साप्ताहिक संवाददाता
अभिनेत्री पूजना प्रधान यतिबेला विपनामा मात्र होइन, सपनामा पनि चकलेट नै देख्न थालेकी छिन् । नदेखून् पनि किन ? उनले पहिलो पटक निर्माण गरेको चलचित्र ‘चकलेट’ को प्रदर्शन मिति जो नजिकिँदै छ ।
मंसिर १८ गतेदेखि प्रदर्शन हुने यो चलचित्रको प्रमोसनका लागि पूजनाले दर्जनौं प्रकारका चकलेटको संगत गरिसकेकी छिन् । उनको फेसबुक पोस्टमा समेत चकलेटमात्र देख्न पाइन्छ । वास्तविक जीवनमा पनि उनको ब्यागमा चकलेटमात्र भेटिन्छ ।
‘चकलेटको सफल प्रदर्शन नहुञ्जेल मेरो दिन–रात चकलेटकै वरिपरी बित्ने निश्चित छ, पूजना भन्छिन्- ‘मैले निर्माण गरेको चकलेट केवल मनोरञ्जनका लागि मात्र होइन, यो चलचित्रको व्यवसायबाट म समाजसेवा समेत गर्दैछु ।’ पूजनाका अनुसार चलचित्रबाट संकलित रकमबाट उनले काठमाडौंमा एउटा विद्यालय भवन समेत बनाउने छिन् जहाँ ५० जना अनाथ बालबालिकाले कक्षा १० सम्म नि:शुल्क अध्ययन गर्न पाउनेछन् ।