साप्ताहिक संवाददाता
लगाएको पहिरन ब्रान्डेड होस् वा नहोस् तर सुहाउँदो र टिकाउ हुनुपर्छ भन्ने मान्यता लोकप्रिय हास्यकलाकार सीताराम कट्टेलको छ । सेलिब्रेटी भएका हिसाबले पनि पहिरनमा ध्यान दिनुपर्छ भन्ने धारणा व्यक्त गर्ने सीताराम पहिरनलाई शारीरिक आकर्षणको केन्द्र मान्छन् ।
मौसमअनुरूप पहिरनमा ध्यान दिने कट्टेल कहिल्यै आफ्नो पहिरन आफैं खरिद गर्दैनन् । उनका सबै पहिरन सधैं उनकी कलाकार श्रीमती कुन्जना घिमिरेले किन्ने गरेकी छिन् ।
सीताराम मौसम सुहाउँदो र फेसनेबल पहिरन नै लगाउँछन् । रातो रंगमा उनको मन असाध्यै रमाउँछ । सीताराम विशेष समारोह तथा पार्टीहरूमा जाँदा सुटमा ठाँटिन्छन् । मेकअपको हकमा उनीसँग कुनै पनि सामग्री छैनन् । गहनामा पनि खासै सौख नराख्ने सीताराम औंलामा पन्नाजडित सुनको आंैठीबाहेक अन्य कुनैपनि प्रकारका गहना लगाउँदैनन् । शुभचिन्तकले उपहार दिएको पर्स बोकेका कलाकार सीताराम घडी, सन ग्लास साथै पर्सजस्ता सामान हराउँछन् । हाल रन सुजका ब्रान्ड एम्बेसडर कट्टेल अहिले रन सुज नै बढी लगाउँछन् । स्वदेशी तथा विदेशी दुवै प्रकारका जुत्ता उनको संकलनमा छन् ।
लगाउने कुरा ब्रान्डकै हुनुपर्छ भन्ने नमान्ने कलाकार सीताराम आज लगाएर भोलि छैन भन्ने खालका पहिरन तथा एसेसरिज पनि लगाउन नहुने बताउँछन् । उनी भन्छन्, ‘पहिरन ब्रान्डको नहोस् तर काम भने ब्रान्डकै गरे मात्र व्यक्तित्व झल्किन्छ ।’ सबैलाई समयसापेक्ष पहिरन लगाउन सुझाव दिँने सीताराम सोचविचार र आफूले गरेको काम प्रशंसनीय एवं सकारात्मक हुनुपर्ने कुरामै व्यक्तित्व झल्कने विश्वास गर्छन् ।