पूर्वाञ्चल भलिबल सङ्घको आयोजनामा इटहरीमा सञ्चालित तीन दिवसीय बीच भलिबल प्रतियोगिताको पुरुषतर्फको खेलमा सशस्त्र प्रहरीको विभागीय टिमले उपाधि कब्जा गरेको छ । सशस्त्र प्रहरीको टिमले नेपाल आर्मीको टिमलाई सोझो सेटमा परािजत गरेर उपाधि हात पारेको हो ।
प्रतियोगितामा सशस्त्र प्रहरीका खेलाडी महेन्द्र श्रेष्ठ र सुरेश चौधरीको टिमले आर्मीका महेन्द्र श्रेष्ठ र हरिहर कार्कीको टिमलाई २१–१०, २१–१७ को सोझो सेटमा पराजित गरेको थियो ।
पुरुषतर्फको खेलमा पश्चिमाञ्चलका रमेश केसी र भूपेन्द्र गुरुङ तेस्रो तथा नेपाल आर्मीका विभागीय टिम ज्ञानेन्द्र अधिकारी र भरत गुरुङ चौथो भए । यसैगरी महिलातर्फको खेलमा पनि सशस्त्र प्रहरीको विभागीय टिमका सरस्वती चौधरी र नेविका चौधरीको टिमले उपाधि रक्षा गरेको छ । उक्त खेलमा सशस्त्र प्रहरीकै विनिता बुढाथोकी र रेश्मा भण्डारी उपविजेता भए ।
महिलातर्फको खेलमा नेपाल आर्मीका नीमा र रत्न गुरुङको टिम तेस्रो तथा पश्चिमाञ्चल टिमको मञ्जु गुरुङ र अरुणा शाहीको टिम चौथो भए । प्रतियोगितामा पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रसहित नेपाल आर्मी र सशस्त्रको टिमले सहभागिता जनाएका थिए, जसमध्ये पुरुषतर्फका १० टिम तथा महिलातर्फका ७ टिम थिए ।