तेरो त फलानोसँग लभ परेको छ रे ! कोही नपाएर त्यस्तोसँग लभ गरेको ? लभ त गर तर आफ्नै जात, धर्म मिल्नेसँग मात्र गर् है ? के म जो पायो त्यहीसँग लभ गर्छु भन्ठानेको ? मेरो प्रेमी त करोडपति हो, बुझिस् ? त्यस्तो अनुहार न सनुहारकोसँग के लभ गरेको होला ? ए तैंले के देखिस् र ए त्यस्तासँग लभ गरिस् ? लभ नै गरिसकेपछि त अलि हुनेखानेसँग गर्नु नि ! मैले अहिले भन्द्या छु है त्यसलाई छोडदिइहाल, पछि दुख पाएँ भनेको सुन्नु नपरोस् ।
माथिका अधिकांश भनाइ हाम्रो समाजमा सुनिँदै आएको र सुन्दा सहज लाग्ने तर बुझ्दा गम्भीर भाव बोकेका प्रतिनिधि संवाद हुन् । प्रेम हुने कुरा हो कि गर्ने कुरा हो ? प्रेम भएपछि गर्ने हो कि गरेपछि हुन थाल्ने हो ? प्रेम वस्तु हो कि भाव हो ? प्रेम आयोजित हुन्छ कि आकस्मिक हुन्छ ? प्रेम प्राकृतिक रूपमा हुन्छ कि योजनाबद्ध तरिकाले गरिन्छ ? माथिका भनाइ हेर्दा केटाको हकमा धनले सम्पन्न र केटीको हकमा रूपले सम्पन्नसँग मात्र प्रेम गर्नु भनेर समाजले भन्न खोजेको हो कि जस्तो लाग्छ । के अरूले चाहिँ प्रेम गर्नै हुँदैन ? समाज त गर्नैपरे हैसियत, जात, धर्म सबै मिलाएर मात्र प्रेम गर्नु भन्छ । के यो प्रेम हो ? नेपाली समाजमा कसैले कसैलाई प्रेम गर्नु भनेकै आश्चर्यको विषय हुन्छ । कसैले कसैलाई माया गर्न थाल्दा परिवार र समाज किन वैरी हुन्छ ? किन कोही दुई जना सँगै हिँडेको देख्नासाथ कुरा काट्न थालिन्छ ? दुई जना झगडा गर्नु पो भएन, प्रेम गर्दा त कसको के बिग्रन्छ र ? छाडा गतिविधि गरेर सार्वजनिक रूपमै हिँडे भने भन्नु जायज हो, नत्र किन यति चासो हुन्छ समाजलाई ? कोही दुई जना आपसमा मिल्नु राम्रो कुरा होइन र † फलानोकी छोरी त फलानोसँग हिंडेको देखियो नि ! त्यसले त्यस्ती केटी पो मन पराएछ † यो दुनियाँ गजबको छ । कसले कसलाई किन मन पराउनुपर्ने, किन मन नपराउनुपर्ने, के यो दुनियाँको ठेक्का हो ? के प्रेमको कुनै वारेन्टी वा ग्यारेन्टी हुन्छ ? के नापतौल गरेर वा पूर्वपरीक्षण गरेर मात्र प्रेम गर्न सकिन्छ ? विचार र भाव मिलुन्जेल सँगै बस्नु र नमिल्दा छुट्ने अधिकार प्रेमीहरूलाई हुँदैन ? युवायुवतीको प्रेम भएपछि विवाह पनि भयो भने प्रेम सफल भयो भनिन्छ । के प्रेमको अन्तिम बिन्दु विवाह हो ? के विवाह भएपछि प्रेम कहिल्यै छुट्दैन ? हामी किन प्रेमलाई केही कुरामा लगेर बाँध्न वा जोड्न चाहन्छौं ? प्रेम भनेको त मुक्ति होइन र ? केही पाउने आशा नराखी केवल दिने मात्र भाव उत्पन्न हुनु प्रेम होइन र ?
प्रेम त जोसँग पनि हुन सक्छ । सपाङ्गको अपाङ्गसँग, धनीको गरिबसँग, विवाहितको अविवाहितसँग, अविवाहितको विवाहितसँग जसको जोसँग जतिखेर पनि हुनसक्छ । के जात, के धर्म, के उमेर, के हैसियत, के जायज, के नाजायज, के नैतिक, के अनैतिक ? प्रेम त निरञ्जन निराकार हुन्छ । विवाह हुनसक्ला त्यो दोस्रो कुरा भयो, तर कोही विवाह गर्ने मात्र उद्देश्यले कसैसँग प्रेम गर्छ भने, सुख पाउँछु सुविधा पाउँछु भनेर प्रेम गर्छ भने त्यो प्रेम होइन कारोबार हो । प्रेमीहरूको गुनासो हुन्छ कि आफ्नो प्रेमीले विवाह नगरेर धोका दियो । मलाई त्यसले अन्तिममा आएर धोका दियो । धोका दिने मानिसले प्रेम कसरी गर्न सक्छ ? प्रेममा धोका भन्ने शब्द नै हुुँदैन । यदि कसैलाई धोका दियो भन्ने लाग्छ भने बुझ्नुपर्छ त्यहाँ प्रेम नै थिएन । अनि धोका दियो भनेको मानिसलाई सम्झनुको, दु:खी हुनुको पनि के अर्थ ? प्रेममा विछोड हुन सक्छ तर धोका हुन सक्दैन । प्रेम कुनै व्यापारिक कारोबार होइन जहाँ धोकाधडी र नाफाघाटा होस् । विवाह नहुँदैमा कसैको प्रेम असफल हुँदैन । विवाह गर्दैमा सफल पनि हुँदैन । असली प्रेमीको प्रेम कहिल्यै घट्दैन, सधंै बढिरहन्छ । आफ्नो होस् वा नहोस्, उसले कहिल्यै कुनै कुभलो चिताउँदैन । जहाँ जोसँग भए पनि सुखी रहोस् भनेर कामना गरिरहन्छ । प्रेमको अन्तिम गन्तव्य विवाह हुन्थ्यो भने यो दुनियाँमा कसैको सम्बन्धविच्छेद हुने थिएन । हामीले गर्ने प्रेममा खोट छ, आग्रह छ, स्वार्थ छ, चाह छ, त्यसैले कथित प्रेम टुटिरहन्छ । हामी आफू अनुकूल हेरेर प्रेमको अभिनय गर्छौं र त्यसो नहुनेबित्तिकै प्रेम सकिन्छ । हामी प्रेम कम व्यापार बढी गर्छांै । हामी प्रेमको ढोंग रच्छौं र आफ्नो तुष्टि परिपूर्ति गर्न खोज्छौं अनि चाहेको कुरा नहुनासाथ समस्या उत्पन्न हुन्छ । यो संसारमा सुनिने प्रेमकथाहरू त्यसै अमर भएका होइनन, ती अमर भए, किनभने त्यसमा प्राप्तिभन्दा त्यागको हिस्सा धेरै थियो । एकफेर सोचौं त, के हामी असल प्रेमी हौं ? के हाम्रो नियत सफा छ ? के हामी बिनाकुनै आग्रह प्रेम दिन मात्र सक्छौं ?