साप्ताहिक संवाददाता
टेलिश्रृंखला तीतो सत्यका ‘गैंडा’ निर्मल शर्माले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘चकलेट’ भोली शुक्रवारदेखि देशभर प्रदर्शनमा आउँदैछ ।
शर्माले दरबारमार्ग क्षेत्रमा देखिने सडक बालबालिकाहरूको अवस्थाका बारेमा अध्ययन गरेपछि त्यही विषयमा चलचित्र ‘चकलेट’ तयार पारेका हुन् । नायिका पूजना प्रधानको लगानी रहेको यो चलचित्रमा पूजना नै मुख्य भूमिकामा छिन् । सडक बालिकाबाट युवती भएपछि पनि बालबालिकाहरूसँग सडकमै रमाइरहेकी पुजनालाई एक धनाढ्य व्यापारीले मन पराएपछि कथामा आउने मोडहरू नै चलचित्रको आकर्षक पक्ष भएको निर्देशक शर्माले बताएका छन् ।
तेजस्वी प्रधानसहित नौ जना बालकलाकारले अभिनय गरेको चलचित्रको कथा पनि तिनै बालबालिकाहरूले अघि बढाएका छन् । अर्जुन पोखरेलको संगीतमा ‘बेथा भुलेर आऊ’ र शिखर सन्तोषको संगीतमा ‘हदभन्दा बढी’ गीतले चलचित्र प्रदर्शनअगावै चर्चा कमाइसकेका छन् । हरेक साता दुई वा दुईभन्दा बढी चलचित्रको भिडन्त भैरहेको सन्दर्भमा यो साता एकल प्रदर्शन हुने चलचित्र ‘चकलेट’ले सामाजिक चलचित्र मन पराउनेहरूको मन जित्न सक्ने विश्वास लिइएको छ ।
निर्देशक : निर्मल शर्मा
संगीतकार : अर्जुन पोखरेल र शिखर सन्तोष
कलाकार : पूजना प्रधान, आयुष्मान घिमिरे, नम्रता झा, केशव भट्टराई आदि ।
चलचित्र चकलेटको ट्रेलर