साप्ताहिक संवाददाता
भारतको अघोषित नाकाबन्दीले मुलुकमा इन्धनको चरम संकट उत्पन्न भएको छ । समस्या न्यूनीकरणका लागि सरकारले जोरबिजोर प्रणाली लागू गर्नेदेखि चीनबाट तेल ल्याउनेसम्मका काम गर्यो तर पनि समस्या हल हुन सकेको छैन । अहिले नेपाल आयल निगमले फाट्टफुट्ट रूपमा भित्रिरहेको तेल सार्वजनिक सवारी साधन र अत्यावश्यक सवारी साधनलाई मात्र वितरण गर्दै आएको छ । सडकमा सार्वजनिक सवारी साधन कमै मात्रामा सञ्चालन भैरहेका छन् । यसले सर्वसाधारणलाई आवतजावत गर्न निकै कठिनाइ भैरहेको छ । यस्तो संकटका बेला पनि केही सवारी साधनले नियमित सेवा दिइरहेका छन् भने केही संस्थाले नि:शुल्क सेवा सुरु गरेका छन् जसले गर्दा उनीहरू प्रशंसाको पात्र भएका छन् ।
सफा टेम्पोमा सरर
डिजेल पेट्रोलबाट चल्ने सवारी साधनहरू पेट्रोल पम्पमा लाइन लागिरहँदा सफा टेम्पोहरू भने निर्धक्क सडकमा गुडिरहेका छन् । न तेल नपाएर तनाव न त ट्राफिक जामको समस्या नै । अरू बेला कमैको नजर पर्ने टेम्पो यतिबेला सबैको प्रिय साधन बन्न पुगेको छ । सर्वसाधारणलाई सुविधा त दिएको छ नै, साथै यसले वातावरण प्रदूषणसमेत नगर्ने भएकाले सहरी क्षेत्रमा यसलाई निकै उपयुक्त साधनका रूपमा लिन सकिन्छ । नाकाबन्दीपछि अरू गाडीहरू नचल्दा टेम्पो सञ्चालकहरूको आम्दानीसमेत वृद्धि भएको बताइन्छ ।
वि.सं. २०५६ तिर नेपाल भित्रिएको सफा टेम्पो अहिले काठमाडौंमा करिब ७ सय १५ वटा सञ्चालनमा छन् । यी टेम्पोहरू अहिले राजधानीका विभिन्न सातवटा रुटमा सञ्चालित छन् । विडम्बना, गत १० वर्षदेखि सफा टेम्पोको संख्या बढ्न सकेको छैन । विद्युतीय टेम्पोलाई परमिट नदिइएका कारण यसको संख्या वृद्धि गर्न नसकिएको व्यवसायीहरूको गुनासो छ ।
साझा यातायात
साझा यातायातले सकंटकालीन अवस्थामा पनि नियमित सेवा प्रदान गरिरहेको छ । एकातिर सवारी साधन नै नपाइने अर्कातिर यात्रा गर्नै सकसपूर्ण अवस्थामा साझा बसले धेरै सहज बनाएको सर्वसाधारणको बुझाइ छ । निश्चित भाडा र उभिएर भए पनि सहजै यात्रा गर्न सकिने भएकाले पनि संकटकालीन अवस्थामा साझा बस निकै लाभदायक भएको धेरैको बुझाइ छ । ठूलो बस भएकाले धेरै जना अट्ने र निश्चित रुटमा प्राय: ठीक समयमा पुग्ने भएकाले पनि साझा बस आवतजावत गर्न सहज छ ।
लामो समय बन्द भएर ०७० सालदेखि सञ्चालनमा आएको साझा यातायात संकटमा ठूलो सारथि बनेको धेरैको अनुभव छ । अझ सकारात्मक कुरा त के छ भने सर्वसाधारणको कष्टलाई ध्यानमा राखेर साझाले थप सेवा समेत विस्तार गरेको छ । यसका साथै अव चाँडै नै २५ वटा बस थप्ने तयारी भैरहेको छ ।
संकटकालीन सेवाबापत साझाको आम्दानीमा पनि वृद्धि भएको छ । नाकाबन्दी अघि १६ वटा बसमा दैनिक १० हजार यात्रु चढ्ने गरेकोमा अहिले १५ हजार यात्रुले यात्रा गर्छन् । नाकाबन्दीअघि दैनिक आम्दानी बढीमा डेढलाख रुपैयाँसम्म मात्र भए पनि अहिले दैनिक १ लाख ८० हजार रुपैयाँसम्म आम्दानी हुन थालेको छ ।
सेनाको नि:शुल्क बस
नाकाबन्दीबाट आहत सर्वसाधारणलाई राहत प्रदान गर्न नेपाली सेनाले पनि नि:शुल्क बस सेवा सञ्चालन गरिरहेको छ । सेनाको यो सेवा कार्यालय समयलाई प्राथमिकता दिएर सञ्चालन हुँदै आएको छ । उपत्यकाका ८ रुटमा बढी भीड हुने समय बिहान १० बजे र दिउँसो ३ बजे ४ वटा बस सञ्चालनमा छन् । ती बसमध्ये नयाँ बानेश्वरबाट कोटेश्वर हुँदै रिङरोडबाट बल्खु, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्कलाई पहिलो रुटमा राखिएको छ ।
त्यसैगरी दोस्रो रुट भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बालाजु, सोह्रखुट्टे, कान्तिपथ र माइतीघरमा सञ्चालन भैरहेको छ । तेस्रो रुटका रुपमा माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, स्वयम्भू, छाउनी, ताहाचल, टेकु, थापाथली छ । त्यसैगरी चौथो रुट माइतीघरबाट सुरु भएर नयाँ बानेश्वर, तीनकुने, रिङरोड हुँदै नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ हुँदै भद्रकाली पुग्ने नेपाली सेनाले जनाएको छ । यो सेवा संकटकालीन अवस्था नहटेसम्म उपलब्ध हुने भएको छ ।
प्रहरीको नि:शुल्क बस सेवा
सशस्त्र प्रहरीले पनि उपत्यकामा तीनवटा बस सञ्चालनमा ल्याएको छ । बढी आवतजावत हुने ठाउँमा असक्त, बिरामी एवं बालबालिकाहरूलाई प्राथमिकता दिएर बस सञ्चालन गरिएको प्रहरीले जनाएको छ । बिहानदेखि बेलुकासम्म नै सञ्चालन हुने यो सेवामा अस्पताल र धार्मिक क्षेत्रहरूलाई प्राथमिकता दिइएको छ । तीनवटा बसमध्ये एउटा कलंकी, सीतापाइला, स्वयम्भू, वनस्थली, बालाजु, गोंगबु, सामाखुसी, बसुन्धारा, महाराजगन्ज, धुम्बाराही, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ग्वार्काे, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी हुँदै स्वयम्भूसम्म सञ्चालन हुने गरेको छ ।
त्यस्तै अर्काे बस कलंकी, बल्खु, एकान्तकुना, ग्वार्काे, एयरपोर्ट, गौशाला, धुम्बाराही, महाराजगंज, बसुन्धारा, बालाजु, वनस्थली, स्वयम्भू, सीतापाइला हुँदै कलंकी पुगेर स्वयम्भू फर्किन्छ । त्यसैगरी अर्काे बस स्वयम्भूबाट बालाजु, सोह्रखुट्टे, लैनचौर, जमल, रत्नपार्क, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तीनकुने, कोटेश्वर पुगेर सोही रुटबाट फिर्ता हुँदै स्वयम्भू सम्म सञ्चालन भैरहेको छ ।
इलेक्ट्रिक सवारी साधनको हाइहाइ
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै अब मुलुकमा विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राख्ने अभिव्यक्ति दिएपछि यसको निकै चर्चा हुन थालेको छ । त्यसो त यतिबेलामा विद्युतीय सवारी साधन निर्धक्क चलिरहेका छन् । वि.सं. २०३२ सालमा राजधानीको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म १३ किमी दूरीमा २२ वटा ट्रली बस सञ्चालन गरिएको भए पनि त्यो अहिले बन्द छ ।
नेपालमा अहिले एउटा केवल कार, करिब २ हजार साइकल, ४ हजार रिक्सा, ७ सय सफा टेम्पो, डेढ सयजति कार विद्युत्बाट सञ्चालन हुन्छन् । विद्युतीय सवारी साधनहरू विशेषत: चीन र भारतबाट आयात गरिन्छ । वातावरणीय दृष्टिले विद्युतीय सवारी साधन उपयुक्त देखिन्छन् । सरकारी तथ्यांक अनुसार उपत्यकाका २५ वटा रुटमा ग्याँस र विद्युत्बाट चल्ने करिब १५ सय सवारी साधन सञ्चालन हुन्छन् ।
वातावरणमैत्री, न्यून मूल्य र कम खर्चिलोका कारण पनि यो न्यून आयस्तर भएकाहरूलाई समेत उत्तम साधन हो । यसले न ध्वनि प्रदुषण गर्छ न त वायु प्रदूषण नै । विद्युतीय मोटरबाइक एक पटक फुल चार्ज गरेपछि औसत ७० किलोमिटर गुड्छ । १ लिटर पेट्रोलले औसत ४० किलोमिटर मात्र गुड्छ । व्यवसायीहरूका अनुसार फुल चार्ज गर्न १ दशमलव ५ वाट विद्युत् खपत हुन्छ । यसको लागत करिब १५ रुपैयाँ पर्छ । बसमा भने ८ घण्टा चार्ज गर्दा ९० किलोमिटरसम्म गुड्छ । यस्तो सवारी साधन चलाउन लाइसेन्स, ब्लुबुक आदिको आवश्यकता पर्दैन भने वार्षिक रूपमा कुनै कर पनि तिर्नु पर्दैन ।