लाग्छ ।
राजेश हमालकी नायिका नै किन हुनुपर्यो ? बहिनी वा छोरीको भूमिका पनि त गर्न सकिन्छ नि ?
मलाई उहाँकी नायिका नै बन्ने इच्छा छ ।
चलचित्रमा काम गरेर जीवन चल्छ ?
सरल जीवन जिउन जानियो भने चल्छ ।
कसैसँग प्रेममा पर्नुभएको छ ?
यो कुरालाई रहस्यमै राखूँ ।
मतलब कोही छ ?
कोही छ कि छैन ? तपाईं आफैं पत्ता लगाउनु न ।
त्यसो भए प्रेमीसँगै विवाह गर्ने सोचमा हुनुहुन्छ ?
विवाह कोसँग हुन्छ भन्ने कुरा भाग्य बताउनेछ । प्रेम पनि विचार गरेर मात्र गरिन्छ, किनभने त्यो लङलास्टिङ हुनुपर्छ ।