जितु नेपाल, कलाकार
करिब साढे दुई महिनाभन्दा लामो अमेरिका बसाइका क्रममा भुटानी नेपालीहरूको नेपाल र नेपाली कला–संस्कृतिप्रतिको सम्मान नजिकबाट नियाल्ने अवसर पाएँ । यो अवधिमा मैले जम्मा २२ वटा कार्यक्रममा सहभागिता जनाएँ, तीमध्ये १७ वटा कार्यक्रम त भुटानी–नेपाली समुदायमै गरियो । नेपालमा लामो समय बिताएका भुटानी–नेपालीहरूमा नेपाल र नेपालीहरूप्रतिको माया एवं सद्भाव अत्यन्तै बढी पाएँ । सबैले नेपालमा यस्तो भैदिए हुन्थ्यो, नेपालमा राम्रो भए हुन्थ्यो भन्ने चिन्ता व्यक्त गरेको र सधैं नेपाललाई सम्झिएको र नेपाली कला–संस्कृतिलाई माया गरेको पाएँ । नेपाली चलचित्र हेर्ने तथा हाम्रा टेलिश्रृंखलाहरू नियमित हेर्ने दर्शकहरू पनि उत्तिकै फेला पारें । आफ्नो धर्म, संस्कृति मान्ने मानिसहरू भेटें । मैले जति पनि भुटानी नेपाली भेटें, उहाँहरू कुनै पनि हिसाबले भुटानी नेपाली नै लाग्नुभएन, हामी र उहाँहरूमा अन्तर पाइनँ । आफ्नो भाषा र संस्कृतिलाई माया गर्न नागरिकता नै नचाहिने रहेछ भन्ने अनुभूति भयो ।
हामीले कसैलाई कतै भेट्ने कार्यक्रम छ भने ‘अंग्रेजी टाइम है’ भन्छौं, तर यो अंग्रेजी टाइम अंग्रेजी नै बोलिने, अंग्रेजहरूकै देशमा फ्लप खाएछ । त्यहाँ पनि हाम्रो नेपालीपनले छाडेको रहनेछ । सात बजे भनिएको कार्यक्रम ९ बजे, ५ बजे भनिएको कार्यक्रम ७ बजे प्रारम्भ हुँदो रहेछ । नेपाली कार्यक्रम समयमा सुरु हुँदैन भन्ने प्राय: सबैको मनस्थिति नै बनिसकेको रहेछ । त्यसैले दर्शकहरू पनि निर्धारित समयभन्दा केही ढिलै आउनुहुँदो रहेछ । कार्यक्रम मज्जाले हेर्ने, रमाइलो गर्ने तर कार्यक्रम भने निर्धारित समयमा सुरु नहुने परम्परा त्यता पनि रहेछ । अंग्रेजी बोल्ने, अंग्रेजी रीतिरिवाज, परम्परा, नियम–कानुन मान्ने तर नेपाली कार्यक्रम गर्दाचाहिँ नेपाली परम्परा नै चलिरहेको रहेछ ।
अमेरिका बसाइका क्रममा केही रमाइला घटना पनि घटे । लामो समयदेखि ‘जीरे खुर्सानी’ मा मुन्द्रा लगाएर अभिनय गरेर ‘मुन्द्रे’ भएँ तर मैले अभिनय गर्दा र स्टेज कार्यक्रम गर्दा बाहेक कहिल्यै कानमा मुन्द्रा लगाएको थिइनँ । पेन्सलभेनिया राज्यको पिटर्सबर्गमा बसोबास गर्ने व्यवसायी तथा हाम्रो कार्यक्रमका आयोजकमध्येका एक भानु फुयाँलको वर्षा ज्वेलर्स भन्ने गहना पसल रहेछ । हामी धेरैजसो उहाँकै घरमा बस्यौं । एक दिन भानु दाइले ज्वेलर्समा बोलाउनुभयो । त्यहाँ पुग्नेबित्तिकै भन्नुभयो, ‘के हो मुन्द्रेजी, तपाईं मुन्द्रे भएर पनि मुन्द्रा नलगाई हिँड्ने ? खै तपाईंका कान यता ल्याउनुहोस् त भनी च्याप्प समातेर करिब दुई तोलाका दुईवटा मुन्द्रा लगाइदिनुभयो । मुन्द्रा लगाएपछि कान दुखेर २–३ रात त सुत्न पनि गाह्रो भयो तर उहाँको माया र मेरो जीवनकै सबैभन्दा महँगो गहना उपहार भएकाले लगाइ नै रहें । सधैं स्टेजमा मुन्द्रा लगाएर जान्थें तर यसपटक लगाउनै परेन, त्यही मुन्द्राले काम गर्यो । मैले नेपालबाट लगेका ४–५ जोर मुन्द्राको पनि काम भएन ।
हामीलाई अमेरिकामा बोलाएर २२ वटा कार्यक्रम गराउने आयोजकमध्येका एक बुद्धिप्रसाद रेग्मीलाई म कहिल्यै बिर्सन सक्दिनँ । आफूले गरेको सम्झौताअनुसार हामीलाई अत्यन्तै राम्रो व्यवहारसहित सबै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न उहाँ सफल हुनुभयो । कार्यक्रमका क्रममा कुन कार्यक्रममा कति दर्शक आए, आयोजकलाई कति नाफा भयो, कति घाटा भयो हामीलाई केही थाहा भएन ।
यसपटकको अमेरिका भ्रमणका क्रममा मैले एक जना अनन्य मित्र पनि कमाएँ । उनी हुन्— गायक बद्री पंगेनी । बद्रीजी र मेरो मित्रता अमेरिका बसाइँपछि अझ प्रगाढ भयो ।
प्रस्तुति : कृष्ण भट्टराई