अर्को सातादेखि किम्फ

- साप्ताहिक संवाददाता

मंसिर १८, २०७२

काठमाडौं माउन्टेन फिल्म फेस्टिबल (किम्फ) को तेह्रौं संस्करण मंसिर २४ देखि २८ सम्म सञ्चालन हुने भएको छ । कमलपोखरीस्थित कुमारी हलमा पाँच दिनसम्म चल्ने यो महोत्सवमा २५ देशका ८० वटा चलचित्र प्रदर्शन गरिनेछन् । 

किम्फमा विविध धारका वृत्तचित्र, लघु चलचित्र, एन्थ्रोपोलोजिकल न्यारेटिभ्स तथा एनिमेटेड चलचित्रहरू देखाइनेछन् । उक्त अवसरमा नेपाल पानोरामाअन्तर्गत १० वटा नेपाली वृत्तचित्रको विशेष प्रदर्शन पनि हुनेछ । गणेश पाण्डेद्वारा निर्देशित ‘भाग्यले बाँचेकाहरू’ वृत्तचित्रको प्रदर्शनबाट किम्फको उद्घाटन हुनेछ । 

महोत्सवमा चलचित्र प्रदर्शनबाहेक प्रतिस्थापनकला एवं तस्बिर प्रदर्शनी पनि हुनेछन्, जसअन्तर्गत भारतीय पर्वतारोही तथा फोटोग्राफर अभिजित सिंहका तस्बिरहरू प्रदर्शित हुनेछन् । त्यसबाहेक ‘ट्रेन्ड्स इन साउथ एसियन इन्डिपेन्डेन्ट सिनेमा’ विषयक परिसंवाद किम्फको अर्को आकर्षण हुनेछ । परिसंवादमा मीन भाम (निर्देशक, ‘कालो पोथी’), छिरिङ रितार (फिल्म निर्देशक), नम्रता राव (हिन्दी चलचित्र ‘कहानी’का सम्पादक) तथा भारतका वरिष्ठ चलचित्र समालोचक प्रेमेन्द्रनाथ मजुमदारको सहभागिता रहनेछ ।

किम्फको अभिन्न अंग बनेको लोकप्रिय हाजिरीजवाफ प्रतियोगिता ‘नो योर हिमाल’ को सञ्चालन अंग्रेजी साप्ताहिक नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षित तथा नेपथ्य ब्यान्डका अमृत गुरुङले संयुक्त रूपमा गर्नेछन् । अन्तर्राष्ट्रिय पर्वत दिवस (११ डिसेम्बर) का अवसरमा उल्जु माउन्टेन शीर्षकको चलचित्रबाट कोरियाली चलचित्रहरूको विशेष प्रदर्शनी हुनेछ । सोही दिन विश्व वन्यजन्तु संरक्षण कोष नेपालले निर्माण गरेको हिमचितुवासम्बन्धी वृत्तचित्र एवं वातावरण प्रदूषणसम्बन्धी इसिमोडद्वारा निर्मित मह जोडीको टेलिचलचित्र ‘धूवाँ’ प्रदर्शन गरिनेछ । ‘यस पटक किम्फद्वारा नेपालको भुइँचालोका सम्बन्धमा सञ्चालित ‘साइस्मिक सिफ्ट’ शीर्षकको लघुफिल्म प्रतियोगितामा उत्कृष्ट ठहरिएका चलचित्रहरू पनि प्रदर्शन गरिनेछन् ।’ आयोजकमध्येकी एक रम्यता लिम्बूले बताइन् । नेपालमा अन्तर्राष्ट्रिय स्तरको होटल व्यवसाय थाल्ने बोरिस लिसानोभिचका विषयमा बनेको चलचित्र ‘टाइगर फर ब्रेकफास्ट’बाट महोत्सवको समापन हुने आयोजक वसन्त थापाले बताए ।

 

प्रकाशित :मंसिर १८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्