साप्ताहिक संवाददाता
आकर्षक मुहार अनि फरासिली युवती मेकअपको ध्याउन्नमा थिइन् । पेसाले बैंकर ती युवती विवाहका लागि ब्युटिपार्लरमा आफूलाई सुन्दर बनाइरहेको अवस्थामा भेटिएकी थिइन् । विवाहको मौसमसँगै यतिबेला बेहुली मेकअपको चमकदमक बेग्लै देखिन्छ ।
अहिले बिनामेकअप कुनै पनि युवतीले विवाह गर्दैनन् । पार्लरमा सिंगारिएपछि नै बेहुलीहरू विवाहको मण्डपमा पुग्छन् । साडीको स्टाइलसँगै मेकअपको संयोजन मिलाउन यतिबेला ब्युटिसियनहरूलाई भ्याइ–नभ्याइ छ । बेहुलीलाई ब्राइडल मेकअप गराइने हुनाले अनुहारमा आएका चायाँ, पोतो तथा दागहरू पनि छोपिन्छन् । मेकअपअनुरूपको गरगहना एवं पहिरनमा सिंगारिदा बेहुलीहरू निकै आकर्षक देखिन्छन् ।
विवाहको मौसममा प्राय: ब्युटिपार्ललाई बेहुली सिंगार्ने कामले नै फुर्सद दिंदैन । ‘अहिले पार्लरमा अरूभन्दा पनि बेहुली सिंगार्ने कामनै बढी हुन्छ,’ वरिष्ठ ब्युटिसियन चिनु गुरुङले भनिन्, ‘विवाहको मौसममा बेहुली सिंगार्ने काममै बढी व्यस्त हुनुपर्छ ।’
प्रेम तथा मागी जुनसुकै विवाह गर्नेहरू मेकअपबिना विवाहका लागि तयार हुँदैनन् । विवाहको दिन जसरी हुन्छ अरूभन्दा सुन्दर देखिने चाहना हरेक बेहुलीमा हुन्छ । विवाहको तयारीमा रहेकी तनहँुकी सुमिता अधिकारीले पार्लर गएर सिंगारिने योजना बनाइसकेकी छिन् । ‘मण्डपमा जानुअघि चिटिक्क पर्न पार्लरमा गएर मेकअप गराउँछु’, सुमिताले बताइन् ।
विवाहको दिन श्रृंगार र गरगहनाले धपक्कै बलेर सुन्दर देखिने चाहना पूरा गर्न विवाहको तयारीमा रहेका युवतीहरू यतिबेला ब्युटिपार्लरमा आफुलाई सिंगार्न जुटेका छन् । मेकअप आर्टिस्ट समृद्धि थापामगरलाई पनि अहिले बेहुलीलाई स्टाइलिष्ट बनाउन भ्याइ–नभ्याइ छ । बेहुलीलाई सिंगारिरहेको अवस्थामा भेटिएकी थापामगरले भनिन्, ‘विवाहको यो मौसममा बेहुलीको मेकअप स्टाइल अहिले निकै चलेको छ ।’ थापामगरका अनुसार विवाहको दिन बेहुलीलाई परीका रूपमा सजाइन्छ ।
पार्लरमा चिकित्सक, नर्स, बैंकरजस्ता व्यवसायमा आबद्धदेखि साधारण युवतीहरूसमेत सिंगारिन आउने आइरिस ब्युटीपार्लरकी सञ्चालिका सोनम गुरुङले बताइन् । ब्युटिसियन तथा मेकअप आर्टिस्टहरू पनि बेहुलीले भनेजस्तो स्टाइल बनाउन तम्तयार छन् । ‘लुक्सअनुसार जस्तो म्याच गर्छ त्यही रूपमा स्टाइल बनाइदिन्छौं,’ ब्युटिसियन कुमारी गुरुङले बताइन् । गुरुङ भन्छिन्– ‘दुलहीका लागि पसिनाले असर नपर्ने लामो समयसम्म टिकाउ हुने मेकअप गर्छौं ।’
जिएच सलुन पोखराका हेयर डिजाइनर शम्भु लिम्बु पनि यतिबेला बेहुला बन्न तयार युवाहरूको हेयर स्टाईलदेखि अनुहारको लुक्स चेन्ज गर्न व्यस्त देखिन्छन् । ‘अहिले बेहुलीहरू मात्र होइनन्, बेहुलाहरू पनि विवाहको दिन मेकअप गरेर सजिन थालेका छन्,’ हेयर डिजाइनर लिम्बुले बताए । यद्यपि बेहुलाको मेकअप बेहुलीको जस्तो गाढा हुँदैन । बेहुलीलाई सिंगार्न कतिपय ब्युटीपार्लरले होम सर्भिस पनि उपलब्ध गराउँछन् । होम सर्भिसका लागि मेकअपको सामान्यत: १० हजार देखि ४० हजार रुपैयाँसम्म लाग्छ ।