साप्ताहिक संवाददाता
राजकुमार देवकोटा, गायक
केमा व्यस्त हुनुहुन्छ ?
दसैंअघि सार्वजनिक भएको गीति एल्बम ‘अंकुरण’ का गीतहरू श्रोता तथा दर्शकमाझ पुर्याइरहेको छु । करिब एक महिनाको अवधिमै श्रोताहरूबाट सकारात्मक प्रतिक्रिया पनि पाइरहेको छु ।
‘अंकुरण’लाई डिभिडी एल्बममै सार्वजनिक गर्ने योजना कसरी बन्यो ?
अहिले सुन्ने भन्दा हेर्ने गीत कम समयमै दर्शकमाझ पुग्छन् । एल्बम तयार पारेपछि एउटा अथवा दुई वटा गीतको म्युजिक भिडियो बनाउनैपर्ने हुन्छ, मैले केही नौलो प्रयोग गरौं भनेर ६ वटै गीतको म्युजिक भिडियो तयार पारेर डिभिडी नै सार्वजनिक गरेको हुँ ।
एल्बममा कस्ता गीत समावेश छन् ?
म शास्त्रीय संगीतको विद्यार्थी भए पनि सुगम संगीतमा आधारित गीत गाएको छु । आधुनिक शैलीका गीत सदावहार हुने भएकाले पनि मैले यही विधा रोजेको हुँ ।
एल्बमका गीतको सांगीतिक पक्ष कस्तो छ ?
एल्बममा ६ वटा गीत छन्, जसका आ–आफ्नै विशेषता छन् । किरण तुलाधर, सुनिल सिंह ठकुरी, दिलीप केसी तथा मनराजा नकर्मीले गीतलाई मेलोडियस बनाउन प्रशस्त मेहनत गर्नुभएको छ ।
कुन–कुन गीतबाट आशावादी हुनुहुन्छ ?
प्राय: सबै गीतमा उत्तिकै मेहनत गरेको छु । खासगरी ‘मर्थें मायामा...’ गीत श्रोताहरूले मन पराउनुभएको छ । ‘म फर्की आउँला’ तथा ‘कल्पनाकी मनकी रानी....’ गीतबाट पनि सकारात्मक प्रतिक्रिया पाएको छु ।
म्युजिक भिडियो कस्ता छन् ?
गीतको भावनालाई निर्देशक शेरबहादुर डिसीले भिडियोमार्फत हुबहु उतार्ने प्रयास गर्नुभएको छ । केही भिडियोमा म आफैंले पनि अभिनय गरेको छु । विभिन्न कलाकारको अभिनयले भिडियोहरू आकर्षक बनेका छन् ।
सबै गीतको निर्देशन एकै जना निर्देशकलाई दिनुपर्ने कारण के होला ?
पहिलो कुरा त निर्देशकले दिनुभएको भिडियोको अवधारणा नै मन पर्यो । दोस्रो कुरा एउटै युनिटसँग भिडियो बनाउँदा छोटो समयमै राम्रो परिणाम आउने विश्वास थियो । हाम्रो सोचअनुरूप नै हामीले कम समयमै राम्रा भिडियो तयार पार्न सफल भयौं ।