उच्च शिक्षा अध्ययनका लागि विदेश जाने चाहना प्राय: सबै विद्यार्थीमा हुन्छ । आफ्नो क्षमता र आर्थिक हैसियतले भ्याएसम्म धेरै युवाको रोजाइमा युरोप, अमेरिका तथा एसियाली राष्ट्रहरू पर्छन् । गुणस्तरीय शिक्षा लिन मात्र नभै आधुनिक जीवनशैलीमा रमाउन पनि धेरै युवाले विदेशलाई गन्तव्य बनाउँछन् ।
सुविधासम्पन्न कलेज, व्यवहारिक शिक्षा तथा आधुनिक जीवनशैलीमा रमाउनकै लागि बाग्लुङका पवन पौडेलले पाँच वर्षअघि नै अमेरिकालाई गन्तव्य बनाएका थिए । चार वर्ष म्यानेजम्यान्टको क्लास लिँदै सानोतिनो जागिरमा अल्झिएका पौडेलले यतिबेला कोलोराडोमासाथीहरूसँग मिलेर डिपार्टमेन्टल स्टोर सञ्चालन गरेका छन् । ‘पढाइ सकियो अब यतै स्थापित हुने योजना छ । राम्रोसँग बुझेर आउँदा विदेशमा स्थापित हुन गाह्रो नपर्ने रहेछ’ उनले भने ।
प्लस टुको अध्ययनपछि विदेश जाने र उतै काम गर्दै अध्ययन पूरा गर्ने रहर धेरै विद्यार्थीमा हुन्छ । पछिल्ला वर्षहरूमा आकर्षक जीवनशैली एवं गुणस्तरीय शिक्षाको लोभमा बिदेसिने युवाहरूको संख्या निरन्तर बढिरहेको छ । अभिभावकको इच्छा र विद्यार्थीको लक्ष्यका कारण विदेश भरपर्दो शैक्षिक ‘हब’ बन्दै गएको कुराको पुष्टि विगतका तथ्यांकहरूले पनि गर्छन् । आर्थिक अवस्था राम्रै हुनेले पैसा खर्च गरेर तथा नहुनेले छात्रवृत्तिको माध्यमबाट भए पनि विदेशलाई शैक्षिक गन्तव्य बनाउँदै आएका छन् । शिक्षा मन्त्रालयको तथ्यांकले पनि त्यही बताउँछ । २०६८ साल असार १ देखि ०७१ चैत २० सम्मको तथ्यांक हेर्ने हो भने ‘नो अब्जेक्सन लेटर’ लिनेहरूको संख्या ७७ हजार ७ सय ७४ नाघिसकेको छ । देशभर करिब ५ सय कन्सल्टेन्सी खुलेका छन्, जसमध्ये राजधानीमा मात्र ७५ प्रतिशत कन्सलटेन्सी छन् भने पोखरा, चितवन, विराटनगर तथा बुटवल आदिमा पनि उत्तिकै संख्यामा कन्सलटेन्सी खुलिसकेका छन् । नेपालमा सञ्चालित एजुकेसन कन्सलट्यान्सी व्यवसायीहरूको छाता संस्था नेपाल शैक्षिक परामर्श संघ इक्यानमा मात्र २ सय ७७ संस्था आबद्ध छन् ।
विभिन्न तथ्यांकका आधारमा विश्लेषण गर्दा विदेशलाई शैक्षिक गन्तव्य बनाउन चाहने युवाहरूको संख्या तीव्र रूपमा वृद्धि भैरहेको छ । बागबजारस्थित रोहिणी इन्टरनेसलन कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर साम भण्डारी भन्छन्– ‘विदेशमा पढाइ सकेका विद्यार्थीमध्ये अधिकांशले त्यतै रोजगारी पाउँछन्, पढ्दा–पढ्दै ‘पार्ट टाइम जब’ पनि पाइने भएकाले युवाहरूले विदेशमा अध्ययन गर्न सहज मानेका हुन् ।’ भण्डारी भन्छन्– ‘कतिपय विद्यार्थी त विदेशमा राम्रो शिक्षा लिएर स्वदेश फर्की मज्जाले जमेका छन्, आधुनिक जीवनशैली स्वदेशमै भित्राएर उसैगरी रमाइरहेका छन् ।’
विदेश पढ्न जान चाहने विद्यार्थीहरूमध्ये धेरैको रोजाइ युरोप तथा अमेरिका नै हुन्छन् । अस्ट्रेलिया, बेलायत, अमेरिका, फिनल्यान्ड, क्यानाडा, जर्मनी आदि मुलुक मात्र नभै जापान, फिलिपिन्स, सिंगापुर पनि धेरैको रोजाइमा पर्छ । कतिपयले भने डकुमेन्टेसन र भिसा प्रोसेसिङ मिलाउन धेरै झन्झट हुने भन्दै छिमेकी मुलुकहरू भारत, चीन, बंगलादेश पनि रोज्न थालेका छन् । विदेशमा राम्रो र सस्तो कलेज वा विश्वविद्यालय छान्ने मामिलामा भने विद्यार्थीहरूले समस्या बेहोर्दै आएका छन् । सरकारले आफूले मान्यता दिएका विदेशका विश्वविद्यालयहरूको सूची नबनाएकाले यस्तो समस्या हुने गरेको विद्यार्थीहरूको गुनासो छ । कतिपय विद्यार्थी कन्सल्टेन्सीबाटै ठगिने क्रम बढेकाले सरकारले नै नेपालीहरूका लागि उपयुक्त मुलुक, विश्वविद्यालय तथा कलेजहरूको सूची तयार गर्नुपर्ने अभिभावकहरू बताउँछन् ।
विदेश जान न्यूनतम प्रक्रिया
जुनसुकै देश जान पनि न्यूनतम प्रक्रिया पूरा गर्नैपर्छ । शिक्षा मन्त्रालयले उपलब्ध गराउने ‘नो अब्जेक्सन लेटर’ लिएपछि अन्य प्रक्रिया सुरु हुन्छ । नेपाल सरकारको मान्यताप्राप्त शैक्षिक संस्थाबाट प्लस टु उत्तीर्ण गरेपछि विदेश पढ्न जान योग्य मानिन्छ । उत्कृष्ट अंक भए प्रक्रिया अघि बढाउन अझ सहज हुन्छ । कतिपय देशले कानुनी प्रक्रियामा केही कडाइ गरेकाले त्यसको पनि सामना गर्न सक्षम हुनुपर्छ । बेलायत, अस्ट्ेरलिया तथा अमेरिकाको भिसा केही कडा बनाइएको छ । अंग्रेजी भाषाका साथै सम्बन्धित देशमा बोलिने भाषाका बारेमा विद्यार्थीले सम्बन्धित परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ । त्यसबाहेक आइइएलटीएस, टोफेल, जीआरआई, जीम्याट आदि कोर्ष पनि गरेको हुनुपर्छ । भाषा र कोर्ष पूरा भएपछि सम्बन्धित विश्वविद्यालय वा कलेजले भिसाका लागि अन्तर्वार्ता लिन्छन् । अन्तर्वार्तामा उत्तीर्ण भएपछि भिसा स्वीकृत हुन्छ । त्यसपछि बैंक ब्यालेन्सको प्रक्रिया अघि बढाउनुपर्छ ।
छात्रवृत्तिको व्यवस्था
विदेश पढ्न जाने धेरै नेपाली विद्यार्थीको आर्थिक क्षमता कमजोर हुन्छ । आफूले एप्लाई गरेको कलेजको शुल्क तिर्न गार्हो पर्ने भएपछि छात्रवृत्तिका लागि पहल नगरी हुँदैन । नेपाल सरकारलाई दूतावासमार्फत छात्रवृत्ति कोटा त छुट्टयाएको हुन्छ, तर सबैले त्यहाँ पहुँच पुर्याउन र छनोट हुन सक्दैनन् । विदेशका विश्वविद्यालय तथा कलेजहरूले समय–समयमा छात्रवृत्तिको आह्वान गरिरहेका हुन्छन् । विभिन्न विषयका लागि फरक–फरक छात्रवृत्ति कोटा निर्धारण गरिएको हुन्छ ।
कुनै कलेजले पूर्ण छात्रवृत्ति दिन्छन् भने कुनैले आंशिक । सम्बन्धित देशका दूतावासमा आवेदन दिएपछि न्यूनतम प्रक्रिया पूरा गरेर छात्रावृत्ति छनोटमा पर्न सकिन्छ । पूर्ण छात्रवृत्ति पाइयो भने अतिरिक्त रोजगारी खोजिरहनु पर्दैन । कतिपय देशले विद्यार्थीलाई खान तथा बस्न पैसा नै उपलब्ध गराउँछन् । सरकारी प्रक्रिया मात्र होइन आफैंले पनि इन्टरनेटमार्फत फारम भरेर छात्रवृत्ति हासिल गर्न सकिन्छ । सम्बन्धित विश्वविद्यालयले मागेको न्यूनतम योग्यता पुगेको छ भने सोझै फारम भरेर छात्रवृत्तिको सुविधा लिन सकिन्छ ।
विषयअनुसार देश छनोट
नेपाली विद्यार्थीहरूले कुन देशमा कुन विषय राम्रो पढाइ हुन्छ त्यहीअनुसार विषय छनोट गर्छन् । युरोप तथा अमेरिकी मुलुकहरूमा नेपालीहरूले चाहेका सबैजसो विषय अध्यापन हुन्छ । नेपाली विद्यार्थीहरूले रोज्ने केही विषय र देश :
अमेरिका : म्यानेजमेन्ट, आइटी, बायो केमेस्ट्री ।
बेलायत : एमबीए ।
अस्ट्रेलिया : म्यानेजमेन्ट, नर्सिङ, आइटी ।
जापान : भाषा, प्राविधिक तथा व्यवसायिक विषय ।
भारत : इन्जिनियरिङ, म्यानेजमेन्ट, प्यारामेडिकल ।
चीन : एमबीबीएस, एयरस्पेस तथा एयरोनोटिकबल इन्जिनियरिङ ।
बंगलादेश : एमबीबीएस, एमपीएच ।
नर्वे : इन्भारामेन्टल साइन्स, नेचुलर साइन्स ।
मलेसिया : हस्पिटालिटी म्यानेजमेन्ट, बिजनेस ।
फिलिपिन्स : मेडिकल, पाइलट, एयरहोस्टेज ।
जर्मनी : इन्जिनियरिङ, मेडिकल, फरेन अफेयर्स, सोसल साइन्स ।
आयरल्यान्ड : आइटी, फाउन्डेसन अफ बिजनेस ।
फिनल्याण्ड : इन्जिनियरिङ, आईटी, एमबीए ।
रुस : एमबीबीएस तथा नर्सिङ ।