साप्ताहिक संवाददाता
काठमाडौं उपत्यकामा सञ्चालित साझा बसमा अब स्मार्ट ट्राभल कार्डको प्रयोग गर्न सकिन्छ । साझाले नेपालमै पहिलो पटक यात्रुहरूलाई लक्षित गर्दै स्मार्ट कार्डको थालनी गरेको छ ।
नेपाल बैंकको सहकार्य एवं भारतीय कम्पनी नुस्पेको प्राविधिक सहयोगमा यो कार्डको थालनी भएको हो । नयाँ बसपार्क–नारायणगोपालचोक–लगनखेल रुटमा चल्ने बा १ ख २२१७ नम्बरको बसबाट थालनी गरिएको यो परीक्षणको केही समयमै साझाका सबै बसमा यो प्रविधि प्रयोग हुनेछ ।
यो स्मार्ट कार्डको मूल्य २ सय रुपैयाँ तोकिएको छ । यसमा ५० रुपैयाँ ब्यालेन्स हुन्छ । यसका लागि उपभोक्ताले कुनै बैंकिङ खाता खोल्नु पर्दैन । रकम सकिएपछि मोबाइलमा ब्यालेन्स हालेजस्तैगरी कार्डमा रकम थप्न सकिनेछ ।
यदि बीचमा कार्ड हराए त्यति नै रकम खर्चिएर नयाँ कार्ड बनाउनुपर्छ । हराएको कार्ड भने अरू जो–कोहीले प्रयोग गर्न सक्छन् । साझा बसमा चढ्दा पछाडिको ढोकामा राखिएको डिभाइसमा कार्ड देखाउने र झर्दा अगाडिको ढोकानजिकको डिभाइसमा कार्ड देखाएपछि यात्रा गरेको दुरीअनुरूपको भाडा कार्डमार्फत काटिन्छ ।