साप्ताहिक संवाददाता
मंसिर २२, २०७२
अभिनेता राजेश हमाल पछिल्लो समय सामाजिक संजालमा अत्यधिक सक्रिय छन् । आफ्नो व्यक्तिगत प्रोफाइलबाट हमालले आफ्ना दैनिक गतिविधिहरू सेयर गरिरहेका हुन्छन् ।
हाल अमेरिकामा रहेका हमाल कहिले प्रशंसकहरूसँग कफी पिइरहेको तस्बिर पोस्ट गर्छन् भने कहिले सांस्कृतिक कार्यक्रममा नृत्य गरिरहेको तस्बिर पोस्ट गर्छन् । लामो समयपछि चलचित्र ‘बाग्मती’ को प्रचारका लागि समेत हमालले फेसबुक नै रोजेका छन् । चलचित्रको पहिलो प्रोमोलाई पनि अभिनेता हमालले नै प्रिमियर गरेका हुन् ।
कुनै बेला फेसबुकमा निष्क्रिय देखिएका हमालको फेसबुक सक्रियता विवाहपछि बढेको हो । हमाललाई श्रीमतीले नै फेसबुकमा सक्रिय हुन आग्रह गरेकी हुन् कि उनी आफैं सामाजिक सञ्चालप्रति आकर्षित भएका हुन्, हाललाई योचाहिँ अनुमान मात्र गर्न सकिने कुरा हो ।