साप्ताहिक संवाददाता
विवाहपछि नायिकाको अभिनय यात्रा धर्मराउँछ, अक्सर नायिकाको हकमा यो भनाइ लागू हुन्छ । नेपालमा मात्र होइन, विदेशी चलचित्रका नायिकाहरू पनि विवाहपछि चलचित्र कम घरव्यवहारमा बढी सक्रिय हुन्छन् ।
नायिका रिमा विश्वकर्माले भने विवाहलगत्तै आफ्नो कामलाई बढाएकी छिन् । त्यसो त उनका श्रीमान् विवाहलगत्तै बेलायत फर्किएकाले पनि उनले काममा ध्यान दिन सकेको तर्क गरिन्छ, तर रिमाले विवाहको केही समय काममा नफर्कने निर्णय पनि लिन सक्थिन्, यद्यपि उनले त्यसो गरिनन् । रिमाले विवाहको एक साता नबित्दै लगातार चारवटा म्युजिक भिडियोमा काम गरिन् । त्यसपछि पनि आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा व्यस्त भइन् ।
‘विवाहपछि काम गर्न थप सहज महसुस गरिरहेकी छु’ रिमाले साप्ताहिकसँग भनिन्– ‘मलाई बुझ्ने श्रीमान् पाएकी छु, विवाहित भएकाले सबैले आदरपूर्वक काम गराउने भएकाले पनि सजिलो भएको हो ।’ रिमा चाँडै एउटा चलचित्रमा पनि काम गर्दैछिन् ।