६५औं संस्करणको मिस वल्र्ड प्रतियोगिताका लागि चीनको सान्यामा विश्वका १ सय १४ मुलुकका सुन्दरीहरुको जमघट र प्रतिस्पर्धाको वातावरण बनेको छ । नेपालको तर्फबाट सहभागि भएकी मिस नेपाल २०१५ का विजेता ईभाना मानन्धर अहिले एउटा महत्वपूर्ण उपलब्धी हात पार्न सफल भएकी छिन् । मिस वल्र्ड प्रतियोगितामा सन् २००९ देखि समावेश गरिन थालिएको ‘डान्सेस् अफ द वल्र्ड’ खण्डका लागि ईभानाले प्रस्तुत गरेको नृत्य उत्कृष्ट सात भित्र पर्न सफल भएको छ । उनले अन्य ६ देशका सुन्दरीहरु सहित आगामी डिसेम्बर १९ मा सम्पन्न हुने मिस वल्र्ड २०१५ को फिनाले स्टेजमा डान्सेस् अफ द वल्र्ड खण्डमा आफ्नो प्रस्तुति दिने अवसर प्राप्त गरेकी छिन् ।
ईभानाको प्रस्तुति नेवारी र नेपाली झ्याउरे नृत्यको फ्युजन रहेको छ । डान्सेस् अफ द वल्र्ड खण्डमा नेपालकी ईभाना सहित चीन, फ्रान्स, पाराग्वे, समाओ, स्लोभाकिया र जाम्बियाका सुन्दरीहरुले आफ्नो नृत्य प्रस्तुति दिने छन् । यो प्रस्तुतिबाट विजेता चयन गरिने भने होइन तर यसलाई विश्व सामू आफ्नो मौलिक कला संस्कृतिलाई नृत्य र संगीतको तालमा प्रदर्शन गर्ने अवसर र सम्मानका रुपमा लिने गरिएको छ । यस अघि डान्सेस् अफ द वल्र्ड खण्डमा मिस नेपाल २०११ मलिना जोशी र मिस नेपाल २०१३ ईशानी श्रेष्ठले आफ्नो प्रस्तुति दिने अवसर प्राप्त गरेका थिए ।
मिस वल्र्ड प्रतियोगिता अन्तर्गत नै विभिन्न प्रतिस्पर्धात्क गतिविधिहरु पनि संचालन भैरहेका छन् । जस अन्तर्गत भोटिङ प्रक्रिया महत्वपूर्ण रहेको छ । यसमा वेभ पपुलारिटी कन्टेष्ट एउटा पाटो रहेको छ । जसमा ईभानालाई भोट प्रदान गर्न यस लिंकमा गएका भोट गर्न सकिनेछ । वेभ पपुलारिटी कन्टेष्टमा ईभाना हाल छैठौं स्थानमा रहेकी छिन् । अर्को तर्फ मल्टिमिडिया अवार्ड भोटिङमा भने ईभाना १२ औं स्थानमा रहेकी छिन. । यस अवार्डमा ईभानालाई भोट गर्नका लागि आईफोन वा एन्ड्रोइड मोबाइलमा Alipay App डाउनलोड गरी निर्देशित कुराहरुलाई पालना गर्नुपर्ने हुन्छ । यसका लागि यस लिंकबाट विस्तृत जानकारी हासिल गर्न सकिन्छ ।