साप्ताहिक संवाददाता
मधेसमा बलेको आन्दोलनको आगो सय दिन बितिसक्दा पनि निभ्ने संकेत देखिएको छैन । यससँगै भारतको अघोषित नाकाबन्दीका कारण नेपालीहरूको दैनिकी अझ कष्टकर बन्दै गएको छ । पछिल्लो समय भारतीय नेतृत्व एवं सञ्चारमाध्यमहरूले नेपालप्रति व्यक्त गरेका धारणाका कारण नेपालीहरूमा भारतप्रति तीव्र आक्रोश उत्पन्न हुन थालेको छ । स्वदेशमा मात्र होइन कामको सिलसिलामा विश्वका कुना–कन्दरामा रहेका नेपालीहरूले पनि भारतविरुद्ध विरोध प्रदर्शन गरिरहेका छन् ।
प्रवासी नेपालीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी कार्यक्रममा विरोध गर्नेदेखि भारतीय दूतावासमा धर्ना र ज्ञापनपत्र बुझाउनेसम्मका काम गरेका छन् । गैरआवासीय नेपाली संघले नाकाबन्दीको विरोधमा विश्वका ७१ वटा राष्ट्रिय समन्वय परिषद्मार्फत भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने भएको छ । प्रारम्भिक चरणमा अमेरिका, बेलायत, अस्ट्रेलिया, रूस, जर्मनी, हङकङ आदिमा ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।
अस्ट्रेलियामा प्रदर्शन
एनआरएनले अस्ट्रेलियाका मुख्य पाँच सहरमा विरोध प्रदर्शन गरेको छ । भारतको अमानवीय हस्तक्षेपको विरोधमा नेपालीहरूले सिड्नी, ब्रिसवेन, मेलवर्न, डार्बिन र एडिलेडमा प्रदर्शन गरेका हुन् । सयौंको संख्यामा रहेका प्रवासी नेपालीले प्लेकार्ड र नारासहित उक्त प्रदर्शन सम्पन्न गरेका थिए ।
प्रदर्शनकारीहरूले नेपालमाथिको नाकाबन्दी तत्काल हटाउन माग गरेका थिए । सिड्नीको प्रदर्शनीमा मात्र ५ सयभन्दा बढी नेपाली सहभागी थिए । उनीहरूले स्थानीय मार्टिनप्लेसमा करिब डेड घन्टा धर्ना दिए । एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले नाकाबन्दी नहटे अझ चर्काे विरोध कार्यक्रम गर्ने तयारी भैरहेको बताएका छन् । नाकाबन्दीविरुद्ध दबाब सिर्जना गर्न अस्ट्रेलियन सरकारको विदेश मन्त्रालय तथा त्यहाँका विभिन्न राजनीतिक पार्टीको ध्यानाकर्षण गर्ने तयारीसमेत भैरहेको छ । त्यस्तै संयुक्त राष्ट्रसंघको नियोग, एमनेस्टी, रेडक्रस आदि अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई पनि ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ ।
डेनमार्कमा प्रदर्शन
गत साता डेनमार्कस्थित भारतीय दूतावासमा उपस्थित नेपालीहरूले भारत सरकारलाई खबरदारी गरे । उनीहरूले अन्तर्राष्ट्रिय नीति तथा मानवीयताको ख्याल गर्न आग्रह गर्दै भारतीय दूतावासमा प्रदर्शन गरेका हुन् । दूतावाससँग समय लिएर गएका उनीहरूले ज्ञापनपत्र भने बुझाउन पाएनन् । एनआरएन डेनमार्कका अध्यक्ष दीपेन्द्र चूडालका अनुसार समय दिएर पनि भारतीय दूतावासले ज्ञापन पत्र नबुझेकाले आन्दोलनलाई अझ बृहत् बनाउने तयारी भैरहेको छ । उनीहरूले भारतीय दूतावासमा डेढ घन्टा नाराजुलुस गरेका थिए ।
मोदीको बाटो नै फेरियो
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका क्रममा नेपालीहरूले बृहत् प्रदर्शन गरे, जसले विश्वभरका मिडियामा चर्चा पायो । मोदी आउने बाटोमै प्रदर्शन गरेपछि बेलायती अधिकारीहरूले उनलाई अर्कै बाटोबाट प्रधानमन्त्री निवास लगे । बेलायती संसद् जाँदा भने नेपालीहरूले पिछा गरेरै मोदीविरुद्ध नारा लगाए । प्रदर्शनकै कारण लण्डनको मुख्य सडक पनि बन्द गरिएको थियो ।
प्रदर्शनमा नेपालीहरू मात्र होइन भारतीयहरूसमेत सहभागी थिए । त्यस क्रममा भारतका सिख तथा एननिक माइनरिटीका व्यक्तिहरू मोदीविरुद्ध आक्रोशित देखिए । उनीहरूले ब्याकअफ इन्डिया र फ्रिडम अफ ट्रन्जिटको नारा घन्काएका थिए । फेसबुक ट्विटरमार्फत आग्रह गरिएको भए पनि कार्यक्रममा व्यापक सहभागिता थियो । मोदीविरुद्ध अनपेक्षित प्रदर्शन भएपछि भारतीय प्रधानमन्त्री कार्यालयले बेलायती प्रतिनिधिसँग प्रतिवेदन मागेका थिए । परिणामत: बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन र मोदीको संयुक्त वक्तव्यमा नेपालको विषयले प्रवेश पायो । नेपालमाथि भारतीय नाकाबन्दीको विषय बेलायतको माथिल्लो सदनमा समेत पुगेको छ ।
त्यस्तै एनआरएन युकेले लण्डनस्थित इन्डियन हाई कमिसनमा ज्ञापन पत्र बुझाएको छ । अध्यक्ष मुच्छेत्र गुरुङको संयोजकत्वमा विभिन्न पदाधिकारीहरू सहभागी टोलीले उक्त ज्ञापनपत्र बुझाएको हो । पत्रमा नेपालमा मानवीय संकट उत्पन्न हुन लागेको भन्दै नाकाबन्दी तत्काल हटाउन माग गरिएको छ ।
अमेरिकामा बृहत् प्रदर्शन
अमेरिकामा रहेका नेपालीहरूले भारतीय नाकाबन्दीविरुद्ध बृहत् प्रदर्शन गरेका छन् । भूपरिवेष्टित राष्ट्रमाथि अन्तर्राष्ट्रिय सन्धि–सम्झौताविपरीत नाकाबन्दी गरेको भन्दै नाकाबन्दी तत्काल हटाउन माग गर्दै विभिन्न ठाउँमा प्रदर्शन गरिएको हो ।
नेपालीहरूले भारतीय नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउ पुर्याउने उद्देश्यले ह्वाइट हाउसमा प्रदर्शन गरिएको बताएका छन् । करिब ३ घण्टा लामो प्रदर्शनमा भर्जिनिया, मेरिल्यान्ड, न्यूजर्सी, पेन्सिलभेनिया, न्यूयोर्क, म्यासाचुकेट्नस, जर्जिया, क्यालिफोर्निया, टेक्सास, फ्लोरिडा, नर्थ क्यारोलिना आदि राज्यका नेपालीहरू सहभागी थिए । यसलाई अमेरिकामा नेपालीहरूको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शन मानिएको छ ।
नर्वेमा नाराबाजी
भारतीय नाकाबन्दीको विरोधमा नर्वेमा रहेका प्रवासी नेपालीहरूले पनि नाराबाजीसहित प्रदर्शन गरेका छन् । विभिन्न नेपाली संघसंस्थाको पहलमा नर्वेजियन पार्लियामेन्ट हाउस अगाडि उक्त प्रदर्शन गरिएको हो । विरोध कार्यक्रममा करिब ५ सय जना नेपालीको सहभागिता थियो ।
एनआरएनको सहयोग
नाकाबन्दीका कारण अत्यावश्यक औषधिको अभाव देखिएपछि एनआरएनले १० करोड मूल्य बराबरको अत्यावश्यक औषधि सहयोग गर्ने भएको छ । एनआरएन आईसीसीको बैठकले उक्त निर्णय गरेको हो । यसका लागि एनआरएन अध्यक्ष शेष घलेले ५० लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । त्यस्तै जमुना गुरुङले ५० लाख, भवन भट्टले २० लाख, कुमार पन्तले १० लाख, एसी शेर्पाले ५ लाख, सोनाम लामाले ५ लाख, कुल आचार्यले ५ लाख, डा. बद्री केसीले १ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । एनआरएनको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले तत्काल सहयोग संकलन गर्न राष्ट्रिय परिषद्हरूलाई निर्देशन दिएको छ, जसअनुसार एनआरएन युकेले २० लाख रुपैयाँ बराबरको औषधि सहयोग गर्ने योजना बनाएको छ ।
जर्मनहरूको पनि साथ
जर्मनीमा नेपालीहरूले गरेको प्रदर्शनमा जर्मन नागरिकले समेत साथ दिएका थिए । उनीहरूले बर्लिनस्थित भारतीय राजदूतावास नजिक प्रदर्शन गरेका हुन् । एनआरएन जर्मनीको संयोजनमा सञ्चालित प्रदर्शनमा सयभन्दा बढी नेपाली सहभागी थिए । प्रदर्शनपछि भारतीय दूतावासलाई ज्ञापनपत्र बुझाइएको थियो । उनीहरूले ‘नेभर हेल्प नट हर्ट’, ‘मोदी इन अगेनिस्ट अफ ह्युमन राइट्स’, ‘स्टप इलेगल बल्केज इन नेपाल’ आदि नारा लगाएका थिए ।
अन्तर्राष्ट्रिय चासो
भारतको अघोषित नाकाबन्दीका विषयमा अन्तराष्ट्रिय समुदायले पनि चासो व्यक्त गरेको छ । यस अवधिमा छिमेकी मुलुकहरूदेखि संयुक्त राष्ट्रसंघले समेत अवरोध हटाउन सुझाव दिएका छन् । सरकारले डेढ महिनाअघि नै नेपालमा कार्यरत करिब ३ दर्जन विदेशी संस्थाका प्रतिनिधिहरूलाई नाकाबन्दीका बारेमा ‘ब्रिफिङ’ गरेको थियो । हाल नेपालमा दुई पक्षीय तथा बहुपक्षीय गरी करिब ४१ अन्तर्राष्ट्रिय संघ–संस्था कार्यरत छन् ।
नेपालमा मानव अधिकार संकटमा पर्न थालेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले पनि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ । सीमानाकामा अवरोधका कारण न्यूनतम आवश्यकताका सामग्रीसमेत अभाव हुन थालेको र त्यसले मानव अधिकार संकटमा परेको भन्दै समाधानका लागि पहल गर्न आयोगले अपिल गरेको हो ।
संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले पनि नेपाली सीमामा भैरहेको अवरोध हटाउन आग्रह गरेका छन् । ‘स्वतन्त्र पारवहन नेपालको अधिकार हो, औषधि जस्तो अत्यावश्यक वस्तुको आयातमा भएको अवरोधले उपचारमा समेत समस्या आएको प्रति महासचिव बान चिन्तित हुनुहुन्छ ।’ महासचिव मुनका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ । मुनले यसअघि नेपालका पूर्वप्रधानमन्त्री सुशील कोइरालासँगको भेटमा पनि सीमानाका अवरोधले आफूलाई दु:खी तुल्याएको बताएका थिए । मुनले नेपालको पछिल्लो अवस्थाका बारेमा राष्ट्रसंघले ‘फलोअप’ गरिरहेको समेत बताएका छन् ।
त्यस्तै सार्क मुलुक बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपाली राजदूत हरिकुमार श्रेष्ठसँगको भेटमा नेपाललाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताएकी छिन् । उनले नेपाललाई खाद्यान्न तथा औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । यसअघि पनि बंगलादेशका आपूर्ति मन्त्री अहमदले नेपालमाथिको नाकाबन्दीलाई सार्कको एजेन्डा बनाएर समाधान गर्नुपर्ने बताएका थिए । पाकिस्तानका राजदूत अर्सद सउद खोसाले पनि पाकिस्तान सदैव नेपालको साथमा रहेको बताएका थिए । उनले सभामुख ओनसरी घर्तीलाई भेटेर आवश्यकताअनुसार जुनसुकै सहयोग गर्न तत्पर रहेको बताएका हुन् । अर्सदले अहिलेको समस्यालाई नेपालका अधिकारीहरूले नाकाबन्दी भन्न नसकेकोमा गुनासोसमेत गरे ।
नेपालविरुद्धको नाकाबन्दीका बारेमा भारतमा पनि विशेष बहस र छलफल भैरहेको छ । यसलाई मोदीको असफल विदेश नीतिका रूपमा समेत लिन थालिएको छ । गत साताको लोकसभामा नेपाल विशेष परामर्श बैठकसमेत बस्यो । विदेशमन्त्री सुष्मा स्वराजको अध्यक्षतामा बसेको बैठकमा नेपालमा आएको समस्या समाधानका लागि पहल गर्न विशेष छलफल भएको थियो ।
उक्त अवसरमा भारतीय कांग्रेसका डा. करन सिंह र शशि थरुर, भाजपाका शत्रुधन सिन्हा, कम्युनिस्ट पार्टीका डी. राज, कांग्रेस राष्ट्रवादीका डिपी त्रिपाठी, भारतीय कम्युनिस्ट पार्टीका सीताराम यचुरी, संयुक्त जनता दलका केसी त्यागी आदिले मन्तव्य व्यक्त गरेका थिए ।
अन्तर्राष्ट्रिय सहयोग
नेपालमा औषधि अभाव सिर्जना भएको जानकारीमा आएपछि अमेरिकी गैरसरकारी संस्था डाइरेक्ट रिलिफले अत्यावश्यक औषधि सहयोग गर्न लागेको छ । भूकम्पका बेला सबैभन्दा बढी औषधि सहयोग गरेको यो संस्थाले अहिले पनि तत्काल सहयोग जुटाउने बताएको स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति महाशाखाले जनाएको छ । संस्थाले लाइफ सेभिङ तथा इमरजेन्सी औषधि तथा औजार सहयोग गर्ने जनाएको छ ।