साप्ताहिक संवाददाता
अमलटारीस्थित गुन्द्रहीढकाहा मध्यवर्ती सामुदायिक वनको मैदानमा आयोजित ३४ औं अन्तर्राष्ट्रिय हात्तीपोलोको उपाधि इएफजी स्विट्जरल्यान्डले कब्जा गरेको छ । घरेलु टिम टाइगरटप्स ट्रस्करलाई ५ विरुद्ध ८ गोलले हराउँदै इएफजी स्विट्जरल्यान्डले योसहित चौथो पटक उपाधि जितेको हो ।
गत वर्ष टाइग्रिस अरेविया विजयी भए पनि त्यो भन्दा अघिल्ला वर्षहरूमा इएफजी स्विट्जरल्यान्डले उपाधि माथि कब्जा जमाउँदै आएको थियो । शुक्रबार प्रतिस्पर्धात्मक रूपमा सम्पन्न खेलमा दर्शकले घरेलु टिमको समर्थन गरेका थिए । इएफजी स्विट्जरल्यान्डले खेलको सुरुवातमै गोल गरेपछि दर्शकहरू निराश भए । एकोहोरो गोलको वर्षा भएपछि दर्शक मौन रहे । दर्शकको भीड अघिपछि भन्दा बाक्लो थियो ।
इएफजी स्विट्जरल्यान्डका तर्फबाट सञ्जय चेदलले ४ गोल गरे । टाइगरटप्सका क्रिस्टन एडवड्सले सबैभन्दा धेरै ५ गोल गरे पनि टिमले उपाधिमाथि कब्जा जमाउन सकेन । प्रतियोगितामा उत्कृष्ट हात्तीको उपाधि दुर्गा कलीले पायो । मंसिर ७ गते प्रारम्भ भएको प्रतियोगितामा २ घरेलु र ६ विदेशीसहित ८ टिमको सहभागिता थियो । खेलमा गाल्लोया श्रीलंका, रस्टी खुकुरी युके, एसटी पाउल ग्रिफिन्स युएस, इएफजी स्विट्जरल्यान्ड, टाइग्रिस अरेबिया, थारु लज टाइगर, टाइगर टप्स ट्रस्कर र पक्का चक्का अस्ट्रेलिया सहभागी थिए ।
खेल हेर्न श्रीलंका, बेलायत, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, अमेरिका आदि देशका दर्शक जम्मा भएका थिए । सन् १९८२ मा प्रारम्भ भएको हात्तीपोलोले अहिलेसम्म निरन्तरता पाइरहेको छ । सुरुमा यो खेल चितवनको मेघौलीमा हुन्थ्यो । पर्यटन क्षेत्रको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिने पोलो चितवन निकुञ्जभित्रको रिर्सोट बन्द भएपछि ४ वर्षसम्म टाइगर टप्स कर्णालीमा सञ्चालन गरियो । यो वर्ष बन्द–हड्तालले गर्दा खेल अमलटारीमा सारिएको हो । हात्तीमाथि चढेर खेलिने यो खेल अहिले विश्वभर प्रसिद्ध छ । नेपालबाट सुरु भएको यो खेल अहिले थाइल्यान्ड र श्रीलंकामा समेत खेलाइन्छ । वन्यजन्तु संरक्षणमा जनचेतना तथा पर्यटकलाई मनोरञ्जन दिने उद्देश्यले आयोजना गर्न थालिएको यो प्रतियोगिता अहिले विदेशी पर्यटकहरूको रोजाइमा छ ।