देवी तामाङ, ट्रेन्डसेटर हेयर एन्ड ब्युटी स्टुडियो सिटीसि मल, सुन्धारा
सीटीसी मल, काठमाडौंमा सञ्चालित ट्रेन्डसेटर हेयर ब्युटी सैलुन पारिवारिक वातावरणमा सेवा दिन सफल तथा लोकप्रिय गन्तव्य मानिन्छ । महिला तथा पुरुष दुवैले केश तथा छालासम्बन्धी समस्या समाधान गर्न सक्ने भएकाले यो सैलुनमा युवायुवतीको घुइँचो लाग्ने गरेको छ । अहिले नेपालमा चलेका पुरुष तथा महिला हेयर स्टाइलका बारेमा देवी तामाङसँग गरिएको कुराकानी :
युवाहरूमा कुन हेयर स्टाइल लोकप्रिय छ ?
पान्डोरा र कोरियन स्टाइल चल्तीमा छ । मंगोलियन अनुहार हुनेहरू कोरियन हेयर स्टाइल रुचाउँछन् । अहिले ट्ेरन्डमा रहेको अर्काे लोकप्रिय स्टाइल पान्डोरा हो । पान्डोरा हेयर स्टाइलले जुनसुकै पहिरनमा पनि रोयल लुक्स दिन्छ ।
युवतीहरूको हकमा कुन हेयर स्टाइलको माग छ ?
फेदर कट अहिलेको फेसेनेबल स्टाइल हो । यो स्टाइल लामो केशमा मात्र सम्भव हुन्छ । लुक्स पनि आकर्षक देखिने र जाडो मौसममा फेदर कट हेयर स्टाइलमा केशलाई खुला छोडेर हिँड्दा व्यक्तित्व पनि निखारिन्छ ।
जाडो मौसममा केशको हेरचाह कसरी गर्नुपर्छ ?
महिला हुन् वा पुरुष, दुवैले केशको उत्तिकै हेरचाह गर्नुपर्छ । विशेषगरी जाडो मौसममा केश सुख्खा हुने, चायाँ पर्ने र झर्ने भएकाले अन्य मौसमको तुलनामा बढी हेरचाह गर्नुपर्छ ।
केशको सुन्दरता जोगाइराख्न के कुरामा ध्यान दिनुपर्छ ?
महिनामा एकपटक केशको अवस्था हेरेर काट्ने, हप्तामा एकपटक तेल मसाज गर्ने अनि आवश्यकताअनुसार बेलाबेलामा हेयर ट्रिटमेन्ट लिने ।
व्यक्तित्वमा केशको कस्तो भूमिका हुन्छ ?
केश व्यक्तित्वको अभिन्न अंग हो । यदि केश स्वस्थ र सुन्दर छ भने व्यक्तित्व पनि झल्किन्छ । जसरी हामी आफ्नो शरीरको हेरचाह गर्छौं त्यसैगरी केशको पनि नियमित सरसफाइ गर्नुपर्छ । जाडो महिनामा केशको बढी नै स्याहार गर्नुपर्छ ।