साप्ताहिक संवाददाता
कार्यक्रममा सहभागी हुन १ लाख लिएर पनि नगएको भन्दै आयोजकले खोटाङ प्रहरीमा ठगी मुद्दा हालेको कुरा आएपछि गत साता रेखा थापा चर्चामा आइन् ।
स्थानीय सगरमाथा जनसेवा समाजले आयोजना गर्ने भनिएको कार्यक्रममा सहभागी हुन दुई महिनाअघि रेखाको खातामा १ लाख रुपैयाँ जम्मा गरिदिए पनि उनले अन्तिम समयमा आउँदिनँ भनेको आरोप लागेपछि आयोजकले स्थानिय प्रहरीमा मुद्धा जाहेर गरेको बताइयो ।
रेखाले उनलाई कार्यक्रममा बोलाउने आयोजकहरूसँग आफ्नो परिचय नै नभएको र उजुरी हाल्ने प्रकाश पुरी भन्ने व्यक्तिले आफूलाई फसाउन खोजेको बताउँदै आरोपको खण्डन गरिन् । उनले एक अनलाइन पत्रिकालाई भनिन्– ‘सम्झौता नै नभएको अवस्थामा म कसरी कार्यक्रममा जान सक्छु । सम्झौता गरौं भन्दा उसले पहिले बैंकको खाता नम्बर दिनुस्, अनि मान्छे पठाइदिउँला भन्यो । पछि पैसा हालिदिएको रहेछ । उसलाई म आउँदिनँ भन्ने थाहा थियो । कार्यक्रमभन्दा एक दिनअघि मलाई फोन गर्दा म आउन सक्दिनँ भनेकी थिएँ ।’ फेसबुक च्याटमा पनि रेखाले आयोजकहरूलाई आफूलाई इरिटेड नगर्न अनुरोध गरेकी थिइन् । रेखाको कडा प्रतिवादपछि अन्तत: आरोप लगाउने आयोजकलाई माहुरीको गोलामा हात हालेको अनुभूति भएछ क्यार, उनीहरूले रेखासँग माफी नै मागेपछि कुरा मिलेको बताइएको छ ।